Shittalpati
नेवारी चाड : कुमार षष्ठी तथा सिथी नख :

मदन देउराली    
आज जेष्ठ महिनाको शुक्लपक्ष षष्ठी तिथि । यस दिनलाई कुमार कार्तिकेयको जन्म भएको दिनको रुपमा मनाइन्छ । यो दिनलाई नै नेवारी समुदायहरुले विभिन्न देवी देवताको पूजाआजा गर्ने, देवाली मनाउने तथा सिथि नखः भनि विभिन्न परिकारहरु बनाई भोज खाई विशेष चाडकोरुपमा मनाउने गर्छन् । पौराणिक आख्यान अनुसार भगवान शिवका जेष्ठ सुपुत्रका रुपमा ६ वटा मुख भएको कुमार कार्तिकेयलाई लिइन्छ । स्वस्थानी ब्रतकथा अनुसार तारकासुर दैत्यले भगवानबाट वरदान प्राप्त गरी सकेपछि देवताहरुमाथि नै अत्याचार गर्दा इन्द्रादी देवताहरु इन्द्रलोक नै छोडी भाग्नु परेको उल्लेख गरिएको छ । धेरै समयसम्म सो दैत्यको अत्याचारबाट पिडित देवताहरु उचित समयको पर्खाइमा थिए । उनलाई जो कोहीले बध गर्न सक्दैन थियो किनकी उनले वरदान नै त्यस्तै पाएका थिए । उनलाई केवल शिव पुत्र कुमारले मात्र मार्न सक्दथे । 

माता पार्वतीसँगको विवाहपछि पनि भगवान शिवबाट लामो समयसम्म केही नभएको देखेर देवताहरुले भगवान शिवलाई पुनः स्मरण गराउन अग्निदेवलाई शिव पार्वती काम क्रिडामा लिन भएका बेला पठाए । अग्निदेव पनि जोगीको भेषमा अन्तपुरमा पुगे । यस्तो समयमा आफनो अगाडि अग्निदेवलाई देखेर भगवान शिव  रिसाई श्राप दिन लाग्दा माता पार्वतीले माग्न आएकालाई केही दिएर पठाउनु पर्छ भने पछि भगवान शिवजीले आफ्नो अमोघ विर्य नै दिएछन् । सो अमोघ विर्य अग्निदेवले मुखमा राखि निले छन् । फलस्वरुप अग्निदेव गर्भवती भइन् । यो अनर्थ भयो भनि उनले सो विर्य गंगा किनारमा उकेली दिएछन् । सो विर्य आगो झै बलिरहेको रहेछ । त्यहि बेला सप्त ऋषिका पत्नीहरु गंगा स्नान गरी फर्कदा आगो बलिरहेको देखेर ६ वटी ऋषि पत्नीहरु आगो ताप्न गए छन् एकजना अर्काले बालेको आगो ताप्नु छैन् भनि गइनन रहेछ । आगो ताप्न गएका ऋषि पत्नीहरु गर्भवती भए छन् । 

ऋषि पत्नीहरुले यो कुरा ऋषिहरुले चाल पाउला भनि उनीहरुले सो गर्भलाई गंगा किनारमा नै त्याग गरी दिएछन् । जसबाट ६ मुख भएको बालकको प्रादुर्भाव भएछ । गंगाको किनारमा उत्पति भएकाले गंगापुत्रको रुपमा ती बालकको जन्म भएको मानिन्छ । यी बालकलाई ६ जना ऋषि पत्नीहरु कृतिकाहरुले पालन पोषण गरेका तथा सबै आमाहरु आफुप्रति आकर्षित भएको देखेर उनले छ वटा टाउको बनाएका थिए भनिन्छ । यिनलाई कार्तिकेय, कुमार, स्कण्ड, षडानन, सुब्रह्मण्य, मरुगन,  विशाखा, षण्मुख, गंगासुत, सेनापति षाष्णातुर, आनिसुत आदि नामले प्रतिष्ठित हुनुहुन्छ । हुनत धार्मिक ग्रन्थमा गंगा पुत्र भएकाले गंगेय, पार्बती पुत्र भएकाले स्कन्दकुमार, महादेव पुत्र भएकाले कार्तिकेय भनिएको पनि भनिन्छ । कुमार देवताहरुका सेनापति पनि हुन् । यही बालक कुमारबाट नै देवताहरुले सेनाको नेतृत्व गरी तारकासुर दैत्यको बध गरी सम्पूर्ण लोकलाई दैत्यहरुको अत्याचारबाट बचाएको भन्ने कुरा पुराणहरुमा पनि वर्णित गरिएको पाइन्छ । संस्कृतिविद्हरुको भनाई अनुसार सिथि भन्ने शब्द संस्कृत शब्द षष्ठीबाट नै अपभ्रंसित भई सिथि भएको भनिन्छ । विक्रम सम्वत अनुसार यो जेष्ठ महिनाको शुक्ल पक्षको छैठौ दिनमा पर्ने भएकाले यसलाई कुमार षष्ठी भनिएको हो । जुन दिनलाई कुमारको जन्मदिनको रुपमा मनाइन्छ । कुमारलाई वर्षाको देवता अर्थात् जल देवताको रुपमा पनि मानिएको छ । यस दिन दुष्ट आत्माहरु, रोगव्याधीबाट बच्न तथा आफ्नो कूलको रक्षा गर्न पनि कुमारलाई कूल देवताको पूजा गर्ने गर्दछन् । परापूर्वकालदेखि संस्कृतिको धनि नेवार समुदायले ऋतु परिवर्तनसँगै विभिन्न खाले जात्रा र पर्वहरु मनाउँदै आइरहेका छन् । हिन्दुहरुको धेरैजसो चाडपर्वहरु हिन्दु धर्मग्रन्थहरुमा आधारित कथाहरु अनुसार हुने गर्दछन् । नेवार समुदाय आफै पनि चाडपर्व जात्राको लागि प्रख्यात छ । यिनीहरुको हरेक पर्वहरु विशेष पौराणिक र साँस्कृतिक महत्वका हुन्छन् । 

काठमाडांै उपत्यकाका आदिवासी नेवा समुदायका विभिन्न संस्कृतिहरु मध्ये एक महत्वपूर्ण पर्व हो सिथिनख । यो पर्व काठमांडौ उपत्यका, पनौति तथा काठमांडौ उपत्यकाबाट विभिन्न कालखण्डमा विभिन्न कारणले देशका अन्य भागमा स्थापित भएका नेवारहरुले जेष्ठ शुक्ल पक्षका दिन मनाउने गर्दछन् । गर्मीको मौसममा जताततै मूल सुक्ने पानी कम आउने हुन्छ त्यसैले पहिले पहिलेका पूर्खाहरुले यस्ता मूल, पोखरी, धारा, पानीका श्रोतका मुहानहरु सफा गरी राख्दथे । ताकि बर्षा लागे पछि पानी सजिलैसँग जम्मा हुन सकोस् भनेर । पहिले आजको जमाना जस्तो घर–घरमा धारा थिएन घरमा पानी आउँदेन थियो । पानीको श्रोत नै यस्तै कुवा, पोखरी, ढुंगेधारा आदि हुन्थे । तर आजभोलि घर–घरमा जसो धारा भएकाले पनि यस्ता कुवा, ढुंगे धाराको वास्ता गरिदैन । वास्तवमा मनसुनलाई स्वागत गर्न नै कुमारको जन्मदिन मनाइएको भनिन्छ । त्यसैले यस दिन कुवा इनार आदि जलाशय र देवालयहरुको सरसफाई मर्मत आदि गरी उत्सवकारुपमा मनाउने गर्दछन् । विश्वास गरिन्छ कि यसरी पानीको श्रोत सरसफाई गरिएमा राम्रो वर्षा हुन्छ तथा राम्रो फसलको उत्पादन हुन्छ । यस दिनलाई विउ छर्ने खास समयको रुपमा