Shittalpati
परियार समुदायकोे एकता र पाल्पा गुठी

तीर्थप्रसाद गौतम
पृष्ठभूमी :
परियार समुदायलाई दमाई, ढोली आदि नामले पनि चिनिने गरिन्छ । सुदुर पश्चिममा ढोली, आउजी, हुड्के आदि विशेषणवाट पनि चिनिन्छन् । पूर्विय दर्शन मान्नेहरु या हिन्दु धर्म मान्नेहरुले मन्दिर या पूजा स्थलमा नगरा, ढोल, दमाहा आदि बजाएर पुजा गर्ने चलन छ । विशेषत : दमाहा बजाएको हुनाले दमाहाको अपभ्रंश भई दमाई भन्ने चलनको शुरुवात भयो भन्ने, मिथक छ । आज पनि सुदुरपश्चिम तिर विवाहमा ढोल बजाउनेलाई ढोली, शहनाई बजाउनेलाई आउजी र वीरगाथालाई गीतको भाकाहाली कथा बाच्नेलाई हुड्के भन्ने प्रचलन छ । त्यस्तै कपडा सिलाउने पेशा गर्ने हुनाले सुचीकार भन्ने पनि गरिन्छ । कपडा सिलाउने र बाजा बजाउने सेवामूलक काम गर्ने हुनाले शुद्र वर्णमा गणना गर्ने पनि चलन छ । यो त सुन्दै आएको मिथक हो । यस्को कुनै प्रमाणिक तथ्यहरु भेटिदैनन न त धार्मिक ग्रन्थहरुमा पनि यस्को कतै उल्लेख नै छ । तसर्थ यस्को कुनै तुक छैन यो त सामजिक प्रचलनमा रहेको एक अन्धविश्वासको परम्परा मात्र हो, भन्न सकिन्छ ।

वैदिक धर्मग्रन्थले सिो मानव समुदायलाई ४ वर्ण/रङ्गमा विभाजन गरेको छ । सेतो, पहेलो, रातो र कालो । सेतो रङ्गका आर्य, पँहेलो रङ्गका मंगोल, रातो रङ्गका द्रविड र कालो रङ्गका आष्ट्रिक या निग्रो । जनजातिय दृष्टिकोणले अध्ययन गर्ने हो भने पनि मौलिक भाषा, भेषभुषा, जन्म र मृत्यु संस्कार, शारीरिक बनावट आदिले वर्ण निर्धारण गर्दछ । नेपालमा यसो हेर्दा दुई थरी रङ्गका मानिसहरु देखिन्छन् । सेतो रङ्गका आर्य र पहेलो रङ्गका मंगोल । रातो वर्णका द्रविड र कालो वर्णको आष्ट्रिक या निग्रोको अस्तित्व स्पष्ट रुपमा देख्न सकिदैन । शीरमा शिखा राखी सुत धारण गरेका गोरो वर्णका मानव समुदायलाई आर्य भन्ने प्रचलन देखिन्छ । शिखा राख्ने या नराख्ने वा सुत धारण नगर्ने जतिलाई मतवाली भन्ने गरिन्छ । यहि अभ्यासका आधारमा कथित दमाईहरुलाई शुद्र÷कथित दलितको रुपमा परिभाषित गर्दै आइरहेको छ । समाज व्यवस्थाको नियमानुसार यो त्यति तर्क संगत देखिदैन । कथित दमाई÷परियारहरुको पनि खशआर्यको मूल भाषा खश भाषा नै मातृभाषा हो । खश आर्यको जन्मदेखि मृत्यु पर्यन्तसम्म चल्ने १६ संस्कारहरु पनि यिनीहरुको मौलिक रितिरिवाज हुन । भेषभुषामा पनि यिनीहरुको मौलिक पहिचान छुट्टै केहि छैन खश आर्यको जे छ, यिनीहरुको पनि त्यहि छ । शारीरिक बनावटका हिसावले पनि खशआर्य र यिनीहरुमा कुनै भिन्नता छैन । प्रायः सो¥ह श्राद्ध गर्दा रौ खौरेर वा रौ छाटेर श्राद्ध गर्ने चलन छ । बुवा आमाको एकोदिष्ट श्राद गर्ने चलन पनि छ । श्राद्ध गर्दा देब्रे काधमा पछ्रयौरा÷बर्को या त्यो भएन भने जुनसुकै धोएर सफा गरेको सेतो कपडा धारण गरी मात्र गर्ने चलन छ । श्राद्ध गर्दा संकल्पको मन्त्र पढ्दा गोत्र सहितको विबरणमा तथाकथित सवर्ण र परियार समुदायमा कुनै भिन्नता हुदैन । तथाकथित बाहुनको पनि कर्म गर्दा भान्जा वा ज्वाईले गर्ने चलन छ साथै परियार समुदायमा पनि त्यस्तै छ । त्यसैकारण परियार समुदाय कसरी मतवाली हुन सक्छ ? सिखा र सुत को प्रयोग बिना कुनै कर्मकाण्ड नगरिने हुनाले यो समुदाय तागाधारी नै हो । विभेदको जननी भनेर चार वर्णको रुपमा ब्राÞमण, क्षेत्री, वैश्य र शुद्रलाई वकालत गर्दै आइरहेकै छ । तराई तिर कर्मकाण्ड र पढाई लेखाई गर्ने झा थर लगायतका ब्रÞमाणहरु, सिंह थर लगायतका क्षेत्रीहरु, व्यापार गर्ने गुप्ता, बनिया थर लगायतका वैश्यहरु र सेवामूलक काम गर्ने पासवान थर लगायतका शुद्रहरु आज पनि समाजमा छन् ।

