Shittalpati
पाएँ त खाएँ नगरौं

मिठा–मिठा परिकारका साथमा आज दर खाइँदै छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अघिल्लो दिन दर खाने प्रचलन विगत देखि नै रहेको हो । नेपाली महिलाहरु व्रत बस्नु अघिल्लो दिन घरमा टन्न दर खाने र भोलिपल्ट तिजको व्रत बस्ने गर्छन् । दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु खानु हुँदैन । दरका रूपमा विभिन्न अखाद्य वस्तु, रंग हालेका मिठाई, विषादी हालेका तरकारी र फलफूल र अधिक मात्रमा मासुु खानाले स्वास्थ्यमा नराम्रो असर गर्दछ । चाडबाड आयो कि जतिसक्यो बढी खाने भन्ने चलन नेपाली समाजमा छ । धेरै नखानु भन्ने सुझाव कसैले दियो भने पनि जवाफ आउँछ – ‘तिज हो तिज, तिजमा नखाए कहिले खाने ?’ तर ख्याल गरौं जथाभावी खाँदा समस्यामा परिएला । तिजका बेला मासुका परिकार र बढी चिल्लो भएका खाद्यवस्तुुहरु खाइरहेका छौं भने अझ बढी ख्याल गरौं । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यका लागि समस्या आइपर्छ । मासु पौष्टिक आहार मानिन्छ । यसमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने ? धेरै प्रोटिनयुक्त खानेकुराले फाइदा हुनुको सट्टा हानी गर्छ । मासु र चिल्लो पदार्थमा हेलचेक्र्याई गर्दा शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ ।

खानपानमा मनपरी गर्दा अस्वस्थ बनाउने सम्भावना हजार गुणा हुन्छ । चिकित्सकहरु मासु खाँदा फरक नपर्ने तर अति भए खती हुने भएकाले कम प्रयोग गर्न सुझाव दिन्छन् । धेरै चिल्लो, तारेको, पोलेको, गुलियोका साथै मदिरा सेवन सकभर नगरौं । यसले विभिन्न रोगहरु देखा पर्ने सम्भावना रहेकाले खानपिनमा सजग हुन आवश्यक छ । धेरैले तिजको समयमा विभिन्न भोज भतेरमा बस्ने, पानी कम खाने, गर्दछन् जसले गर्दा झाडापखाला लाग्न सक्छ । दर भनेपछि चिल्लो, पिरो र मसलेदार हुनुपर्छ भन्ने मान्यता हाम्रो समाजमा छ । दर खाने भनेको महिलाहरुको जमघट गराउने एउटा माहोल हो । त्यसैले यस्तो संस्कारलाई स्वास्थ्यका हिसाबले पनि हेर्न आवश्यक हुन्छ । हाम्रै करेसाबारीमा उत्पादित घरमै बनाएको सामान्य नेपाली खाना नै दर हो भन्ने मान्यता हामीले लिनु पर्दछ । तर, आजकाल पारम्परिक खानेकुराभन्दा पनि बाहिरी संस्कृतिसँग जोडिएका खानेकुरा प्राथमिकतामा पर्दै आएका छन् । त्यस्ता खाने कुराको गुणस्तरमा विश्वसनीयता हुँदैन त्यसैले स्वास्थ्यमा समस्या देखिन सक्छ । सावधानी आफै अपनाए मात्र रोग लाग्दैन । तसर्थ पाएँ त खाएँ नगरौं, स्वास्थ्यलाई राम्रो हुने गरी मात्र मिलाएर खाऔं ।   

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update