
नेपाली वाङ्मयमा सर्वाधिक लोकप्रिय कविता काव्य विधामा समकालीन सर्जकहरूले विभिन्न उपविधाहरूको परिकल्पना र प्रयोग गर्दै आइरहेका छन् । यसै परिप्रेक्ष्यमा लघुतम् काव्यको क्षेत्रमा नवीनतम् योगदान पुर्याउने उद्देश्यका साथ काव्य उपविधाको रुपमा ‘शीत’ को परिकल्पना प्रस्तावना गरिएको हो । शीत २ अक्षर ४ पंक्ति जम्मा ८ अक्षरको संरचनाभित्र बाँधिएर लेखिन्छ । शीत, शीतद्वय, शीतत्रय, शीतपत्र, शीतपुष्प, शीतकुञ्ज, शीतद्वीप, शीतब्रह्मण्ड हुँदै शीतकल्प सम्म शीतको संरचना रहेको छ । शीतकल्प (१००८ भन्दा बढी शीत) प्रकाशित गर्ने शीत यात्रीलाई ‘शीत ईश्वर’ को पदवीद्वारा विभूषित गरिन्छ । शीतकल्प कृति ‘प्रकृति’ प्रकाशन गर्नुहुने कवि के.पि. सत्यनारायण ढकाल नवौं ‘शीत ईश्वर’ को रुपमा प्रतिष्ठापित हुनु भएको छ ।
“चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम् अष्टाक्षरी काव्य नै शीत हो ।” शीतको परिकल्पना लुम्बिनी प्रदेश पाल्पा तानसेन श्रीनगर क्षेत्रबाट भएको हो । शीत राष्ट्रव्यापि हुँदै अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । शीत परिकल्पना भएसँगै सर्वप्रथम शीतकल्प कृति ‘शीतका थोपा’ प्रकाशित गरी प्रथम शीत ईश्वरको रूपमा शीत काव्य समाज नेपालका अध्यक्ष कृष्णबहादुर के. सी. सापकोटा अवतरित भएका थिए भने त्यसपछि क्रमशः इन्दिरा ज्ञवाली पौडेल, शारदा ज्ञवाली ढकाल, देशभक्त सिंह कुँवर, देवेन्द्रराज शाक्य, लव जोशी, दामोदर ढकाल ‘दीपक’ र पुष्कर अथक रेग्मी शीत ईश्वरको रूपमा प्रतिष्ठापित रहेका छन् । दशौं शीत ईश्वर भोजभक्त कँडेल हुन् भने नवौं शीत ईश्वरको रूपमा अवतरित कवि के.पि. सत्यनारायण ढकाल साहित्यको क्षेत्रमा ‘शुभ श्री उपमन्यु’ को नामले चीरपरिचित रहेका छन् । उनी समावि युनिभर्षका संस्थापक अध्यक्ष, आधुनिक कला साहित्य संस्कृति फाउन्डेसनका सचिव, नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सदस्य र सुख शान्ति मिडियाका संगीत संयोजक समेत हुन् ।
बाग्मती प्रदेश धादिङ जिल्ला गंगाजमुना गाउँपालिका निवासी के.पि. सत्यनारायण ढकालका ‘जुनले पोलिएका दागहरू’, ‘उपमन्यु गितोपदेश’, ‘कुल प्रतिभा’ लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् भने चौथो प्रकाशित कृतिको रूपमा शीत काव्य संग्रह ‘प्रक्ति’ सार्वजनिकरण भएको छ । ‘प्रकृति’ भित्र देशकाल परिस्थिति अनुकूल मौलिक, गायन तथा वाचनका लागि सरल र सहज सूत्र, अर्थ र मन्त्रपूर्ण शीतहरू संग्रहित रहेका छन् । अनुप्रास मिलेका र नमिलेका दुवै संरचनामा सिर्जित शीतहरूले साहित्यको क्षेत्रमा पृथक प्रभाव पारेको छ । काव्यकारज्यूले चातुर्यतापूर्वक शब्दहरूको चयन गरी सघन