Shittalpati
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ

कुरो धेरै वर्ष अघिको हो । मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘एब्स्टिनेन्स’ हो । अर्थात् दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने, यो विधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स’ हो । यो प्रभावकारी छ तर लामो समयको लागि सम्भव छैन । जसरी परिवार नियिजनका प्राकृतिक विधि तथा अस्थायी साधन अनेक छन् त्यसै गरी कोरोना संक्रमण नियोजन गर्न थुप्रै उपाय छन् । कोरोना विरुद्धको खोपलाई संक्रमण नियोजनको स्थायी उपाय अर्थात् भ्यासेक्टोमी, ल्यापेरेस्कोपी (ट्युबल लिगेसन) को रुपमा बिम्व दिन सकिन्छ । विश्वव्यापी महामारीको रुपमा विगत ५ महिनादेखि संसारलाई ठप्प पारेको कोरोना संक्रमणबाट नेपाल अछुतो रहने सबाल थिएन ।

विश्व ग्रामको यो युगमा अन्य देशको अवस्था देखेर हामी यति आतुर भयौं कि दोस्रो केस देखिने बित्तिकै हामीले लकडाउन गर्यौं । निश्चय नै त्यो लकडाउनको कारण कोरोना भाइरस हवाइजहाज चढेर नेपाल आउन पाएन । आएको भएपनि घरभित्र थुनिंदा निस्सासिएर मर्‍यो, त्यो निर्जीव भाइरस लकडाउनको कारण प्रचार भयो, प्रसार हुन पाएन । भारतसँग खुला सिमानाको कारण सुरुमा भारतीय नागरिकमा देखिएको कोरोना संक्रमण पछि गएर सिमानामा प्रेसर बढेपछि ÞवारÞवार्ती भित्रिन थाल्यो यो क्रम बढिरहेको छ, अझै बढ्ने छ । संसारका जल, थलमा रहेका पृथ्वी ध्वस्त गर्ने क्षमता रहेका हतियार एवं कमाण्डोहरू अहिले आँखाले देख्न नसक्ने नाथे भाइरसँग माघको जाडोमा जस्तै थुरथुर कामिरहेका छन् । लाखौँ व्यक्तिको निधन भएको छ, भने विश्व अर्थतन्त्र धरासायी भएको छ । बीसौं करोड नागरिकको रोजगारी गुमेको छ । नेपालमा लकडाउन भएको २ महिना नाघिसकेको छ ।

लकडाउनको उपलक्ष्यमा सुरुसुरुमा देखिएका भोज र मोज अहिले चिन्ता र सोंचमा परिवर्तन भएका छन् । सम्भ्रान्त वर्गको व्यवसाय चौपट भएर हात उठाउने स्थितिमा पुगेका छन् । मध्यम वर्गका व्यक्तिहरु न मागेर खान सकेका छन्, न कमाएको बाँकी रहेको छ भने निम्न आय भएका व्यक्तिहरु रोगले भन्दा भोकले मर्ने चिन्तामा आधा पेट खाएर प्राण धानेका छन् । विकसित तथा सामाजिक सुरक्षाको राम्रो प्रवन्ध भएका देशहरुले सबै वर्गलाई आ–आफ्नो क्षति न्यून गर्न ठोस राहतको ब्यवस्था गरेका छन्, तर हामीकहाँ राहतको नाममा कतै दाल र चामल वितरण गरिएको छ भने कतै एउटा चाउचाउ र २ वटा मास्क, मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन तर मास्कले भोक रोक्न सक्दो रहेन छ ।