पनि मानिन्छ । कसैले यसै दिनलाई कूल पूजाको रुपमा पनि मनाउने गर्दछन् । यस दिन काठमाडौं उपत्यकावासी मुहान सफा गर्ने, छ थरिका गेडागुडीको रोटी बनाई तथा सिठीद्योे कुमारको पूजा गरी मनाउने तथा भोज खाने चलन रहको छ । नेवार समूदायले आफ्नो प्रमुख चाड सिथिनख वर्षा ऋृतु शुरु हुनु पूर्व विभिन्न परिकारहरु तयार गरी मनाउने चाड हो । हुनत आजभोलि विश्वव्यापी तापक्रम बृद्धि भएका कारण मौसममा धेरै परिवर्तन आइसकेको छ  । बर्षा कुनै बर्ष अलि छिटो हुन्छ त कहिले ढीलो तैपनि सिथिनख आफ्नै तिथिमा हुने गर्दछ र त्यही अनुसार नेवार समुदायले आफ्नो चाड मनाइरहेका छन् । पुराण अनुसार कुमारको छ वटा टाउको भएकाले यो चाडमा पनि छ प्रकारका खाद्यवस्तु  बनाई पूजा गरी भोज खाने चलन रहेको छ । षष्ठी अनुसार छ थरीका पूजा सामग्रीहरुको प्राधान्य रहन्छ । छ वटा पात भएको कमलको फूल, मास, मुगी, केराउ, चामलको पिठो, गहुँको रोटी कुमकुम आदिबाट छ प्रकारको रोटी, छ थरीको तरकारी, छ थरीको व्यञ्जन बनाई कुमारलाइ चढाई पूजा गरिन्छ । नेवारहरुको कुनै–कुनै पुराना घरहरुको मूलढोकाको अगडि भूइमा सानो मण्डप बनाइएको हुन्छ जसलाई पिखालखु भनिन्छ । कुमारलाई सिथिद्यो पिखालखु भनिन्छ । अन्य देवी देवताको पूजा गर्न जानु अगाडि पिखालखुमा सानो भए पनि पूजा गर्नु पर्दछ । यो पूजा गर्नु भनेको कुमारको पूजा गरिएको हो ।

मौसम अनुसार विभिन्न पर्वहरुमा परिकार बनाएर खाने नेवारहरुको चलन नै हो । समय अनुसार चाडपर्व र त्यही अनुसारको परिकार खाने चलन छ । तथा पकाउने परिकारको पनि छ्ुट्टै पौराणिक महत्वका हुन्छन् । गर्मी  मौसमलाई ध्यान दिई नेवार समुदायले सिथिनखका दिन सजिलो पचाउन सकिने र स्वास्थ्यलाई फाइदा पुयाउने परिकारको रुपमा बारा बनाएर खाने चलन छ । यसैले पनि यस पर्वलाई बारा खाने र खुवाउने पर्वको रुपमा लिइन्छ । मासलाई पिसेर विभिन्न स्वाद अनुसार बनाइएको एक प्रकारको रोटी हो बारा । त्यस्तै गरी चामलको रोटी  जसमा अण्डा तथा मसिनो पारी बनाइएको किमा मासु राखी बनाइएको तथा साधा चामलको रोटी चटामरीका साथै अन्य विभिन्न परिकारहरु बनाउँछन् । सिथिनखको दिन शुद्ध भई कुमार, कुलदेवता र नव दुर्गा भवानी र शक्तिपीठहरुको पूजा गर्दछन् । भगवान कुमारको छ वटा शीर भएकाले यो चाडमा छ प्रकारका  खाद्य वस्तु बनाई पूजा गर्नु पर्छ भनिन्छ । त्यस्तै गरी षष्ठि अनुसार छ थरिका पूजा सामग्रीहरुको प्राधान्य छ । छ वटा पात भएको कमलको फूल, मास, मुगी, केराउ, चामलको पिठो, गहुँको  रोटी आदि व्यञ्जनका साथ सिथि देवताको पूजा गर्दछन् । तानसेनमा बसोवास गर्ने नेवारहरुले पनि प्रत्यके वर्ष आफ्नो गच्छे अनुसार सिथिनख मनाउँदै आइरहेका छन् । 
