Shittalpati
साँघुरिदै तानसेनका जात्रा

मदन देउराली
वर्षको अन्तिम दिन र वर्षको पहिलो दिन जात्रा हुने शहर नेपालमा एउटै छ त्यो हो तानसेन । हो तानसेनमा वर्षको अन्तिम दिन अर्थात् चैत्र मसान्तको दिन टक्सारटोलस्थित काल भैरवको जात्रा हुन्छ भने त्यसको अर्को दिन अर्थात् वर्षको पहिलो दिन नयाँ वर्षको दिन अमरगंजस्थित बटुक भैरवको जात्रा हुन्छ । पहिला–पहिला दुवै जात्राहरु एकैदिन हुन्थ्यो रे । यसरी एकैदिन जात्रा हुँदा रथयात्रा बजार परिक्रमा गर्ने क्रममा एक आपसमा भेट भयो भने घमासान झगडा हुन्थ्यो रे । त्यसैले एकदिन अगाडि पछाडी गरिएको भनिन्छ । भगवान शिवको अर्को रुप हो, भैरव । जुन अत्यन्त रौद्र डरलाग्दो, क्रोधित तथा तमोगुणले भरिपूर्ण रहेको छ ।

महाकाल भैरवलाई मृत्युको देवता, संहारका देवता तथा कालको काल महाकाल पनि भनिन्छ । त्यस्तै गरी काल भैरवको बाल रुपलाई बटुक भैरव भनिन्छ । भैरवको विभिन्न रुपहरु मध्ये बटुक भैरव पनि एक रुप हो । शक्ति समागम तन्त्र अनुसार प्राचिन समयमा आपद नामक एक दैत्यले भगवानको ठूलो तपस्या गरी अमरत्व प्राप्त गरे । अमर प्राप्त भएपछि आफ्नो शक्तिको कारण उसले देवता तथा ऋषिमुनिहरु सबैलाई अत्यन्त दुख दिन थाले । उनको अत्याचार बढ्दै गएपछि देवताहरुले यस आपद नामक दैत्यको अन्त्य गर्न भगवान् शिवको आराधना गरे । भगवान शिव प्रसन्न भई उनको दैविक शक्ति उनीहरुका सामु प्रकट भए । यो दैविक शक्ति थियो बटुक भैरबको पाँच बर्षको सानो बच्चा । यस सानो बच्चालाई सबै देवताहरुले आ–आफ्ना शक्ति प्रदान गरे । जसबाट त्यो सानो बच्चा सबैको आशिर्वादले अदृष्य भए । त्यस पछि सो बटुक भैरवले आपद नामक त्यो दैत्यलाई मारि दिए र देवताहरु पनि आपद दैत्यको अत्याचारबाट मुक्त भए । यस प्रकार आपद नामक दैत्यलाई मारेको हुनाले बटुक भैरवलाई आपद् उद्धारक देवता पनि भनिन्छ । त्यसबेलादेखि कसैलाई कुनै समस्याहरुबाट पार पाउन छ भने भगवान् आपद उद्धारक भैरवको आराधना गर्ने गरिन्छ । काल भैरव मन्दिर टक्सारटोलमा यादवेन्द्र जोशी तथा कमलानन्द जोशीको बारीमा रहेको थियो तर अहिले यो मन्दिरलाई बारीबाट अलग बनाइएको छ । भनिन्छ पहिले केवल एउटा ढुंगालाई भैरव देवता मानि पूजा गरिन्थ्यो रे । वि.स.२०१० सालमा टक्सारटोलका सबैजना मिलि विधिवतरुपमा काल भैरवको हालको मूर्ति बनाई मन्दिर प्रतिस्थापित गरिएको हो रे भनिन्छ ।

