Shittalpati
१० पदमा ११ को उम्मेदवारी निर्वाचन आज हुँदै

पाल्पा, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । आज हुने निर्वाचनका लागि सत्तारुढ दलसहित प्रतिपक्षी दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित उम्मेदवारी मनोनयन दर्ता भएको हो ।

आइतबार भएको मनोनयन दर्तामा १० सभापति पदका लागि ११ जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ । दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । जसअनुसार काँग्रेसले कृषि, सहकारी तथा प्राकृति स्रोत समिति, संयुक्त संसदीय सुनुवाइ समिति, सुशासन समिति र अर्थ समितिमा उम्मेदवारी दिएका छन् । कृषिमा आरजु राणा, संयुक्तमा जीवन परियार, सुशासनमा रामहरि खतिवडा र अर्थमा सन्तोष चालिसेले उम्मेदवारी दिएका हुन् । त्यस्तै माओवादीबाट सांसद विमला सुवेदीले कानुन न्याय तथा मानव अधिकार समिति, जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र जनमतका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उम्मेदवारी दिएका छन् । उद्योगमा रास्वपाका गणेश पराजुलीले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै प्रतिपक्षी दलतर्फ नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले लेखा समिति, किरण कुमार साहले महिला तथा सामाजिक मामिला समिति र राप्रपाका दीपक सिंहले पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन । प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ । निर्वाचन तालिका अनुसार आज सभापतिका  लागि निर्वाचन हुन लागेको हो । प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । सभामुखले सभापति चयनका लागि मिति नतोक्दा र राजनीतिक दलहरूले चासो नराख्दा संसदीय समितिहरू प्रभावहीन हुँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update