कोरोना संक्रमणको आयु लामो समय भएको विभिन्न अध्ययनले बताएका छन् । संसारमा फैलिएका भाइरल रोगहरु जस्तै एचाइभी र एड्स, स्वाइन फ्लु, बर्ड फ्लु आदिको ठोस औषधी वा खोप अहिलेसम्म आएको छैन । एचाइभी र एड्सको उमेर ४० वर्ष पुगेको हामीलाई अवगत नै छ । अन्य भाइरल रोग पनि कम उमेरका छैनन् । अहिले कोरोना भाइरसमा चलाइएका औषधि ‘घ्यूको अड्को तेलको धुप’ मात्र हुन् । विज्ञान रन्थनिएर कहिले मलेरियाको औषधीको शरणमा पुगेको छ त कहिले इबोलाको औषधिको शरणमा, कहिले जापानी इन्फ्लुएन्जाको शरणमा पुगेको छ त कहिले सार्सर मर्स रोगका दवाइको शरणमा, त्यति मात्र हैन गाँजा, तितेपाती, गुर्जो, बेसार, मुलेठीदेखि जुम्राको औषधि आइभरमेक्टिनसम्म विज्ञान दौडिरहेको छ । खोप निर्माणको लागि संसारका १०० भन्दा धेरै प्रयोगशालामा तालु खुइलेहरु ‘ट्रयाल एण्ड इरर’ मा पसिना निकालिरहेका छन्, कोरोना संक्रमण विरुद्धको खोप कहिले आउँछ ? हामीले कहिले पाउँछौ ? यी प्रश्नको उत्तर पाउन १÷२ वर्ष वा अझै बढी लाग्न सक्छ ।

रोग वा खोप ७०५ भन्दा धेरै जनसंख्यामा फैलिएर बाँकी ३०५ जनसंख्यालाई हर्ड इम्युनिटी हुने परिकल्पनामा पुग्न हामीले लामो र खतरनाक बाटो हिंड्नुपर्ने हुनसक्छ । तसर्थ अबको हाम्रो बाटो भनेको यो भाइरसलाई छल्दै हाम्रो जनजीवन सहज बनाउने हो । कसैले कोरोना संक्रमणलाई फ्लु अर्थात् रुघाखोकीसँग तुलना गरेका छन् भने हाम्रो समाजमा कोरोना संक्रमण भयो भने मरिहालिन्छ भन्ने भ्रम रहेको छ । यी दुवै अतिवादी सोंचाई हुन् । सामान्य रुघाखोकी लागेको १ जना व्यक्तिले औसत १.३ जनालाई फ्लु सार्न सक्छ भने कोरोना संक्रमित १ जनाले औसत ३ जनालाई रोग सर्न सक्छ । १ जनाले १.३ जनालाई, १.३ जनाले अर्को १.३ जनालाई गर्दै १० पटक यो चक्र पुग्दा १४ जनामा फ्लु सर्छ भने कोरोना संक्रमण १ जनाले ३ जना, ३ जनाले ९ जना, ९ जनाले २७ जना हुँदै १० पटक यो चक्र घुम्दा ५९ हजार ४९ जनालाई कोरोना संक्रमण सर्न सक्छ । तसर्थ हामी सबै गम्भीर भएर यो भाइरसको गुणन तोड्न सजग हुनु जरुरी छ  ।

