Shittalpati
कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे पाल्पाका स्वास्थ्य संस्था

पाल्पा, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गत आर्थिक वर्षको समीक्षा सुरु गरेको छ । कार्यालय अन्तरगत सञ्चालन भएका विभिन्न कार्यक्रमको प्रभावकारीता र चालु आर्थिक बर्षको योजना बनाउने उद्देश्यसहित सोमबारदेखि समीक्षा गोष्ठि सुरु गरेको हो ।

समीक्षा कार्यक्रममा कार्यालय अन्तर्गतका १० वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधिको सहभागिता छ । जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा, पाल्पा र रामपुर अस्पताल, २  वटा प्राथमिक उपचार केन्द्र, मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, जिल्ला आर्युवेर्दिक अस्पताल, जिल्ला लायन्स लाकौल आँखा अस्पताल, नेपाल परिवार नियोजन संघ पाल्पा, लुम्बिनी प्रदेश सरकार र विश्व स्वास्थ्य संगठनको सहभागितामा ३ वर्षे समीक्षा गर्दै आगामी रणनीति तथा कार्ययोजना निर्माण गर्न थालिएको हो । पाल्पा क्षेत्र नंं. १ का प्रतिनिधीसभा सदस्य नारायणप्रसाद आचार्य, प्रदेश सांसदद्धय वीरबहादुर राना, खेमबहादुर सारु, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला सहितको उपस्थितीमा जिल्लाको स्वास्थ्य क्षेत्रका सूचकहरुलाई राम्रो गुणस्तरीय बनाउन यस वर्ष जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले समीक्षासँगै रणनीतिक कार्ययोजना निर्माण गर्न लागेको  छ ।
    समीक्षा कार्यक्रममा तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपाने, बगनासकाली स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी, रिब्दीकोट स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, रैनादेवी छहरा स्वास्थ्य शाखा प्रमुख जीवन राना, तिनाउ स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्की, माथागढी स्वास्थ्य शाखा प्रमुख केशवबहादुर जिसी, पूर्वखोला स्वास्थ्य शखा प्रमुख मोहन ढकाल, निस्दी स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिसा, रम्भा स्वास्थ्य शखा प्रमुख शिव प्रसाद अर्यालले ३ वर्षे कार्यप्रगती तथा सुधार गर्नुपर्ने कामहरुको बारेमा जानकारी गराएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत टुकप्रसाद पोखरेलले जिल्लाको समग्र स्वास्थ्यको अवस्था बारे जानकारी गराएका थिए । पाल्पामा अझै बालविवाह न्यूनिकरण नहुँदा २० बर्ष भन्दा अघि नै बच्चा जन्माउने संख्या १० प्रतिशत रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले बताए । ऐन नियम कानुनमा २० बर्ष अगाडि विवाह गर्न नै बन्देज लगाइरहेको अवस्थामा २० बर्ष भन्दा मुनी उमेरका १० प्रतिशत महिला सुत्केरी हुनु भनेको हामी सबैको लागि चुनौतीको विषय भएको आगामी दिनका लागि कठोर कार्ययोजना बनाएर काम गर्नुपर्ने डा. गिरीले बताए । सार्वजनिक गरिएको विवरणमा सर्ने भन्दा नसर्ने रोगको स्थिती भयावह बन्दै गएको, सुत्केरी महिलाले बच्चालाई ६ महिनासम्म नियमित रुपमा स्तनपान गराउनु पर्नेमा बिचैमा छाड्ने अवस्था बढ्दै गएको चुनौती थपिएको कार्यालयका सूचना अधिकारी टिकाराम अधिकारीले बताए । अझै पनि केही पालिकाहरुमा घरमै सुत्केरी हुने अवस्था रहेको जस्ता अवस्था पाल्पामा अझै पनि चुनौतीको रुपमा देखिएका छन् । समीक्षा कार्यक्रम आजसम्म सकिने छ ।

पाल्पामा स्वास्थ संस्थाहरुमा पर्याप्त जनशक्ति चिकित्सकहरु नहुँदा कयौं योजना तथा कार्यक्रमहरु कार्यान्वयन नभई फिर्ता गएका छन् । पाल्पामा  २ नगरपालिकामा ५० बेडको अस्पताल, अन्य ८ वटा पालिकामा १५ बेडका अस्पताल सञ्चालनको तयारी भईरहदा आवश्यक दरवन्दीको लागि कुनै पक्षबाट पहल हुन सकेको छैन जसका कारण अस्पतालका भवनहरु मात्र ठडिने अवस्था देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update