Shittalpati
कृषि कार्यका लागि ट्याक्टरको भाडा दर निर्धारण

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्याक्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यका आधारमा समायोजन गरिएको हो ।

नगरपालिकाले व्यवसायी समेतको उपस्थितिमा सरोकार पक्षसँग छलफल गरेर नयाँ भाडा दर कायम गरेको वडा १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए । कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसान मर्कामा थिए । सर्वपक्षीय छलफलबाट ट्याक्टरको कल्टिभेटर जोताइ भाडा प्रतिघण्टा रु। एक हजार २५० र रोटाभेटर जोताइ भाडा प्रतिघण्टा रु एक हजार ८ सय कायम गरिएको हो । यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा रु एक हजार ८ सय निर्धारण भएको लुम्बिनी ट्र्याक्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिए । अब नगरपालिकाले निर्धारण गरेभन्दा बढी भाडा कसैले लिन पाउने छैनन् । तोकिएभन्दा कम भाडा भने लिन सकिने छ ।

नगरपालिकाले ट्याक्टरकोे वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो । यहाँ झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । यहाँ प्रमुख खाद्यबाली धान, गहुँ र मकैको ठूलो परिमाणमा उत्पादन हुन्छ । स्थानीय सरकारले ट्र्याक्टरको भाडा दर निर्धारण गरेकामा किसानले खुशी व्यक्त गरेका छन् । डिजलको मूल्य, बजारको अवस्थालगायत आधारमा आगामी दिनमा भाडादर समायोजन गरेर अघि बढ्ने वडाध्यक्ष न्यौपानेले बताए ।      -रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update