Shittalpati
प्रजातन्त्र दिवसको सन्दर्भ

आज जहानियाँ राणा शासनको अन्त्य भएको ऐतिहासिक दिन । फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो । जसलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । प्रजातन्त्र प्राप्तिका लागि योगदान दिएका महान् योद्वा र उनीहरुको सपनालाई साकार पार्ने संकल्पका साथ हरेक वर्ष विभिन्न राजनीतिक दल र सरकारले विभिन्न कार्यक्रम गरी २००७ फागुन ७ गतेको स्मरण गर्छन्, र प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् । तर, दुखको कुरा ! प्रजातन्त्रको मर्म र भावना कसैले आत्मसात् गर्न सकेका छैनन् । जसका कारण प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन सकेको छैन । बरु दलका नेताहरूको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ ।

आजका दिनसम्म पनि प्रजातन्त्र कहिले गुम्दै र कहिले पुनःस्थापित हुने श्रृंखला चलिरह्यो । अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । शब्दमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनिए पनि आजको राजनीतिक परिवर्तनको जग भनेको २००७ सालमा स्थापित प्रजातन्त्र नै हो । राणा र शाही शासनकालको अन्त्यपश्चात् पनि दलहरुले मुलुकलाई सही गन्तव्य र विकासको मार्गमा अघि बढाउन सकेका छैनन् यो हामी सबैका लागि ठूलो दुर्भाग्य हो । नेपालमा प्रजातन्त्रको घोषणा भएको ७३ वर्ष पुगेको छ । तर अहिले सम्म पनि जनताको न्यूनतम अपेक्षा पनि सुनिश्चित हुन सकेको छै्रन । राजनीतिक, आर्थिक, सामाजिक असुरक्षा र अस्थिरताको भय जनतामा देखिन्छ । जबसम्म संविधानसभाबाट नयाँ संविधान निर्माण र त्यसको कार्यान्वयनको ग्यारेन्टी हुँदैन, तबसम्म जनता यो मनोवैज्ञानिक त्रासबाट मुक्त हुन सक्दैनन् । त्यसकारण राजनीतिक नेतृत्वका सामु नयाँ संविधान निर्माण र कार्यान्वयनको ऐतिहासिक कार्यभार पूरा गर्ने दायित्व छ । बृहत्तर दलीय सहमतिको आधारमा संविधान कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको बाटोमा लैजानुुु अहिलेको आवश्यकता हो । जसका  लागि दलहरूले इमानदार प्रयत्न गर्न आवश्यक छ । त्यसो भयो भने प्रजातान्त्रिक योद्धाहरूको सपना पूरा हुनुका साथै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update