Shittalpati
बगनासकालीका कृषक र उपभोक्तालाई राहत

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले कृषक र उपभोक्ताहरुलाई राहत प्रदान गरेको छ । लकडाउनका कारण कृषकले फलाएका मौसमी तरकारी र फलफूल बजारसम्म पु‍¥याउन नपाउँदा बारीमै खेर गइरहेको र उपभोक्ताले सुपथ मुल्यमा तरकारी नपाई रहेको अवस्थामा गाउँपालिकाले भने कृषक र उपभोक्तालाई राहत प्रदान गरेको हो ।

गाउँपालिकाले लकडाउनका कारण प्रभावित बनेका कृषकले उत्पादन गरेको तरकारी कृषककै मूल्यमै उपभोक्तालाई कृषि एम्बुलेन्समार्फत तरकारी वितरण गरेको छ । लकडाउनका समयमा कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानी सहज बनाउनुको साथै नागरिकलाई सुपथ मूल्यमा सहजै घर–घरमा तरकारी पु¥याउने उद्देश्य अनुरुप कृषि एम्बुलेन्स मार्फत तरकारी वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

उनले भने‘वर्तमान विषम परिस्थीतीमा कृषकले उत्पादन गरेको तरकारी बारीमै नकुहुन र सुपथ मूल्यमा उपभोक्ताले घरमा सहजै पाउन सकुन भन्ने हाम्रो उद्देश्य हो ।’ गाउँपालिकाले मंगलवारदेखी पोखराथोकका कृषकहरुको तरकारी बारीबाटै संकलन गरी गाउँपालिका भित्रका उपभोक्ताहरुलाई सोझै विक्री वितरण गरेको छ । कृषकबाट बन्दा, काउली, सीमी र काक्रो खरिद गरी गाउँपालिकाले सुपथ मूल्यमा उपभोक्तालाई दिर्दै आएको हो ।

पहिलो दिन गाउँपालिका वडा नं. २ पोखराथोकका कृषकसँग १२ क्वीन्टल तरकारी खरिद गरी विक्री गरेको थियो । त्यस्तै दोस्रो दिन १० क्वीन्टल तरकारी खरिद गरी उपभोक्तालाई विक्री गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कृषकबाट काक्रो प्रति केजी ४०, बन्दा प्रति केजी, १० र सीमी प्रति केजी ४५ रुपैयाँमा लिएर उक्त मूल्यमै उपभोक्तालाई दिएको हो । तरकारी उत्पादन गर्ने कृषक र उपभोक्ताबीच पुलको काम गर्नका लागि कृषि एम्बुलेन्स सेवामार्फत तरकारी वितरण गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update