
पाल्पा, ऋषि तर्पणी, रक्षा बन्धन तथा जनै पूर्णिमा पाल्पामा परम्परागत रुपमा मनाईएको छ । पाल्पामा ब्रहमण तथा क्षेत्रीहरुले बिहानै नदी नाला, ताल तलैया, खोला धारामा पुगी शुद्ध जलले स्नान, ऋषि तर्पणी गरेर मन्त्रद्धारा मन्त्रिएको जनै परिवर्तन गरेका छन् । अन्य समुदायका व्यक्तिहरुले रक्षा कवजको रुपमा हात–हातमा रक्षा बन्धन गरेका छन् ।
जनै परिवर्तन तथा रक्षा बन्धनको लागि परम्परा संस्कृतिलाई जर्गेना गर्न पाल्पाका मठ मन्दिरमा मानिसहरुको भिडभाड देखिएको छ । हिन्दु धर्मालम्वीहरुले जनै पूर्णिमाको दिन शरिर, आत्मा र मनको शुद्धिकरण गरेर ताकाधारी बाहुन क्षेत्रीहरुले जनै फेर्ने र अन्य समुदायका व्यक्तिहरुले रक्षा कवजको रक्षा बन्धन बाध्ने चलन रहेको अमरनारायण मन्दिरका पुजारी फरिन्द्र लम्सालले बताए ।
पाल्पाको विभिन्न मन्दिरमा पण्डित तथा भक्तजनहरुले आत्माको शुद्धिकरण तथा रक्षाको लागि मन्त्रहरुद्धारा शुद्ध बनाईएको धागोबाट हातको नाडीमा रक्षा बन्धन गर्ने परम्परा रहेको पाईन्छ । तानसेनमा जनै परिवर्तन तथा रक्षा बन्धनको लागि अमरनारायण मन्दिर, शिव मन्दिर, भगवती मन्दिरमा भक्तजनहरु पुगेका छन् । आजै बाह्रमण पण्डितहरुले आ–आफनो जजमानको घर–घरमा पुगी रक्षा बन्धन गर्ने र जजमाानले चामल, दक्षिणा, तथा फलफूल दिने परम्परा रहेको छ ।
आजको दिन ज्वाईहरु ससुराल पुगी रक्षा बन्धन गरिदिने र भाञ्जाहरु आफ्नो मामा घरमा, पुगी रक्षा बन्धन गर्ने परम्परा रहेको छ । यसैगरि तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई रक्षाको लागि राखी बाधिदिने चलन रहेता पनि आजकल पहाडी क्षेत्रमा समेत यो प्रचलन बढ्दै गएको छ । पाल्पामा पनि आफ्ना दिदि बहिनीहरुले दाजुभाई राखी बाधिदिएका छन् । यसैगरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडा गुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ । क्वाटी खाएमा विभिन्न रोगहरु नलाग्ने र शरिमा रोगसँग लड्ने क्षमता बढाउने जनविश्वास रहेको छ ।