Shittalpati
इन्टरनेटको सुरक्षित प्रयोग गरौं

हरेक फेब्रुअरी महिनाको दोस्रो हप्ता विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । यसवर्षको दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । विश्वभर नै इन्टरनेट चलाउनेको संख्या बढ्दै गएपछि त्यसको कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने चेतना जगाउने उद्देश्यसहित यो मनाउन थालिएको हो । यस दिन विश्वका धेरै देशले इन्टरनेट प्रयोग गर्दा भएका कठिनाइ, समस्या र असुरक्षाका विषयमा विभिन्न किसिमका कार्यक्रम आयोजना गर्छन् । इन्टरनेट सुरक्षासँग सम्बन्धित रहेर मानिसलाई सचेत बनाउने विभिन्न किसिमका सामग्री पनि प्रस्तुत गर्छन् । सूचना प्रविधिकै कारण विश्व साघुरो घेरामा सिमित बन्न पुगेको छ । नेपालले पनि सूचना प्रविधिलाई पछ्याउँदै अगाडि बढेको अवस्था छ । इन्टरनेट तथा अनलाइनको माध्यमबाट धेरै कामहरु छिटो छरितो र सहज भएका छन् । यो आफैमा सकारात्मक पक्ष हो । तर अनलाइनको प्रयोगबाट केही नकरात्मक काम पनि नभएका भने होइन । अनलाइनकै माध्यमबाट धेरै अपराधिक क्रियाकलापहरु भएका छन् । यस्तो हुनु दुःखद् हो । सूचना प्रविधिमार्फत नै नयाँ कुराहरू सिक्ने, नयाँ मानिसहरू भेट्ने, पुग्न नसकेका ठाउँहरूको बारेमा थाहा पाउने लगायतका अवसरहरू प्राप्त गरिएको छ । तर, उचित सूचना वा मार्गदर्शन नहुँदा इन्टरनेट जगतमा दुव्र्यवहार, शोषण तथा हिंसा जस्ता विभिन्न जोखिमहरूको पनि सामना गर्नु परेको यर्थात छ । इन्टरनेटको सुरक्षित प्रयोग गर्नको लागि आफूले इन्टरनेटमा गर्ने गतिविधिले आफूलाई के प्रभाव पार्छ भन्ने कुरा बुझ्न आवश्यक छ । 

अझ, सामाजिक सञ्जालका कारण समेत इन्टरनेटको अपरिहार्यता बढ्दै गएको वर्तमान स्थितिमा त्यसबाट पन्छिन अबका दिनमा त्यति सहज पक्कै पनि हुनेछैन । आजको युगलाई सूचना तथा प्रविधिबाट अलग राखेर हेर्न मिल्दैन । त्यसमा पनि इन्टरनेटबिना त वर्तमान समयलाई सोच्नसम्म पनि नसकिने अवस्था आएको छ । प्रायः सबै कामकुरा डिजिटल प्रविधिमै निर्भर रहनुपर्ने बाध्यात्मक अवस्थाका कारण वर्तमानमा इन्टरनेट कति सुरक्षित छ भन्ने प्रश्न उठ्नु अस्वाभाविक छैन । सकारात्मक प्रयोग गरे सही परिणाम आउने र नकारात्मक प्रयोग गरे गलत नतिजा नै प्रकट हुने अवस्थालाई इन्टरनेटरुपी सञ्जालको विस्तार र पहुँच बढ्दै गर्दा सोच्नुपर्ने विषय बनिरहेको छ । इन्टरनेटलाई सुरक्षितरुपमा प्रयोग र उपयोगको स्थल बनाउन सकियो भने मात्र सुरक्षित इन्टरनेट दिवस मनाउनुको औचित्य रहन्छ । तसर्थ इन्टरनेटको सुरक्षित प्रयोगतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update