Shittalpati
आजदेखि पाल्पासहित देशैभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप  लगाइदै

सीमा भट्टराई
पाल्पा, सरकारले आजदेखि पाल्पासहित देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

दादुरा, रुबेला निकै संक्रामक र प्राणघातक रोग भएका कारण यसबाट बालबालिकाको मृत्यु नै हुन सक्ने भएकाले सरकारले त्यसबाट जोगिन खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार खोप अभियान अन्तर्गत करिव ५७ लाखभन्दा बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । पाल्पामा पनि आजदेखि २६ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको  छ । जिल्लामा २ सय ७९ खोप केन्द्र मार्फत १७ हजार ८ सय ४५ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिए । जिल्लामा खोप अभियानको सुरुवात  तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट हुने जनाइएको छ ।

जिल्लामा पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका र बगनासकाली गाउँपालिकाका बालबालिकाहरुलाई खोप दिनेछ । फागुन २१ गतेदेखि २६ गतेसम्म जिल्लाका अन्य ४ वटा पालिकामा खोप अभियान सञ्चालन गरिने छ । दोश्रो चरणमा रम्भा गाउँपालिका, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने प्रमुख गिरीले बताए । नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ । अभियानका लागि ५ सय ६० स्वयंसेवक खटिएका छन् भने २ सय ८० स्वास्थ्यकर्मी परिचालित छन् । दादुरा–रूबेला संक्रक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले भारतसँग सीमा जोडिएका तराईका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप लगाइने जनाएको छ । बाँकी ५१ जिल्लामा भने ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ । बाँकी २ जिल्ला जाजरकोट र रुकुमपश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन भइसकेको छ । सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरेको हो ।

दादुरा निवारणका लागि ९५ प्रतिशतले दादुरा खोप लगाएको हुनुपर्छ । दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाउनैपर्छ । नेपालमा दादुराविरुद्धको खोप सन् १९७९ बाट लगाउन सुरु गरिएको हो । दादुराविरुद्धको खोपको एक डोजले कम्तीमा ८५ प्रतिशत प्रतिरक्षा शक्ति प्रदान गर्दछ । दुई डोजले करिब १०० प्रतिशतसम्म बालबालिकाहरू पूर्णरूपमा सुरक्षित गर्न सक्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदनले १६ प्रतिशत बालबालिकाहरू पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि नलगाएको बताउँछ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update