नेवार समुदायमा पढ्ने पढाउने र कर्मकाण्ड गर्ने जोशी लगायतका थरहरु, राजकाजमा संलग्न हुने मल्ल लगायतका थरहरु, व्यापारमा संलग्न हुने श्रेष्ठ लगायतका थरहरु, सेवामूलक काम गर्ने कुलु च्यामे, पोडे लगायतका थरहरु गरी चारै वर्णका मान्छेहरु देख्न सकिन्छ । तर खश आर्यमा ब्राÞमण, क्षेत्री र शुद्र त देखिन्छ । वैश्य त कतै देखिदैन । वैश्यको रुपमा काम गर्ने जातिहरु त सबैजसोले आफुलाई मंगोल भनेर दावी गरिरहेका छन् । मंगोलहरु त पँहेलो वर्णका अनार्यहरु हुन् । उनीहरुको भाषा, भेषभुषा, कर्मकाण्डका विधि, शारीरिक बनावटको छुट्टै मौलिकता छ । यस्को आधारमा के भन्न सकिन्छ भने पहाडिया हिन्दु वा खश आर्य भित्र जातिप्रथा आयातित विषय हो यदि त्यस्तो हँुदो हो त भन्दै आइरहेको चार वर्णकै समाजमा अस्तित्व हुन्थ्यो तर त्यस्तो छैन । तसर्थः एउटै मानव समुदायलाई विभिन्न समूहमा विभाजन गरी राज्यसत्तामा एक छत्र राज गर्ने मनसुवाल बनाएको विकृत परम्परा मात्र हो, जातिय व्यवस्था ।

