Shittalpati
तानसेनको छेर्लुङ्गमा काँग्रेसको वडा सम्मेलन

तानसेन, तानसेनको छेर्लुङ्गमा नेपाली काँग्रेसको वडा सम्मेलन भएको छ । काँग्रेसलाई वडा तहदेखि नै सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन काँग्रेस तानसेन नगरपालिका–१३ वडा कार्यसमितिले सम्मेलन गरेको हो ।

सम्मेलनको काँग्रेस तानसेन नगरका सचिव शैलेन्द्र भट्टराईले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले काँग्रेसलाई थप सशक्त र बलियो बनाएर लैजान सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने  बताए । उनले मुलुकमा ठूला– ठूला परिवर्तन नेपाली काँग्रेसकै नेतृत्वमा भएकाले अहिलेका नयाँ पुस्तालाई  सोको बारे जानकारी गराउनु आवश्यक रहेको धारणा व्यक्त गरे । सचिव भट्टराईले २००४ सालदेखि काँग्रेसले देश र जनताका लागि गरेको योगदानको अहिलेका पुस्तालाई जानकारी गराउँदै सोही अनुसारको मार्गमा हिडाउन पुराना पुस्ताका नेताहरुलाई आग्रह गरे । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका भट्टराईले पार्टीका कार्यकर्ताहरुलाई आर्थिक उपार्जनसँग जोड्ने गरी तालिम र प्रशिक्षणका कार्यक्रमहरु समेत काँग्रेसले ल्याउने योजना बनाएको बताए । उनले वडामा भएका समस्या र विकास निर्माणका कामहरुमा काँग्रेसले नगर, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म आवश्यक पहल गर्ने समेत बताए ।   

काँग्रेस पाल्पा क्षेत्र नं. २, १ (क) का प्रदेश सदस्य तथा युवा नेता विदुर घिमिरेले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुप्रति लक्षित गर्दै पार्टीबाट टिकट लिएर निर्वाचन जितेका जनप्रतिनिधिहरुले नै काँग्रेसलाई बेवास्ता गर्ने गरेको बताए । उनले भने‘ पार्टीबाट टिकट लिने अनि निर्वाचन जितेर गइसकेपछि म आफैले जितेको हो जस्तो गर्ने ? यस्तो परिपार्टीको अन्त्य हुनुपर्छ ।’ नेता घिमिरेले जनप्रतिनिधि भइसकेपछि पार्टीका कुनै पनि संरचनासँग सहकार्य र समन्वय नगर्दा पार्टी कमजोर बन्दै गएकाले त्यसतर्फ सचेत हुन पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह  समेत गरे ।

कार्यक्रममा काँग्रेसका निवर्तमान वडा सभापति रेवन्तबहादुर पाण्डेय, पूर्व जनप्रतिनिधि तुलबहादुर सोमरे, क्षेत्रीय प्रतिनिधि मिना पाण्डेय, मोमबहादुर माझी लगायतले संगठनलाई बलियो बनाएर लैजान सबै तह र तप्काका व्यक्तिहरु एक ढिक्का भएर जानुपर्ने बताएका थिए । वडा सभापति किशोर भट्टराईको अध्यक्षता, पूर्व वडा सभापति डिल्ली राज भण्डारीको स्वागत, सचिव कर्णबहादुर रेस्मीको सञ्चालनमा सम्मेलन भएको थियो । 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update