Shittalpati
नविता र श्यान्टुको लगातार दोस्रो जित

काठमाडौं, नेपाली खेलाडी नविता श्रेष्ठ र श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको अन्तिम चरणको दक्षिण एसियाली छनोटमा सोमबार लगातार दोस्रो जित हात पारेका छन् ।

पुरुष सिंगल्सतर्फ ग्रुप वानमा रहेका श्यान्टुले दोस्रो खेलमा बंगलादेशका रामहिमलियन बावनलाई ४–२ ले पराजित गरे । खेलमा श्यानट्ले रामहिमलियनलाई १३–११, १२–१०, ९–११, १२–१०, ५–११, ११–६ ले पराजित गरे । त्यसअघि श्यान्टुले पहिलो खेलमा माल्दिभ्सका अहमद अख्यारलाई ४–१ ले पराजित गरेका थिए । यस्तै महिला सिंग्लसतर्फ ग्रुप थ्री मा रहेकी नविताले दोस्रो खेलमा बंगलादेशकी सोनाम सोमा विरुद्ध ४–३ को रोमाञ्चक जित हात पारिन् । पहिलो सेट ११–८ ले आफ्नो पक्षमा पारेकी नविताले त्यसपछि लगातार तीन सेट गुमाएकी थिइन् । सोनामले ११–८, ११–९, ११–४ ले आफ्नो पक्षमा पार्दै ३–१ को अग्रता बनाएकी थिइन् । तर त्यसपछि नविताले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितिन् । उनले ११–४, ११–६, ११–८ ले पाँचौ, छैटौं र सातौं सेट आफ्नो पक्षमा पार्दै खेल जितिन् । त्यसअघि नविताले पहिलो खेलमा पर्निया खानलाई ४–१ ले पराजित गरेकी थिइन् । यसैगरी पहिलो दिन महिला सिंगल्सतर्फ इभाना थापा मगरले पनि विजयी सुरुवात गरिन् । उनले ग्रुप टुको खेलमा श्रीलंकन इशारा मधुरांगीलाई ४–१ ले हराइन् । पुरुष सिंग्लसतर्फ संयोग कपालीको प्रदर्शन मिश्रीत रह्यो । उनले पहिलो दिन एक जित र एक हारको नतिजाको निकाले । ग्रुप टु को खेलमा संयोग कपालीले बंगलादेशका मोहुतासिन अहमद रिदोएलाई ४–१ ले पराजित गरे । संयोगले रिदोएलाई  ११–८,  ११–७, ३–११, १३–११, ११–८ ले पराजित गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update