Shittalpati
बाढीपहिरोको दीर्घकालीन समाधान

पहाडमा पहिरो र तराईमा डुबान वर्षैपिच्छेका समस्या हुन् । हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो । बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ । बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर आदि  नेपालका लागि एक नियमित नियति नै हो । यस्ता प्रकोपबाट वर्षेनी हजारौंलाई प्रभावित, घरबारविहीन बनाउँदै आएको छ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्वतयारी नगर्नु, विपत् सामना गर्न सरकारी संयन्त्र तयारी अवस्थामा नबस्नु जिम्मेवार निकायहरुको गैरजिम्मेवारीपना हो । यस्ता प्राकृतिक विपत्ती आकस्मिकता भए पनि दीर्घकालीन रूपमा समस्याको समाधान नखोजिँदा वर्षेपिच्छे एउटै समस्याबाट हामी पीडित भइरहेका छौं । यो वर्ष त अझ पानी बढी पर्ने आकलनका साथ केही साताअघिदेखि नै विज्ञहरूले सतर्क रहन आग्रह गर्दै आएका थिए । त्यस्तो अनुमानअनुरूपै देशमा मनसुन सक्रिय भएको एक साता पनि नबित्दै बाढीपहिरोको वितण्डा सुरु भइसकेको छ । यसपालि असारको पहिलो सातादेखि नै केही ठाउँहरुमा बाढीपहिरोले वितण्डा मच्चायो ।

अझ चिन्ताको विषय के छ भने जलवायु परिवर्तनका कारण हरेक वर्ष बाढीपहिरोको स्वरूप झनझन भयावह बन्दै गएको देखिन्छ । एकातिर हिउँदमा चरम खडेरी हुन्छ भने अर्कोतर्फ वर्षायाममा अत्यधिक वर्षा भएर बाढीपहिरोको विनाश ल्याउँछ । यस्ता असामान्य मौसमी घटनाले प्राकृतिक चक्रमा आएको असन्तुलनलाई प्रस्ट्याउँछ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सम्बन्धित निकायले बाढीपहिरो न्यूनीकरणका लागि पहल नगरेका होइनन् । तर ती पहल प्रभावकारी र दीगो बन्न सकेका छैनन् । जोखिमयुक्त क्षेत्रमा प्रारम्भिक पूर्वसूचना प्रणाली स्थापना, राहतको पूर्वतयारी, जनचेतनामूलक कार्यक्रम र पूर्वाधारको सुदृढीकरण आवश्यक छ । यसर्थ यसतर्फ सरकार र सम्बन्धित निकायले नीति तथा कार्यक्रममा दीर्घकालीन योजना बनाएर जान जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update