Shittalpati
उपनिर्वाचनले दिएको सन्देश

इलाममा भएको संघीय सांसद् र बझाङमा भएको प्रदेश सांसद्को उपनिर्वाचनको परिणाम आएको छ । यी जिल्लामा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । निर्वाचनको मत परिणामबाट फरक दृश्य देखिएका छन् । चुनाव अघि जुन किसिमका दृश्यहरु देखिए त्यस पश्चातको परिणामले भने फरक सन्देश प्रवाह गरेको छ । दुवै क्षेत्रमा भएको उपनिर्वाचनमा यसपल्ट नेकपा एमालेले बाजी मारेको छ । विगतदेखिकै परीक्षणमा रहँदै आएको एमाले आलोचनाको सिकारसमेत उत्तिकै हुने गरेको अवस्था रहे पनि उपनिर्वाचनमा पाएको सफलताले केही राहत अवश्य पुगेको छ । तर जनादेशको अवज्ञा विगतमा झैँ पुनः नहोला भन्न भने सकिँदैन । संघीय र प्रदेश दुवै क्षेत्रमा खुम्झिन पुगेको नेपाली कांग्रेसमात्रै नभएर यसपल्ट नयाँ दल रास्वपालाई समेत निर्वाचन परिणाम प्रत्युत्पादक साबित भएको छ । 

निकै तामझाम र प्रचारबाजीका साथमा उत्रिएको रास्वपाले इलाम–२ मा जमानतसमेत जोगाउन नसकेको अवस्थाले उसका लागि उपनिर्वाचन गतिलो पाठका रुपमा देखा परेको छ । जसरी चितवन र तनहँुमा नयाँ शक्तिको रुपमा उदायको रास्वपाले चमत्कार नै गरेको थियो, त्यो चमत्कार कतै उपनिर्वाचनमा पनि देखिने हो कि भन्ने धेरै आंकलन समेत गरेका थिए । तर त्यो आंकलन भन्दा फरक नतिजा आउनुले अझै पनि मतदाताहरु पुरानै पार्टीप्रति आस्था रहेको छ भन्ने बुझ्न गाह्रो छैन । सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म जति नै आलोचनाको सिकार भए पनि निर्वाचन नतिजामा एमाले, काँग्रेसकै वर्चस्व देखिनुमा यी दलहरु अझै पनि सुध्रिन सक्ने अवस्था रहे जनताको साथ र सहयोग आगामी निर्वाचनमा समेत देखिने प्रष्ट हुन्छ । उपनिर्वाचनले कुनै एक व्यक्तिको आकर्षणका कारण रास्वपा उम्लिएको हो कि भन्ने आशंका पनि उब्जिएको छ । विद्यमान राजनीतिक दलहरूप्रतिको निराशा र वितृष्णाका कारण विकल्प हुने ठानिएको रास्वपा एउटा दिशाहीन विवेकशून्य जमात मात्र सावित हुने संकेत उपनिर्वाचनले दिएको छ । व्यवस्थापकीय परिवर्तनका लागि प्रजातान्त्रिक आन्दोलनमा पटक–पटक होमिएका एमाले, नेपाली काँग्रेसप्रति अझै पनि जनतामा आशा र भरोसा रहेको र त्यसलाई सही अर्थमा प्रयोग गरिए नयाँ दलहरुलाई थप चुनौती रहिरहेको अवस्थासमेत उक्त उपनिर्वाचनले देखाएको छ । उपनिर्वाचनको परिणामबाट हौसिएका एमाले र काँग्रेसले अब आफुलाई सच्याएर लैजाने मौका पनि हो । यसर्थ यी पुराना पार्टीहरुले उपनिर्वाचनको सन्देशबाट पाठ सिकेर अगाडि बढ्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update