Shittalpati
नर्स दिवसको सार्थकता

विश्व नर्स दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाइन्छ । फ्लोरेन्स नाइटिङ्गेल, जसले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सेवा प्रदान गर्नुका साथै निःस्वार्थ भावनाका साथ बिरामीहरूको सेवा गरेकी थिइन् । त्यसैले यस अवसरलाई नर्सिङ क्षेत्रमा आधुनिक र व्यावसायिक नर्सिङ सेवाको नयाँ मोड पनि मानिन्छ । उनले सन् १८६० मा लन्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिङ कलेज पनि सञ्चालन गरेकी थिइन् ।

यो दिवसलाई शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । यो दिवस मनाउँदै गर्दा कोरोना महामारीका बेलामा ज्यानको प्रवाह नगरी होमिएका ति नर्सहरुको सम्मान गर्नु नै पर्छ । जतिबेला कोरोना संक्रमणका विरामीहरुले अस्पताल तथा स्वास्थ्य संस्थाका शैयाहरु भरिएका थिए त्यति बेला तिनै संक्रमितलाई बचाउने प्रयास गर्दा कतिपय नर्सहरु संक्रमित भए भने कतिले त मृत्युवरण समेत गरे । आफ्नो सुरक्षाको पर्वाह नगरी सेवा प्रदान गर्नमा लागिपरेका सम्पूर्ण चिकित्सा सेवाकर्मीहरूको जति नै प्रशंसा गरे पनि कमै होला । त्यसैले विश्वव्यापी महामारी बनेको कोभिड–१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारणले पनि नर्स दिवसको महत्व अझै बढेको छ । त्यस्तो कठिन समयमा पनि आफ्नो स्वास्थ्य, घर परिवारको चिन्ता नगरी आफ्नो कर्तव्य निष्ठाका साथ पालना गरी बिरामीको सेवा गर्नमा तत्पर थिए र अहिले पनि छन् । अझै पनि कोरोनाको जोखिम यथावत् नै रहेको हुनाले जोखिम फ्रन्टलाइनमा खट्ने कर्मचारीलाई नै बढी छ । त्यसैले नर्सको नेतृत्व गर्ने संस्था नेपाल नर्सिङ संघका पदाधिकारीहरूले दिवसको ‘सेलिब्रेसन’ गर्ने मात्र नभई उनीहरूको हकहितका लागि लड्नुपर्ने, नयाँ–नयाँ कार्यविधि तथा कार्ययोजनाहरू बनाई यस पेसामा संलग्न सम्पूर्ण कर्मचारीको हक सुरक्षित गर्नुका साथै भविष्य समेत सुनिश्चित गर्ने कार्यविधिहरू अपनाउनुपर्छ । यसो भयो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update