
हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । यो दिन हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन पनि हो । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ । हेपाटाइटिस रोग बारेको चेतना, यसको परिक्षण र उपचारमा सबैको पहुँच पुर्याउनु पर्नेमा दिवसले जोड दिएको छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १० गुणा बढी छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । समयमा ध्यान नपुर्याउने हो भने यसले विकराल रूप लिने निश्चित देखिन्छ । अहिले यस चुनौतीसँग जुध्न धेरै राष्ट्रले सक्रिय रुपमा लागेका छन् ।
जबसम्म हेपाटाइटिस रोग सम्बन्धी राष्ट्रियस्तरमा कुनै नीति बन्दैन र सरकारी निकायबाट प्रभावकारी कार्यक्रम सुरु हुँदैन, तबसम्म हेपाटाइटिसको उन्मूलन लगभग असम्भव नै देखिन्छ । कुनै कारणवश रगत परीक्षण गर्दा हेपाटाइटिस लागेको थाहा भइहाले पनि समाजमा व्याप्त नकारात्मक दृष्टिकोणले गर्दा धेरै बिरामी आफ्नो रोग लुकाउन बाध्य छन् । धेरै बिरामीहरूमा हेपाटाइटिस बी र सीको उपचार सम्भव छ भन्ने समेत जानकारी नै छैन, जुन आजका दिनमा साह्रै दुर्भाग्यको विषय हो । यसर्थ सरकारी तवरबाट आजैदेखि हेपाटाइटिस सम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन गरी आम नागरिक समक्ष यस रोगबारे सचेतना जगाउन ढिला नगरौं ।