नेपालको परिप्रेक्ष्यमा संक्रमितको संख्या बढिरहेको, छिमेकी भारतमा जुन –जुलाईमा दशौँ लाख संक्रमित हुनसक्ने अनुमान गरिएको, सिमानामा वैज्ञानिक ढंगले परीक्षण तथा क्वारेन्टाइनको व्यवस्था नगरिएको तथा लाखौँ नेपालीहरु असुरक्षित तरिकाले आफ्नो थातथलोमा जाने क्रम बढिरहेको हुनाले आगामी ३ महिनामा नेपालमा संक्रमितको संख्या ३० हजारसम्म पुग्ने अनुमान गर्न सकिन्छ । यी अवस्थाको बाबजुद हामीले लकडाउन गरेर घरमा बस्ने क्षमता हामीसँग छैन् । अबको विकल्प भनेको सुरक्षा र रोकथामका उपाय अपनाएर आफ्नो काम गर्ने नै हो । ६ फिटको व्यक्तिगत दुरी, मास्क र चस्मा र पञ्जा र आउटर ड्रेसको प्रयोग, साबुनपानीले हात धोइरहने तथा भीडभाडमा नजाने नै हो । जनजीवन सुरक्षित र सहज बनाउन निम्न उपाय अवलम्बन गर्नु जरुरी छ  ।
१. बिना काम घर बाहिर नजाने ।
२. घर बाहिर जाँदा सहि तरिकाले मास्कको प्रयोग गर्ने, चस्मा लगाउने, सकभर पञ्जा पनि लगाउने विन्ड चिटर, पातलो ट्राउजर र साबुन पानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने ।
३. बाटोमा, कार्यस्थलमा वा पसलमा ६ फिटको दुरी कायम गर्ने, यो प्रमुख उपाय हो ।
४. नाक, मुख, आँखा तथा अनुहारमा नछुने, छुन परेमा साबुनपानीले मिचिमिची हात धुने, झोलामा Þयाण्ड स्यानिटाइजर राख्ने, बाटोमा वा साबुनपानी नभएको ठाउँमा Þयाण्ड स्यानिटाइजर प्रयोग गर्ने ।
५. सकभर रेलिंग, टेबल वा अन्य ठाउँ नछुने ।
६. भीडभाडमा नजाने ।
७. तरकारी बजार तथा डिपार्टमेन्टल स्टोरमा भीडभाड हुने भएकाले स्थानीय किराना पसल र तरकारी पसलबाट किन्ने बानी गर्ने ।
८. कार्यस्थल जाँदा खाजा तथा पानी आफैले लिएर जाने ।
९. रुघाखोकी तथा ज्वरो आएका व्यक्ति घरमै बस्ने, घरका सदस्यसँग पनि दुरी कायम गरेर बस्ने, गाह्रो भएमा मात्र स्वास्थ्य संस्थामा जाने ।
१०. सिनेमा हल, स्विमिंग पुल, जिम, नाइट क्लब, रंगशाला लगायतका भीडभाड हुने ठाउँ केहि महिना बन्द गर्ने ।
११. रेस्टुरेन्टलाई पटकपटक संक्रमणरहित बनाएर, सामाजिक दुरी कायम गरेर तथा स्टाफलाई होटेलमा लगाउने पिपिइको व्यवस्था गरेर सञ्चालन गर्ने ।
१२. निर्माण कार्यमा धेरै कामदारको रोजगारी गाँसिएकाले भौतिक दुरी कायम गरेर सुचारु गर्ने ।
१३. खाली भएका पार्टी प्यालेस, सार्वजनिक भवन तथा खेलकुद स्थानलाई भाडामा लिएर त्यहाँ मजदुर बस्ने ब्यवस्था मिलाउने, उनीहरुलाई बसमार्फत कलकारखानामा पु¥याएर उद्योग सञ्चालन गर्ने, सम्भव भए उद्योगमा आवासीय ब्यवस्था मिलाउने, भौतिक दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने ।
१४. बैंक, मालपोत, कर कार्यालय, विद्युत कार्यालय, दुरसञ्चार लगायत धेरै आवतजावत हुने कार्यालय बिहान र अपरान्ह गरेर २ सिफ्टमा चलाउने, फोन वा अनलाइनबाट पालो नम्बर र समय लिएर त्यहि समयमा जाने ब्यवस्था मिलाउने ।
१५. यातायातका साधनलाई जोर र विजोर प्रणाली लागु गर्ने  ।
