Shittalpati
आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

पाल्पा, आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको संख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको हो । क्यान्सर रोग निवारणका लागि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले आज चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै छन् ।

हरेक वर्ष फेब्रुअरी महिनाको ४ मा यो दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल (यूआईसीसी) को आÞवानमा क्यान्सर दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको आÞवानमा सन् २००० मा फ्रान्सको राजधानी पेरिसमा भएको बैठकपछि क्यान्सर दिवस मनाउने निर्णय भएको थियो । त्यसपछि हरेक वर्ष फेब्रुअरी ४ मा दिवस मनाउन सुरु गरिएको हो । क्यान्सर दिवस मनाउनुको मुख्य उद्देश्य क्यान्सरबारे जनचेतना जगाउनु नै हो । यसका साथै रोकथाम, उपचार र क्यान्सरबाट हुने मृत्युदर न्यून गर्ने नै हो । यस वर्ष ‘स्याहारमा भएको फरकलाई बन्द गरौँ’ भन्ने नारा तय गरिएको छ । हाल नसर्ने रोगको प्रकोप बढेको छ ।

क्यान्सर, मुटु, फोक्सो, मधुमेह लगायतका रोगले धेरैलाई पिरोलिरहेको छ । विश्वका अधिकांश मुलुकमा ६० प्रतिशतभन्दा बढी मृत्युको कारण नसर्ने रोगहरू भएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । त्यसमध्ये कार्डियो भास्कुलर र क्यान्सरको प्रकोप बढिरहेको पाइन्छ । मुटुलगायत अन्य नसर्ने रोगको उपचार विधिमा व्यापक सुधार भएको छ । उपचारमा पहुँच पनि पुगेकाले यी रोगबाट हुने मृत्युको संख्यामा कमी आउन थालेको छ । तर, क्यान्सर रोगको उपचारमा अझै पहुँच पुगेको छैन । क्यान्सर लगायत अन्य नसर्ने खालका दीर्घ रोगको मुख्य कारक तत्वहरू एकै किसिमको पाइन्छ । त्यसैले यी रोगबारे व्यापक जनचेतना फैलाउनुपर्ने खाँचो छ । धेरैजसो मुलुकमा मृत्युको पहिलो नम्बरमा क्यान्सर नै हुने गरेको छ । मुख्यतः क्यान्सर हुनुको कारण खानपान र जीवनशैली रहेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले  बताए । उनले भने,‘धूमपान, मद्यपान, मोटोपना र अस्वस्थ जीवनशैलीले गर्दा नै नेपालमा क्यान्सरका बिरामी बढिरहेका छन् । यसबाहेक ५ देखि १० प्रतिशत क्यान्सरका बिरामीमा वंशाणुगत समस्या पनि देखिएको छ ।’ घरमा हजुरबुवा, आमाबुवा वा नातेदार कसैलाई क्यान्सर छ भने सन्तानलाई पनि भएको पृष्ठभूमि पाइएको डा. शाहीले बताए । उनका अनुसार ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुने गरेको छ । रोबोटिक सर्जरी, प्रोटोन थेरापीलगायत केही उपचारविधि स्वदेशमा उपलब्ध हुन नसकेकाले बाँकी एक प्रतिशतका लागि मात्र अन्य मुलुक जानुपर्ने  अवस्था रहेको उनको भनाई छ ।

नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले क्यान्सरको जोखिम पनि बढ्दै गएको उनीहरुको भनाइ छ । खानपानमा ध्यान दिन सके पनि ४० प्रतिशतले क्यान्सर रोगको जोखिम कम हुने विश्व स्वास्थ्य संगठनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update