
पाल्पा, वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६९ औं बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी जयन्ती मनाउन लागिएको हो ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । लुुम्बिनीमा बुद्धजयन्तीलाई वैशाख २८, २९ र ३० गते विशेष उत्सवका रुपमा मनाइँदै छ । लुम्बिनी विकास कोषले बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह गर्न लागेको छ ।विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ गरिएको थियो भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० शोभायात्रा हुनेछ ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिई बौद्ध दर्शनको खोज–अनुसन्धानमा लागेका थिए । बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गरेको मुख्य कुरा चार आर्य सत्य रहेको उल्लेख गरिएको छ । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् । “भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग समेत बुद्धले सबैलाई ज्ञान दिएका छन् । यसलाई बुद्धले दिएको आर्य अष्टाकि मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति,सम्यक समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।