१६. सार्वजनिक यातायातलाई हरेक पटक धोएर संक्रमणरहित बनाउने, बस स्टाफ तथा यात्रुले मास्क, चस्मा तथा पञ्जा लगाउने, बसमा कम्तीमा १ मिटरको दुरी कायम हुने गरि प्यासेन्जर राख्ने ।
१७. संक्रमित क्षेत्र शिल गर्ने, ग्रीन जोनबाट लामो दुरीका बस सुरु गर्ने, यसो गर्दा माथि भनेका तरिका अपनाउने । त्यस्तै गरी एम्बुलेन्सलाई हरेक बिरामी बोक्नुपूर्व संक्रमणरहित बनाउने, क्लिनिकको साटो टेलिमेडिसिनलाई प्रवद्र्धन गर्ने, निजी अस्पताललाई सरकारी अस्पताल सरह सेवाप्रभाव गर्ने अनिवार्य व्यवस्था मिलाउने, निजी क्लिनिक, पोलिक्लिनिक तथा स्वास्थ्य संस्थामा भेन्टिलेसन, भौतिक दुरी, पिपिइ, सरसफाई आदिको मापदण्ड बनाएर रिफर्म गर्ने, फ्यान तथा एसिको कम प्रयोग गर्ने, अस्पताल, कार्यालय, रेस्टुरेण्ट तथा होटेलमा फ्यान तथा एसिको हावा मानिसको विपरित दिशामा फ्याँक्ने ब्यवस्था मिलाउने, जस्ता सजगता अपनाए कोरोना संक्रमणलाई छल्दै हाम्रो जनजीवन सूचारु गर्न सकिन्छ ।
कोरोना भाइरसको घातक प्रभाव कम छ । एकजना व्यक्तिले धेरै व्यक्तिलाई सार्न सक्दैन । संक्रमितसँग छुंदैमा, छोंटो कुराकानी गर्दैमा, संक्रमित बसेको ठाउँमा बस्दैमा कोरोना संक्रमण सर्छ भन्ने छैन । सर्नको लागि भाइरसको संख्या र एक्सपोजर समय धेरै भएमा मात्र सर्न सक्छ । त्यस्तै सिंगापुरको नेसनल सेन्टर अफ इन्फेक्सियस डिजिज एण्ड एकेडेमी अफ मेडिसिनको संयुक्त अध्ययनले बताएको छ कि संक्रमण भएको ११ दिनसम्म रोग सार्न सक्ने क्षमता हुन्छ । १२ दिनपछि परीक्षणमा पोजिटिभ देखिए पनि रोग सार्न नसक्ने सो अनुसन्धानले बताएको छ । अनुहारतिर फर्केर खोकेमा, हाच्छ्युं गरेमा वा चिच्याएमा सर्ने सम्भावना धेरै हुन्छ । अन्यथा सर्ने सम्भावना कम हुन्छ । त्यस्तै वासिंगटन पोस्टले जनाए अनुसार खाध्य पदार्थ तथा सतहबाट रोग सर्ने सम्भावना निकै कम हुन्छ । वासिंगटन पोस्टले लेखेको छ, कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकाले भौतिक दुरी कायम गर्दा धेरै सुरक्षित भइन्छ  । विभिन्न निकायका अलग अलग उद्देश्य हुनसक्छ तसर्थ भयानक र नकारात्मक सूचना आउंदैमा त्रासित हुनु जरुरी छैन । त्यस्तै संक्रमित र मृतकको संख्या बढ्दै जाँदा हामी डराउनु पनि पर्दैन । विश्वभर यो संख्या बढिरहेको परिप्रेक्ष्यमा हामी पनि मानसिक रुपमा तयार हुनुपर्दछ । हामीले उच्च स्तरको सुरक्षा अभ्यास गर्यौं भने कोरोना भाइरससंगै आफ्नो जीवनचर्या सञ्चालन गर्न सक्छौं । रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि हाम्रो आहार, विहार, आंचार र ब्यवहार स्वस्थ हुनु जरुरी छ । सरकारले पिसिआर परीक्षणको दायरा बढाएर संक्रमितलाई चामलमा वियाँ खोजेझैँ खोज्ने, आइसोलेसनमा राख्ने र गुणस्तरीय उपचार गर्ने काम निरन्तर अघिं बढाउनुपर्दछ । अब आफै भन्नुहोस् खोप नआउने बेलासम्म परिवार नियोजनको ‘एब्स्टिनेन्स’विधि अपनाउने कि अस्थायी साधन तथा उपाय अवलम्बन गर्ने ?

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update