Shittalpati
बीपीको सम्झना

पाल्पा, नेपालको राजनीतिक इतिहासका एक चर्चित पात्र बीपी कोइरालालाई वर्षमा तीन पटक विशेष स्मरण गर्ने गरिन्छ । खासगरी बीपीले स्थापना गरेको दल नेपाली काँग्रेसले बीपीको जन्मजयन्ती, स्मृति दिवस र मेलमिलाप दिवसलाई औपचारिक तवरमा मनाउँदै आएको छ । बीपीकै नाम, सिद्धान्त, कर्म र आकर्षणले अनुप्राणित रहँदै आएको काँग्रेसले आइतबार पाल्पा, गुल्मीसहित देशैभर बीपीको सम्झनामा विभिन्न कार्यक्रम गरी ११० औं जन्मजयन्ती मनाएको छ । काँग्रेसले संस्थापक नेता कोइरालाको योगदानको बारेमा चर्चा गर्दै उनको सम्झना गरेको हो । 

काँग्रेसले पार्टी मुख्यालयमा तीनदिने ‘बीपी साहित्य महोत्सव’ सञ्चालन गरेको छ भने जिल्लाहरुमा छुट्टाछुट्टै कार्यक्रम गरी बीपीको सम्झना गरेको छ । बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा चर्चा परिचर्चा भएका छन् । नेपाली काँग्रेस पाल्पाले पार्टी कार्यालयमा विचार गोष्ठीको आयोजना गरी बीपीको सम्झना गरेको हो । काँग्रेसले यस पटक कार्यक्रमलाई फरक ढंगले औपचारिकता दिर्दै बीपीको राजनीतिक, साहित्यिक योगदानका बारेमा चर्चा गरेको छ ।

हरेक औपचारिक कार्यक्रमहरुमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिका लागि छुट्टै मञ्चको व्यवस्था गरी आशन ग्रहण गराउने र भाषण गर्न लगाउने परम्परालाई पाल्पा काँग्रेसले तोड्दै सबैलाई स्रोताको रुपमा राखी बीपीको बारेमा जानकारी गराएको हो । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक महेन्द्र पन्थीले बीपीको राजनीतिक जीवन र योगदानका बारेमा र अर्को उपप्राध्यापक शारदा खनालले बीपीको साहित्यिक पाटोका विषयमा चर्चा गरेका थिए । उपप्राध्यापक पन्थीले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउन सफल एकमात्र खम्बा भएको बताए । उनको क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका कारण अहिले पनि जुनसुकै दल र विचारधाराका व्यक्तिहरु प्रभावित हुने गरेको उनले बताए । उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरेको  पन्थीले बताए ।

२००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोजेर ‘अहिंशा परमो धर्म’ लाई आत्मसात् गरेको र कतिपय अवस्थामा बीपीका विचार महात्मा गान्धीसँग मिल्ने गरेको उनले बताए । ‘क्रान्तिमा हिंसाको बाटो सजिलो भए पनि हामीले यो बाटो सजिलो हुन्छ भनेर रोज्नु हुन्न’ भनेर बीपी नेपाली काँग्रेसका कार्यकर्तालाई सम्झाउँथे’ उपप्राध्यापक पन्थीले भने ‘२००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका बीपी नेपालका मात्र होइन भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्न भएका थिए । राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका बीपी २०१५ सालमा भएको पहिलो आमनिर्वाचनपछि  जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।’ बीपी सधै ग्रामीण अर्थतन्त्रमुखी विकासका चिन्तक भएकैले प्रधानमन्त्रीको नेतृत्व सम्हालेका बेलामा उनले अंगीकार गरेको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भएको नपचेपछि महेन्द्रले सैनिक सहयोगमा बीपीलाई अपदस्थ गरेको उनले बताए । उनले भने ‘पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका बीपी लामो समय भारतमा निर्वासित जीवन जिउन बाध्य भएको र  २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी आठ वर्षे निर्वासित जीवन बिताएर भारतबाट स्वदेश फर्किए, सोही सम्झनामा हरेक वर्ष राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरिन्छ ।’ उपप्राध्यापक शारदा खनालले बीपीको राजनीतिक र साहित्यिक पाटो अलग नरहेको बताईन् । उनले भनिन् ‘कोइरालाले आफ्नो जीवनका महासंकटहरुमा पनि साहित्यलाई बिर्सेनन् । जेलदेखि प्रवाससम्म, भोकदेखि अभावसम्म उनीभित्र राजनीतिक विचारमात्रै होइन, आख्यानका अजस्र धाराहरु बगिरहन्थे ।’ बीपीका जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाइ, आत्मकथालगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित रहेको उप्राध्यापक खनालले बताईन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता, पार्टीका भातृ संघ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, सचिव सन्तोष थापा मगरको सञ्चालनमा कार्यक्रम भएको थियो । उता गुल्मी काँग्रेसले पनि स्थानीय, प्रदेश, क्षेत्र र जिल्लामा छुट्टाछुट्टै कार्यक्रम गरेर बीपीलाई सम्झिएको छ । जिल्ला कार्यसमितिले काँग्रेस रेसुङ्गा नगर समितिको समन्वयमा जिल्ला अस्पताल गुल्मीमा भर्ना भएका बिरामीहरु र उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई फलफुल वितरण गरेको पार्टी सचिव जगदीश भट्टराईले बताए । उनका अनुसार नेपाली काँग्रेस पालिका, प्रदेश र क्षेत्रीय समितिहरुले महामानव बीपी कोइरालाका विषयमा परिसंवाद, सार्वजनिक स्थलहरुको सरसफाई, विद्यालय, स्वास्थ्य संस्था, वृद्धाश्रम, धार्मिक संस्थामा सहयोग र फलफुल वितरण गर्ने, विरुवाहरुको गोडमेल, मलजल गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update