पाल्पामा परियार समाज गुठी
तुलनात्मक रुपमा पाल्पा जिल्ला शैक्षिक जगतमा अलि अग्र स्थानमा थियो किनकी दलितहरुले चलाएको घरायशी पाठशाला पनि २÷३ वटा थिए । त्यसैले चेतनाकोस्तर पनि तुलनात्मक रुपमा अगाडि नै थियो । अरु खर्चपर्च त जेनतेन चलिरहेको थियो तर मर्दापर्दा भने आर्थिक चाजोपाजो मिलाउन अति हम्मेहमे थियो । गरिबी र स्वास्थ्यसेवाको अभावले मृत्युदर पनि तुलनात्मक रुपमा अलि वढि थियो । मरणोपरान्त शव विर्सनज गर्न जाने ठाउँ पनि अलि टाढा रानीघाट सम्म जानु पर्ने अवस्था थियो त्यसैले खर्चपर्च अलि वेशी लाग्थ्यो । कहिले काहि घाटखर्चको जोहो गर्न शवकै नाक कानका गहना फुकालेर गर्नुपर्ने । कहिले काहि हातमुख जोर्ने साधन मशिन (कल) बन्धकी राखेर व्यवस्था गर्नुपर्ने अवस्था आउथ्यो । मृत्युदर धेरै भएको कारणले गर्दा धेरै मानिसहरुको मृत्यु हुनु पनि स्वभाविक थियो । एकैचोटी २÷३ वटा मृत्यु घटना एकै वर्ष भित्र भयो भने त परिवारको उठीवास नै हुन्थ्यो । थोरै भए पनि शिक्षा प्राप्त गर्ने अवसर पाएका सचेत युवाहरुबिच यस्तो विषम परिस्थितिबाट कसरी मूक्ति पाउन सकिन्छ भनेर बेलाबेलामा चर्चा चलिरहन्थ्यो ।

तानसेन नेवारहरुको वाक्लो वस्ती र राणाकालिन अवस्था देखि प्रशासनिक केन्द्र भएको हुनाले नेवार जातिमा गुठी र ढिकुडी परम्परा चलनचल्तिमा थियो । घाटखर्च जुटाउन सवैभन्दा सजिलो उपाय गुठी परम्परा हुन सक्छ भन्ने धेरै युवाहरुको निष्कर्ष बन्यो त्यहि निष्कर्षलाई मुर्तरुप दिन स्व.जीवनप्रसाद गौतम, सूर्यप्रकाश दर्नाल, स्व.सूर्यवहादुर गोतामे, सर्वजित दर्नाल, स्व.सूर्यवीर रणपाल,स्व.बाबुराम रणपाल, स्व.घोषलाल गौतम, स्व.पदमसिं गौतम, स्व.इन्द्र बहादुर गौतम, स्व.धनवीर बुढापृथी, स्व.मंगलसिंह कार्की, स्व.वुद्धिमान रणपाल, स्व.कृष्ण बहादुर गौतम, आनन्द प्रसाद वुढापृथी, मानसिं घले, लगायत युवा र अलि पाकाहरुको भेला स्व.जीवनप्रसाद गौतमको घर वस्यो । यो कुरा २०२९ साल पुष तिरको हो त्यति बेला सुर्यप्रकाश दर्नालको जेठी श्रीमति भर्खरै देहावशान भएको थियो । भर्खरै ताजै घटना भएको हुनाले सामुहिक बसाईलाई पनि अलि सजिलो भएको कथन छ । २०२९ सालको चैतेदशैको वेला वनदेवीको भगवती मन्दिरमा मेला लाग्थ्यो । त्यतिवेला तानसेनमा व्रास वैण्ड प्रचलनमा थियो सोही वैण्डले मेलामा वाजा वजाई ३००/– प्राप्त गरेको थियो । त्यो तिन शय रुपिया र प्रत्येक घरधुरीबाट रु.दशका दरले ५७ घरधुरीबाट पैसा उठाई घाटखर्च वापत रु एकसय उपलव्ध गराउने मौखिक सहमति गरी यो संस्थाको न्वारन भयो त्यसैले यस्को जन्म दिन २०२९ चैत्राष्टमी भएको हो । तर धर्म गुहारको रुपमा गुठी परम्परा धेरै पहिले देखि प्रचलनमा थियो त्यस्को आधिकारिक तिथिमितिको उल्लेख गर्न सकिदैन किनकी यो हाम्रो जीवन पद्धति थियो । अनुदान पनि उपलव्ध गराउने गरी व्यवस्थित रुपमा सञ्चालन भएको मितिलाई आधिकारिकता मानेको मात्र हो ।

