Shittalpati
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

पाल्पा, नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले यो दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

हरेक वर्षको मे ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ । संयुक्त राष्ट्र सङ्घीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो । प्रेस स्वतन्त्रता सञ्चारमाध्यमको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताउँदै पत्रकारहरूले यसको संरक्षणका लागि नीतिगत, कानुनी र संरचनागत सुदृढीकरणको माग पनि गरेका छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वबारे चर्चा गरिँदै छ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रस्ट रूपमा उभ्याएको थियो । अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्नसक्छ । 

नेपालमा लोकतन्त्र स्थापनाका लागि प्रेसले निर्वाह गरेको भूमिका उच्च छ । असहज अवस्थामा प्रेसले उच्च भूमिका निर्वाह गरे पनि सहज अवस्थामा सरकारहरूले प्रेसलाई आफ्नो प्रसार यन्त्रका रूपमा लिने गरेको पाइन्छ । स्वतन्त्रतालाई सीमाङ्कन गर्ने प्रयास भइरहेको हुन्छ । स्वतन्त्र र मर्यादित प्रेसको थप विकासका लागि सरकारले रचनात्मक भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ । 

साथै प्रेस जगतले पनि कलिलो लोकतन्त्रलाई फक्रने वातावरण निर्माण महत्वपूर्ण योगदानको सिलसिलालाई निरन्तरता दिइराख्नुपर्छ । यस अर्थमा सरकार तथा प्रेस दुवैको हातेमालोबाट प्रेस स्वतन्त्रताका क्षेत्रमा रचनात्मक कार्य अगाडि बढाउन सकिने अवस्था देखिन्छ । राज्यको चौथो अङ्ग प्रभावकारी हुँदा नै लोकतन्त्र बलियो हुन्छ भन्ने कुरामा कसैको विमति हुँदैन । मुलुकमा सकारात्मक प्रभाव पार्ने हरेक क्षेत्रको उत्थानका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने राज्यले स्वतन्त्र प्रेसका लागि उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्ने दायित्वलाई गहन रूपमा लिनु आवश्यक छ । सरकारले कानुन बनाएर प्रेसलाई नियन्त्रणमा राख्नुको बदला बढी जिम्मेवार बन्ने वातावरण निर्माण गरेर स्वनियमनतर्फ प्रोत्साहित गर्नुपर्दछ ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update