Shittalpati
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार

पाल्पा, पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढ्दै गएका बेला पाल्पाका केही स्थानीय सरकारले भने त्यसको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । तिहार पर्व नजिकिएसँगै बजारमा प्लाष्टिकका मालाले बजार लिन थालेपछि स्थानीयस्तरमा उत्पादित फूूलहरुले ठाउँ नपाउने भन्दै यहाँका स्थानीय सरकारले कृत्रिम मालाको प्रयोगमा निरुत्साहित गर्न सूचना नै प्रकाशन गरी प्लाष्टिकका मालामा प्रतिबन्ध  लगाउन लागेका हुन् ।  

जिल्लाको तानसेन नगरपालिका र माथागढी गाउँपालिकाले सूचना निकालेर प्राकृतिक फूलका माला प्रयोग गर्न तथा प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न आग्रह गरेका छन् । तानसेन सयपत्री फूलमा आत्मनिर्भर भएकाले स्थानीय फूल कृषकहरुलाई प्रोत्साहन गर्न तथा प्लास्टिकजन्य फूलमालाले वातावरणमा पार्न सक्ने नकारात्मक प्रभावलाई समेत मध्यनजर राख्दै प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न  नगर सरकारले आग्रह गरेको छ । उसले आउँदै गरेको तिहार पर्वको अवसरमा नगर क्षेत्र भित्र  प्लास्टिकजन्य फूूल माला बिक्री वितरण नगर्न, नगराउनुहुन सबैमा अनुुरोध गरेको छ । प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीद्वारा जारी सूचनामा प्लाष्टिकजन्य माला प्रयोग नगर्न र प्राकृतिक फूलका माला मात्रै भाइटीकामा प्रयोग गर्न भनिएको छ । ‘प्राकृतिक रुपमा उत्पादन भएका फूलहरु एवमं सो बाट बनेका मालाहरु प्रयोग गर्नहुन सम्पूर्ण व्यापारी वर्ग तथा आमउपभोक्ताहरुमा हार्दिक अनुरोध गरिन्छ’ सूचनामा भनिएको छ । नगरपालिकाले नगर भित्र प्रसस्त मात्रमा सयपत्री फूलहरु भएकाले चाडपर्व बिहे, व्रतबन्ध तथा अन्य समारोहमा सयपत्री फुल तथा माला थोक तथा खुद्रामा आवश्यक परेमा स्थानीय कृषकहरुलाई सम्पर्क गर्न समेत सबैमा आग्रह गरेको छ । यस्तै माथागढी गाउँपालिकाले पनि प्लाष्टिकजन्य फूलमाला प्रयोग नगरी प्राकृतिक पूmलमाला प्रयोग गर्न  सबैमा आग्रह गरेको छ । उसले सूचना जारी गर्दै गाउँपालिका सयपत्री फूलमा आत्मनिर्भर रहेकाले फूल कृषकहरुको प्रोत्साहनका लागि प्राकृतिक फूलको प्रयोग गर्न भनेको छ । 

प्लाष्टिकजन्य फूलमालाले वातावरण प्रदुषण गराउनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले प्लाष्टिकजन्य फूल, माला विक्री वितरण नगर्न, नगराउनुहुन सम्पूर्ण व्यापारी र नागरिकहरुलाई उसले आग्रह गरेको हो । उसले पनि प्राकृतिक फूल आवश्यक परेमा स्थानीय फुल कृषकहरुलाई  सम्पर्क गर्न समेत भनेको छ । पालिकाहरुले प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न, नगराउन आग्रह गरेसँगै यहाँका व्यावसायिक फूलखेती गर्दै आएका किसान हौसिएका छन् । तानसेन नगरपालिका– १४ का कृषक कमल रानाले आफू जस्ता कृषक नगर सरकारको निर्णयले उत्साहित बनेको बताए । ‘यस्तै निर्णय जिल्लाका सबै पालिकाले गर्नुपर्ने हो,’ उनले भने,‘सरकारले पनि नाकाबाट यस्ता सामग्री भित्रन प्रतिबन्ध लगाउन सक्नुपर्छ ।’  पछिल्लो समय  तानसेनसहित जिल्लाका अधिकासं पालिकाहरुमा व्यवसायिक फूलखेती हुँदै आएको छ । जिल्लाका ग्रामीण भेगमा भने घर घरमै सजावटका लागि सयपत्रीलगायत विभिन्न फूलहरू रोपिएका छन् ।

कृत्रिम मालाले प्राकृतिक फूलको प्रयोग हराउँदै
पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुर्धौली फूल लोपोन्मुख भइसकेका छन् । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फूले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ । प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै जाँदा तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउँदै गएको हो । हिन्दू धार्मिक परम्पराअनुसार चाडपर्वमा सोही अनुसारका फूल र माला प्रयोग गर्नुपर्ने भए पनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्म पनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् । बजारमा  कस्मेटिक पसलदेखि सडक छेउका पसलहरुमा समेत रङ्गीचङ्गी कृत्रिम मालाको छ्याप्छ्याप्ती देखिन्छन् । तिहार नजिकिँदै गर्दा बजारभरि कृत्रिम माला बिक्रीका लागि छ्याप्छ्याप्ती राखिएका छन् । सरकारले प्लाष्टिकका फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरणमा रोक लगाउने गरे पनि उपभोक्ताको आकर्षण भने कृत्रिम मालामै बढी देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update