त्यसबेला तानसेनलाई काठमाडौंको भाइ भन्ने गरिन्थ्यो । यसकारण कि काठमाडांैमा हुने जात्रा चाडपर्वहरु सबै तानसेनमा पनि त्यही रुपमा वर्षदिनभरि नै हुने गर्दथ्यो । पहिला तानसेन नेवारी बस्ति थियो । जात्रा चाडपर्व मनाउनेमा नेवारहरु अग्रपत्तिंmमा थिए । तर एकातिर विस्तारै नेवारहरु तानसेनबाट पलाएन हुने अर्कोतिर अग्रजहरुको निधनले गर्दा जात्रा चाडपर्वहरु पनि साँघुरिदै गए र अहिले त यस्तो स्थिति आइसक्यो कि जात्रामा भजन गाउने बजाउने जनशक्ति नै छैन । जात्रा केवल परम्परा धान्नलाई मात्र चलाइएको जस्तो भइसक्यो । जुन रौनक जात्राहरुमा हुन्थ्यो अहिले छैन् । गएको फागुन महिनामा शितलपाटीको भीमसेनको जात्रा त भयो तर भजन नै थिएन, दुई चारजना यसो रथको अगाडि पछाडी थिए त्यति हो । न भजन न भजन गाउने बजाउनेहरु । रथको अगाडि बजाइने ढोलक र झ्याली बजाएको आवाजबाट जात्रा आएको भनेर बल्ल थाहा पाउनु पर्ने स्थिति भयो । जात्रामा भक्तजनहरुले गाउँदै हिड्ने भजनको सट्टटामा साउण्ड सिष्टमको भजन बजाएर जानु पर्ने भैसक्यो । हुन पनि तानसेनमा अहिले पुराना दाफा भक्ति भजन गाउने दुईवटा संस्था मात्र छन् । एउटा श्री रणउजीरेश्वरी भगवतीको भजन खल जुन केवल भगवती जात्रामा मात्र रथ संग लाग्छन । यस्मा अध्यक्ष बाहेक खासै गाउने बजाउने कोही छैन भने पनि हुन्छ । अर्को तानसेन भजन संरक्षण समिति हो । यो संरक्षण समितिसम्म प्रत्येक जात्रामा सहभागी हुन्छन् । यसमा पनि खासै ती पुराना दाफा भजन गाउन जान्नेमा टक्सारटोल निवासी र हाल भजन संरक्षण समितिका अध्यक्ष अग्रज दाजु मंगलप्रसाद बज्राचार्य मात्र छन् । अरु उहाँले गाएकोमा टिप्दै गाउँने हो तै पनि एक÷र्दुइ जना उहाँलाई साथ दिन सक्छन् र हामी बजाउन मा सहयोग गर्छौं । रथ यात्रा गर्दा मृदंग बजाइन्छ तर मृदंग बजाउन जान्ने अहिले कोही पनि छैन । त्यसैले मृदंग बजाउन छोडिसकेका छन् ।

प्रत्येक शनिबार विहान भगवती मन्दिर परिसरमा दुबै समूहले नियमितरुपमा भजन गाउने गर्दछन् । यहाँ गाइने भजन विभिन्न भाषामा छन् । नेवारी, नेपाली, हिन्दी, भोजपुरी, मैथिली आदि । सबै भजनहरु विभिन्न रागहरुका साथै तालहरुमा बनाइएका छन् । जुन सबैले न त बुझछन् न त गाउन नै सक्छन् । त्यस्तै बजाउने जनशक्ति पनि छैन् । यस्ता पुराना दाफा भक्ति भजनहरु सिक्न आजका कोही युवाहरु इच्छुक छैनन् । जसले गर्दा रथयात्रामा भजन गाउने हराउँदै गइरहेको छ । स्थानीय सरकारको संस्कृति संरक्षण गर्ने भन्ने मौखिक रटानमा छ तर कसरी गर्ने भन्ने तिर चासो छैन । रथयात्रामा भजन गाइनाले रौनक नै अर्को हुन्छ । पहिला पहिलाका अग्रजहरु मृदंग सहित रागमा आधारित भजन गाउँदै रथयात्रासँगसँगै हिड्थे तर विस्तारै गाउने जनशक्ति नभएपछि सजिलो खालको एउटै भजन ढोलकको भरमा गाउन थालियो अहिले त्यो पनि छोडियो । अहिले कुनै कुुनै जात्राहरुमा जस्तै श्री रणउजीरेश्वरी भगवती रथयात्रामा, टक्सार गणेश रथयात्रामा, बुद्ध जयन्तिमा, भीमसेनजात्रामा, भैरव जात्रामा मात्र भजन गाइन्छ भने पनि हुन्छ । त्यसको लागि पनि तानसेन भजन संरक्षण समितिका सदस्यहरु जानु पर्छ नत्र त्यो पनि हुँदैन । अरु रथयात्रामा पहिला–पहिला हुने गरे पनि अहिले विस्तारै छोडिदै गइरहेका छन् । यसरी भजन बिनाको रथयात्रा हुँदै गईरहेको छ । हुन पनि गाइजात्रामा हुने गरेका भजनहरु पनि अहिले केवल साउण्ड सिस्टमामा हे राम भजन बजाउँदै जाने चलन भैसकेको छ । गाइजात्राको दिन मृतक परिवारबाट भजन, निगुण, रामायण गर्ने चलन थियो । यस्ता भजन निर्गुण रामायण आदिको तालिम गर्न समय पनि धेरै चाहिने, आवश्यक सामग्रीको जोहो गर्नेका साथै आर्थिक स्थिति बलियो भएका परिवारहरुले मात्र गर्न सक्दथ्ये । किनकी रामायण गर्न एक महिना तालिम दिनुपर्छ गाउनलाई नै करिब ३०/३५ जना गायकहरु चाहिन्छ ।