शीतहरू पस्किएकाले पनि संग्रह काव्य पारखीहरूका लागि नवीनतम र लोकप्रिय हुन जानेछ । एकाक्षरी संरचनाबाट कविताहरू सिर्जना गर्न सकिदैन तर दुई अक्षरी संरचनाबाट प्रर्याप्त मात्रामा कविता सिर्जना गर्न सकिन्छ । यसर्थ अक्षरहरूको सबैभन्दा सानो संरचना दुई अक्षर नै हो । कविता काव्य लेखनको शुभारम्भ ‘शीत’ बाटै हुन्छ । ‘प्रकृति’ भित्र रहेका शीतहरू मंगलाचरणबाट सुरु भएका छन् । दाजुभाइ, साथी, बाबा, मित्र, नाता लगायतका शीर्षकका शीतले सामाजिक सदभाव, पानी, माटो, फूल, घर, उपदेश, संस्कार आदिले जननी जन्मभूमिश्च स्वर्गादपी गरियसीलाई आत्मसात गरेको छ ।
महाल, गोठालो, नेता, पूजापाठ, मन, समान विचार, ईश्वरको बास लगायतका शीतहरूले सशक्त समसामयिक सन्देश दिएका छन् । ‘ॐ नमोनारायणाय’ यो अष्टाक्षरी मन्त्र हो । अष्टाक्षरी मन्त्रभित्र आठ अक्षर रहेझै शीतमा पनि अष्टाक्षरयुक्त काव्यलाई एक पूर्ण शीत मानिएको छ । एक पूर्ण शीत बिम्बक प्रतिक अलङ्कार र रसमयी भई शब्द मन्त्र र अर्थपूर्ण सूत्रात्मक रुपमा रहेका हुन्छन् । संग्रहभित्र यस्ता थुप्रै शीतहरू छन् । जुन शीतहरू शीत रचना विधानभित्र संरचित भएर रहेका छन् जसले गर्दा ‘शीत’ मा सशक्त काव्य सिर्जना गर्न सकिन्छ भन्ने सन्देश ‘प्रकृति’ ले दिएको छ । नेपाली लघुकाव्यको श्रीवृद्धिको लागि नवीनतम योगदान पुर्याउने शीतको लक्ष्यलाई आत्मसात गर्दै लेखिएका शीतहरू प्रकृतिभित्र रहेका छन् । कृतिभित्र स्रोत, अन्तर्वस्तु, लय संरचना र उक्ति ढाँचामा आधारित शीतहरू रहेका छन् ।
अभिधा, लक्षणा र व्यञ्जनामूलक तिनै किसिमका शीतहरू सूत्र अर्थ र मन्त्रपूर्ण रहेका छन् । सुख शान्ति मिडियाको शीत सन्ध्या कार्यक्रममा सहभागी भएपछि शीत लेख्न सजिलो मानी लेख्दै जाँदा शीत कल्प कृति ‘प्रकृति’ नै तयार भएको भनि ढकाल बताउन्छन् । आफै स्वयं संगीतकार समेत रहेकाले सबै शीतहरू गेयात्मक छन् । मंगलाचरणबाट शुरू गरिएका शीत माया प्रितिमा गएर टुंगिएको छ । संग्रह बालकदेखि जेष्ठ सबैका लागि उपयोगी रहेको छ । विद्यार्थी र सिकारुका लागि सहयोगी रहनुका साथै लघुकाव्य उपविधा सँग सरोकार राख्नेहरूका लागि शोधनीय र उदाहरणीय रहेको छ । काव्य स्रष्टाहरूका लागि मननीय र द्रष्टाहरूका लागि महनीय कृतिको रुपमा प्रकाशित शीत काव्य संग्रह ‘प्रकृति’ नेपाली लघुतम कविता साहित्यको भण्डारणमा संग्रहणीय रुपमा रहनेछ । अन्य शीत कृति जस्तै यो कृति पनि अनुसन्धाननीय साहित्यको रुपमा रहेको छ । काव्यकारलाई वैयक्तिक एवं कृतिगत सफलताको शुभकामना ! ‘शुभश्री उपमन्यु’ को बाँकी जीवन अरू लघुकाव्यमय बनिरहोस् । शुभयात्रा !
(रेग्मी शीत काव्यका परिकल्पनाकार र स्रष्टा/समीक्षक समेत हुन् )