    यहाँका नेवारहरु खेतिपाती गर्दैनन् तर व्यापार व्यवसाय गर्छन् । यस दिन कतिपयले कुमारको मूर्तिसंगै भीमसेनको मूर्ति पनि राखि पूजा गर्दछन् । भीमसेनलाई व्यापार व्यवसाय रक्षा गरी दिने भगवानको रुपमा पूजा गर्ने चलन छ । त्यसैले कुमार र भीमसेन नेवार समुदायको प्रमुख देवताको रुपमा मानिन्छ । आफ्नो परिवारको संख्या हेरेर बोका, हाँस कुखुरा बलि दिने चलन पहिले पहिले भएता पनि आजभोलि सो चलन विस्तारै हट्दै गएको छ र यसको सट्टामा कुभिन्डो वा नरिवल चढाई  पूजा गर्दछन् । पूजाको समाप्ति पछि आफ्ना विवाहित चेलीवेटीहरुलाई पनि बोलाई सकल परिवार बसी भोज खाने गर्दछन् । यसको अलावा कसैले यसदिनलाई आफ्नो कुल पूजा गर्ने दिनको रुपमा पनि लिई कुललाई विधि पूर्वक पूजाआजा गर्दछन् । कुलदेवताको  रुपमा देवीदेवताको पूजा गरी समयबजि ,चिउरा, स्याबजि, चटामरी, बोडी, कालो भटमास, लसुन, अदुवा, माछा, मासु, बारा, अण्डा, रक्सी, फलफूल रोटी, लड्डु, पेडा विभन्नि व्यञ्जन समेतमा भोज आदि चढाउने र खाने गरिन्छ । पूजा गर्ने चलन आ–आफनो तरिका भएततापनि मूलतः यसको उद्देश्य संस्कृतिको संरक्षण नै गर्नु हो जुन परम्परा देखि चल्दै आएको छ ।

पहिला–पहिला टक्सारका बासिन्दाहरुको नुहाउने ढुंगेधारा होलन्दी, पहरा धारा, काजी धारा तथा तल्ला टोलका स्थानीयहरु  तीनधारा, भैरव धारा, पोखरी धारा, पोँहलधारा आदिमा गई पानीको मुहान तथा यताउता सफा गर्ने गरेको अग्रजहरु बताउनु हुन्छ तर आजभोलि यो चलन हराएर गै सक्यो । यी ढुंगेधाराहरु जमानादेखि बगिरहेका छन् । सुख्खा मौसममा पानीको मात्र अलि कम भएता पनि बर्ष लागे पछि पुनः मजाले पानी आउने गर्दछ । हुनतः आजकाल तानसेनका सडक गल्ली जताततै ढलान भएका छन् पीच भएका छन् जसले गर्दा बर्षाको पानी रिचार्ज हुन पाउँदैनन भने अर्को तिर पानीको मूलको माथिल्लो भागमा घर निर्माण गर्दा पनि कतिपय मूलहरु दविएका छन् जसले गर्दा ति धाराहरुमा खासै पानी आउँदैनन् । खासमा सिथिनख काठमांडौ उपत्यकाको पारम्परिक आदि चाडपर्ब हो । यसरी पुरानो इतिहासमा चर्चित र जनजीवनसँग सम्वद्ध सिथि पर्वले बर्षैपिच्छेै नेपालमा सर्वत्र व्याप्त फोहोरमैलाको साम्राज्यलाई हटाई सफा सुग्घरको साम्राज्य स्थापित गर्ने शिक्षा दिन्छ । त्यसैले सिथिनखलाई वातावरणिय चाडको रुपमा पनि लिइन्छ । अस्तु ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update