तालिम अवधिभर नास्ता खुवाउनु पर्छ । गाइजात्राको दिन सबैलाई सेतो पहिरन लगाउनु पर्छ  । जुन सोही परिवारले व्यवस्था गर्नु पर्छ । रामायण रातभरि विहानसम्म गाउँदै हिडनु पर्छ । फेरि त्यसबेला वर्षात्को बेला पर्दछ । केही गरी पानी पर्यो भने अर्को दिन फेरि गर्नुपर्छ । निर्गुण गर्न कम्तिमा पन्ध्र दिनको तालिम गर्नु पर्छ । निर्गुण विहान दिउँसो गरिन्छ । यसमा पनि डे«सको व्यवस्था गरिन्छ तर यो गायकहरु आफै आफै गर्दछन् । यस्तो चलन अरु ठाउँहरुमा गरिदैन त्यसैले यसको महत्व नै अर्के हुन्थ्यो । तर अहिले रामायण त हुँदै हुँदैन निर्गुण पनि छोडिदै गइरहेको छ । रोपाईजात्राका लागि जनशक्ति धेरै चाहिने सो अनुसार खर्च व्यवस्थापन गर्न नसक्ने भएर रोपाई जात्रा हुन पनि छोडिसक्यो, बाघ जात्रा नभएको वर्षौ भइसक्यो । यसरी भएका जात्राहरु क्रमश रौनकविहिन हुँदै जानु र हुने गरेका जात्राहरु पनि सांगुरियर गईरहेका छन् । अब कसरी तानसेनलाई सांस्कृतिक सहर भन्ने । पर्यटकहरुलाई देखाउन लायकका कतिपय जात्रा चाडपर्वहरु पनि एकातिर आर्थिक अभाव अर्कोतिर जनशक्तिको कमीका कारण लोप हुँदै गइरहेका छन् । पहिला–पहिला यस्ता जात्रा चाडपर्वहरुमा नेवारहरु घर–घरबाट स्वफूर्तरुपमा सहभागी हुन्थे । आफै त्यस्ता जात्रा चाडपर्वमा अभिनय गर्थे । अब त्यो चलन छैन । आजकाल जात्रा गर्ने नेवारहरु छैनन् । अन्य जातिकाहरुको सहयोग लिनु पर्छ उनीहरुलाई त्यस्ता नेवारी चलनहरु थाहा हुँदैन । किनकी देखेका नै हँुदैनन् । त्यसैले पहिला जस्तो हुन सक्दैन । अर्को उनीहरुलाई गराउन पनि टन्न पारिश्रमिका नदिइकन कोही मान्दैनन । संस्कृति संरक्षण गर्ने जिम्मा स्थानीय सरकारको हो तर त्यताबाट पनि उचित सहयोग नपाउँदा गर्न चाहनेहरु पनि निराश भएका छन् । अब जात्रा चाडपर्वहरु पनि कुनै दिन एकादेशको कथा हुन के बेर । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update