Shittalpati
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ

पाल्पा, रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो । यो क्षेत्रको हावापानीमा उत्पादन हुने र कृषकको माग अनुसारका विभिन्न ३ जातका मकैको विउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ  ।

यस वर्ष धेरै समय खडेरी लागेको र पानी कम परेका कारण मकै उत्पादनमा ह्रास आएको र विउको अभावका कारण कृषकहरुको राहतका लागि मकैको विउ वितरण गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए । कृषि क्षेत्रको विकास र कृषि उत्पादनलाई वृद्धि गर्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले उल्लेख  गरे ।  नगर प्रमुख थापाले विक्रि गर्ने गरी उत्पादन गर्न नसके पनि आत्मनिरर्भर हुने गरि कृषिजन्य बस्तुको उत्पादन गर्न कृषकलाई आग्रह गरेका छन् । उनले नगरका हरेक बाँझो जमिनलाई उत्पादनमूलक जमिन बनाउन आवश्यक रहेको बताए । कृषकहरुलाई राहत र प्रोत्सहानका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रवक्ता कपिल बहादुर खाँणले बताए । उनले मकैको उत्पादनमा वृद्धिका लागि नगरपालिकाले उन्नत जातको विउ वितरण गरेको बताए ।

अहिले नगरपालिका भित्रका कृषक र कृषि सहकारी गरी ७ सय १२ जनालाई ८ हजार ८ सय २९ किलो मकैको विउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताए । कृषकहरुलाई मनकामना ३, अरुण २ र रामपुर कम्पोजिट गरी ३ जातका मकैको विउ वितरण गरिएको उनले बताए । नगरपालिकाले खाद्यान्न बीउ ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ बराबरको विउ वितरण गरेको छ । यस भन्दा अगाडि नगरपालिकाले काउली, बन्दा र प्याजको वेर्ना , विभिन्न तरकारीको विउ पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update