२०३० साल वैशाख महिना तिर सिल्खान निवासी देवकी भन्ने महिलाको निधन भएको थियो उनी एकल महिला थिईन् त्यसैले उनको दाहसस्ंकार र क्रियाकर्मको सवै जिम्मेवारी गुठीले लिन पर्ने अवस्था आयो । क्रियाखर्चका लागि उनीसंग रहेको सुनचादीका गहनाहरु विक्री भएका थिए त्यो गहनाबाट प्राप्त भएको पैसाले सबै खर्च जुट्नुका साथै केहि पैसा बचत पनि भएको थियो । जसले गर्दा गुठीको मूल पूँजीमा थोरै वृद्धि भएको थियो । वि.स.२०३० साल वैशाख १२ गते वसेको समितिको वैठकले प्रस्तावित विधान पारित गरी लागु ग¥यो । पहिलो कार्यसमितिको रुपमा सभापति जीवनप्रसाद गौतम, कोषाध्यक्ष सूर्यप्रकाश दर्नाल, सदस्यहरु बावुराम रणपी, सुर्यबहादुर गोतामे, सुर्यवीर रणपी र सर्वजीत प्रसाद दर्नाल रहेको छ सदस्यीय कार्य समितिले काम गरेको अभिलेखबाट देखिन्छ । गुठीमा आवद्ध परिवारको सदस्यको मृत्यु हुँदा परिवारलाई रु १००/– (अक्षरुपी एक सय) का दरले संस्कार खर्च वापत आर्थिक अनुदान दिने व्यवस्थाको शुरुवात भयो । त्यतिवेला गुठी भित्र ५७ घरधुरी सदस्य संख्या रहेको अभिलेखले देखाउछ । त्यति बेला यो संस्थाको नाम मृत्यु संस्कार समिति थियो । २०३१/२०३२/२०३३ साल तिर मृत्युका घटनाहरु एकैचोटी धेरै वटा हुँदा बचत रकम पुरै सकियो घाट खर्च दिन नसक्ने अवस्थाको सिर्जना भयो समितिले धर्म गुहार बाहेक अरु काम गर्न सकेन ।

२०३४ साल देखि २०३८ सालसम्म धर्म गुहारमा मात्र सिमित भएको अभिलेखहरुले देखाउँछ । २०३६ सालको आन्दोलनका प्रभावले होला युवाहरुमा जागरण पैदा भएको थियो । २०३८ तिर तत्कालिन सचेत युवाहरु स्व.शिरुप्रसाद गोतामे, स्व.भरत परियार, गोपाल वुढापृथी, तारा बहादुर गौतम, दिपक कोइराला, ईन्द्रजित दर्नाल, स्व.केशव गौतम, राजकुमार रणपाल, स्व.रामप्रकाश दर्नाल, स्व.विनोद कार्की (दलबहादुर), सन्तबहादुर कोईराला लगायतका युवाहरुको पहलमा आर्थिक संकलन गर्ने कार्य भयो र पूरानै संरचनामा काम अघि बढ्यो । मृत्यु सस्ंकारको काममा मात्र सिमित नभई सामाजिक क्रियाकलाप समेतमा उपस्थिति जनाउने गरी काम अघि बढेको देखिन्छ । २०३८ सालदेखि परियार समाज गुठी नामाकरण भएको थियो । २०३८ सालदेखि निरन्तर रुपमा मृत्यु संस्कारमा निर्धारित रकम अनुदान दिने, विपद पर्दा आर्थिक तथा भौतिक सहयोग गर्ने एवम सामाजिक रुपान्तरणको अभियानमा भूमिका निर्वाह गर्दै आईरहेको छ ।
(लेखक परियार समाज गुठी पाल्पाका अध्यक्ष समेत हुन् । )

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update