Shittalpati
घर आँगनमा बडादसैँको आगमन

शर्मिला थापा मगर
पाल्पा,
हिन्दूहरूको घरआँगनमा महान् चाड बडा दसैँ सुरु भएको छ । आजबाट औपचारिक रुपमा बडादसैँको आगमन  भएको हो । बडादसैँको पहिलो दिन अर्थात्  घटस्थापनाको दिन हो । यसदिनलाई जमरा राख्ने दिनका रुपमा समेत लिइन्छ ।

विभिन्न प्रकारका अन्नहरुको समिश्रणद्वारा आजका दिनमा राखेको जमरा विजयादशमीका दिनमा आफ्ना अग्रजहरुद्वारा निधारमा टीका लगाउँदा कपालमा वा कानमा सिउरिने परम्परा छ । घटस्थापनालाई नौ दिनसम्म दुर्गा भवानीको पूजा गर्नका लागि घट (कलश) स्थापना गर्ने विशेष दिनका रुपमा पनि लिइने गरिन्छ । आजकै दिनबाट आउँदो दस दिनसम्म दसैँको उत्सवमय वातावरण आरम्भ भएको पनि ठानिन्छ । जमरा राख्नुपूर्व गाउँ–घरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत आइतबार बिहान ११ः२९ बजे रहेको नेपाल पञ्चा· निर्णायक समितिले जनाएको छ । दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी नवरात्रीको पूजा आरम्भ हुन्छ । नवदुर्गाको पूजा आराधना गर्ने, राम्रो लगाउने, मिठो खाने र मान्यजनका हातबाट टीका आशीर्वाद ग्रहण गर्ने चाडका रूपमा दसैँलाई लिइन्छ । नौ दिनसम्म नवदुर्गाको पूजाआराधना गरिने भएकाले यस अवधिलाई नवरात्र पनि भनिन्छ । घटस्थापनादेखि नवरात्र आरम्भ हुन्छ । दशौँ दिनमा देवी विसर्जन गरेपछि आफूभन्दा ठूलाको हातबाट टीका, जमरा ग्रहण गरिन्छ । अनादिकालदेखि नै विजया दशमीलाई नेपालका सबै समुदायले मनाउँदै आएको संस्कृतिविद्हरु बताउँछन् ।

के–के गरिन्छ नवरात्रीभर ?
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् पर्व बडादसैंको पहिलो दिन आइतबार घर–घरमा जमरा राखिँदै छ ।

पहिलो दिन
यस दिन ‘शैलपुत्री’ नामकी दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ । नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ ।

दोस्रो दिन
यस दिन पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘ब्रÞमचारिणी’ स्वरूपा दुर्गा भवानीको पूजा गरिन्छ । जमराको पूजा गरी जल सिञ्चन गर्ने क्रम नवरात्रभर रहन्छ । ब्रÞमाको आचरणमा रही कठोर तपस्या गरेकी र शिरमा अर्धचन्द्र तथा नाना प्रकारका आभूषण धारण गरेकी हुनाले ब्रÞमचारिणीको पूजाआराधना गरिएको मान्यता छ ।

तेस्रो दिन
यस दिन ‘चन्द्रघण्टा’ स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ । चन्द्रघण्टालाई विशेषगरी दूधका परिकार चढाइन्छ । उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजल लगायत सामग्री चढाइन्छ ।

चौथो दिन
यस दिन ‘कुष्माण्डा’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ । यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क (मह र दही) चढाउने विधि छ ।

पाँचौ दिन
यस दिन ‘स्कन्दमाता’स्वरूपा दुर्गा भवानीको पूजापाठ गरिन्छ । यस दिन ६ वर्षकी कन्यालाई ‘कालिका’ नामले पूजा गरी विशेष रूपमा साडी, ओढ्ने आदि वस्त्र चढाउने विधि छ ।

छैटौँ दिन
यस दिन ‘कात्यायनी’स्वरूपा नवदुर्गा भवानीको पूजाआराधना गरिन्छ । यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ ।

फूलपाती (सातौं दिन)
यस दिन ‘कालरात्रि’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ । कालरात्रिलाई विशेष गरी राता तथा सबै प्रकारका सुगन्धित पुष्प चढाइन्छ । यस दिन देवीघरमा फूलपाती भिœयाउने चलन छ । फूलपाती साइत हेरेर दशैँघरमा भिœयाउने गरिन्छ । 

महाअष्टमी (आठौँ दिन)
यस दिन ‘महागौरी’स्वरूपा दुर्गाभवानीको पूजाआराधना गरिन्छ । यस दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ, किनकि सतीदेवीले प्राण त्याग गरेपछि त्यही बेला रिसले चुर भएका महादेवबाट महाकालीका रूपमा भद्रकाली प्रकट भएकी थिइन् । यस दिन पूजापछि बलि दिने चलन छ ।

महानवमी (नवौं दिन)
यस दिन ‘सिद्धिदात्री’स्वरूपा दुर्गाको आराधना गरिन्छ । यस दिन नवरात्रको सुरुको दिनदेखि कन्यापूजा नगर्नेहरूले नौवटी कन्याको पूजा, विश्वकर्माको पूजा, कलकारखाना तथा मेसिनपूजा, हात्ती, घोडा, मोटरसाइकल, गाडी आदि वाहनको पूजा गर्ने चलन रहेको छ ।

विजयादशमी
यस दिन शुभ साइत हेरी मान्यजनबाट दहीअक्षताको टीकाग्रहण र जमरा लगाउने चलन  छ । टीकासँगै छोरीचेली लगायतलाई दक्षिणा दिइन्छ । यस वर्ष विजयादशमीको उत्तम साइत कार्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update