Shittalpati
मातृभाषा जोगाऔं

मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्व बोकेको हुन्छ । भाषा लोप हुँदा यसको सांस्कृतिक र बौद्धिक धरोहरको समेत अवशान हुन्छ । भाषाको मृत्युसँगै त्यस भाषामा अन्तर्निहित ज्ञान, संस्कार, संस्मरण सांस्कृतिक र भाषिक विविधता लोप हुन्छ । भाषिक विविधताले नवीन सोचाइ र यसले संसारलाई हेर्ने नवीन दृष्टिकोणसमेत बोकेको हुन्छ । भाषिक विविधता आफैंमा वैज्ञानिक खोज–अनुसन्धानको विषय हो । तर पछिल्लो समय मातृभाषा संकटको अवस्थामा पुगेको छ । यो अत्यन्तै दुखको कुरा हो ।

सरकारी नीतिका कारण आज नेपाली भाषा बाहेक अरु भाषाहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । विश्वव्यापी रुपमा मातृभाषाको महत्वलाई बुझाउँदै यसको संरक्षणको लागि हरेक वर्ष फेब्रुअरी २१ तारिखका दिन विश्वभरि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गरिन्छ। यस वर्ष पनि बुधबार विश्वर यो दिवस मनाइएको छ । हरेक  वर्ष यो दिवस मनाइने गरिए पनि मातृभाषा लोप हुने अवस्थामा पुगेको छ । नेपालमा भाषा ऐन बनेको छैन । संघ, प्रदेश र स्थानीय सरकारले भाषासम्बन्धी कुनै काम गर्न सकेका छैनन् । जसका कारण मातृभाषा लोपउन्मुख अवस्थामा  पुगेको हो । नेपालको संविधान (२०७२)ले नेपालमा बोलिने सबै भाषा ‘राष्ट्रभाषा’को संज्ञा दिएको छ । तर नारामात्र बनेको छ । तथ्यांकमा उल्लेख नेपालका भाषाहरू साँच्चै जीवित छन् कि छैनन् ? स्वयं राज्यलाई थाहा छैन । तथ्यांक जप्दै सरकारका आधिकारिक निकायहरू कानमा तेल हालेर बसेका छन् । उनीहरु वर्षमा एकदिन मातृभाषाको वकालत गर्न तम्सिन्छन् । तर यसको संरक्षणमा खासै चासो देखाउँदैनन् । संविधानतः भाषा आयोग गठन भई डेढ वर्षदेखि क्रियाशील छ । मुलुकमा बोलिने भाषाहरू सीमित भाषिक समुदायले बोल्छन् । व्यवहार गर्छन् । यो उनीहरूको पेवा होइन, मुलुकको सामाजिक सम्पदा हो । यद्यपि मातृभाषाको महत्व बुझाउने काम भइरहेको छैन । संघीय, प्रदेश र स्थानीयमा यो दिवसको महत्व झल्काएर अघि बढ्नुपर्ने देखिन्छ । तर एकदिन दिवस मनाएर मात्र मुलुकको मातृभाषाहरू संरक्षण हुनसक्दैन । त्यसका लागि सम्बन्धित समुदाय, तीनै तहका सरकारले दिर्घकाली योजना बनाएर अगाडि बढ्न आवश्यक छ । यसो भयो भने मात्र मातृभाषा जोगाउन सकिन्छ । तसर्थ मातृभाषा जोगाउने दिशामा सबै सक्रिय हुन जरुरी देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update