Shittalpati
श्री महादेवको भिन्न रूप : पिशाच चतुर्दशी

मदन देउराली
पौराणिक कथाहरु अनुसार कहिले काही देवी देवताहरुलाई पनि कठिन अवस्था आइपर्ने रहेछ भन्ने एउटा ज्वालन्त उदाहरण हो पिशाच चतुदर्शी । नेपाल उपत्यकामा नेवार समुदायहरु यस दिनलाई पाँहा चन्हे अर्थात् पाहुना सत्कार गर्ने पर्वकारुपमा मनाउँछन् । देवी देवताहरु मध्ये भगवान् श्री महादेव अति क्रोधित देवताको रुपमा साथै अति सरल, भोलाको रुपमा मानिन्छन् । त्यसैले उनलाई भोलेनाथ पनि भनिन्छ । एकपटक भष्मासुर नामक राक्षसले श्री महादेवको घोर तपस्या गरेछ । उनको तपस्याबाट श्री महादेव प्रशन्न भई आफुले चाहेको वर माग्न भने छन् । सो राक्षसले पनि जसको शिरमा हात राख्छु भष्म भएर जाओस् भनेर मागेछन् । भगवानले पनि तथास्तु भनिदिए छन् ।

वरदान पाए पछि यसको परीक्षण गर्नलाई आफ्नो अगाडि भगवान श्री महादेवलाई नै देखि उनकै शिरमा हात राख्न जाइलागे छन् । त्यो देखेर भगवान श्री महादेव डराएर भाग्दै जाँदा फोहोरको थुप्रो रछ्यानमा लुके छन् । उक्त कुरा भगवान श्री विष्णुले थाहा पाई तुरुन्त मोहिनी रुप लिई भष्मासुरलाई विभिन्न नृत्य मुद्रामा भुल्याई आफनै शिरमा हात राख्न लगाई भष्म गराए छन् । पछि भगवान श्री महादेवलाई रछयानबाट निकाली सफा गरी पवित्र बनाई पूजा गरे छन् । त्यसदिनदेखि यस दिनलाई पिचाश चतुर्दशी भन्ने गरिएको तथा यसरी लुकेर बसेको लुकुवा महादेवको पूजा गर्न थालिएको पाइन्छ । काठमाडौंका नेवार समुदायले भूत प्रेत पिचाशबाट मुक्तिका लागि यस दिन आफ्नो घर आगन सफा गरी फोहोर फ्याकिएको ठाउँमा लुकेर बसेको महादेवलाई आÞवान गरी जाँड रक्सी लसुन, अदुवा, मासु आदि राखी महादेवलाई चढाई विधिपूर्वक पूजा गर्दछन्, प्रसाद लिने गर्दछन् तथा भोज खाने चलन समेत रहेको छ । महादेवले माँसाहारको लागि पिचाश रुप लिएकाले यस दिनलाई पिचाश चतुर्दशीको रुपमा मनाउने गरिएको पाइन्छ ।

अर्को किंबदन्ति अनुसार माता पार्वतीे भगवान श्रीमहादेवकी अर्धागिनी शक्तिकि देवी दुर्गा पनि छन् । उनलाई पूजा आराधना गर्दा मद्यपान, माँसले पूजा गरिन्छ तर भगवान श्री महादेवको पूजामा माँस, मद्यपान राखिदैन । एकदिन माता पार्वतीले भगवान श्री महादेवलाई आफु उनको अर्धागिनी भएको र विभिन्न अवसरमा मद्यपान, माँसको सेवन गरेको तर तपाई भने यसरी मद्यपान नगर्ने, माँसको सेवन नगर्दा आफुलाई अफठ्यारो भएको बताउँछन् । त्यो सुनेर भगवान श्रीमहादेवले पनि तोरी फुलेको खेतमा मूलाको फूलको बोटमा लुकेर पिशाचरुप धारण गरी सुटुक्क मद्यपान, माँस तथा अन्य खानेकुरा खाएर पार्वतीलाई देखाएको भनिन्छ । यस दिन महादेव (लुकु महाद्यो ) लाई मासु, रक्सी, जाँड, लसुन आदि चढाइ पूजा गर्ने तथा अजिमाहरुको दर्शन गरेमा सिद्धि प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । यसरी माँसाहारको लागि महादेवले पिशाच रुप लिएकोले यस दिनलाई पिशाच चतुर्दशी भनि मानिएको पाइन्छ । यो पूजा साँझपख गरिन्छ । पूजा पछि भोज खाने चलन पनि छ । लुकुँवि अर्थात् सूर्यास्त पछि गरिने पूजा भएकाले लुकुमहाद्यो भनिएको पनि पाइन्छ ।

यस दिन पिशाच रुपि भगवान शिबको पूजा आराधना गरी विशेष भोज चढाइन्छ । यस पर्वले हाम्रा वरपर घुमिरहने दुष्ट आत्माहरुबाट छुटकारा पाउने हो भनिन्छ । हुन त आजकाल मानिसहरु भूतप्रेतमा खासै विश्वास गर्दैनन् तर यस्ता तत्वहरु समाजका लागि घातक नै सिद्ध भएका छन् । आयुर्वेदशास्त्र अनुसार कतिपय यस्ता रोगहरु हुन्छन् जुन कसरी लाग्यो भन्ने कुनै शारीरिक कारण देखिदैन तर त्यसले दैनिकरुपमा दुख दिइरहन्छन् । यस्ता रोगहरुलाई भूतजन्य रोग भनिन्छ । यस्ता रोगहरुको निराकरण धामी झाँक्रीहरुले स्वस्तीशान्ति, झारफूक गरेर सञ्चो तुल्याएका हुन्छन् । भनिन्छ चतुर्दशीका दिन भूतप्रेत जागृत हुन्छन् । त्यसकारणले यस दिन तान्त्रिकहरु मन्त्र विद्याद्धारा त्यस्ता भूतप्रेत हटाउन सक्रिय हुन्छन् । पहिला–पहिला आजको जस्तो विभिन्न रोगहरुको लागि विभिन्न औषधिहरुको उत्पादन भएको थिएन । कहिलेकाहीं कसैलाई सानोतिनो रोगहरु लाग्यो भने पक्कै पनि भूतप्रेत, बोक्सी लाग्यो भनेर धामी, झाँक्री, तान्त्रिककोमा पुग्दथे र उनीहरुले झारफूक आदि गरेर सञ्चो बनाइ दिन्थे । आजको यस्तो विकसित युगमा पनि भूतप्रेत, बोक्सी आदिले दुख दियो भनेर अद्यापि धामी झाँक्री माताकोमा जाने चलन छ । कतिपय सञ्चो हुन्छन् कति हुँदैनन । यो त विश्वास हो । भ्रतप्रेत पिशाच भगवान श्री महादेवका गण हुन् । यिनीहरुको पनि आफ्नै अस्तित्व रहेको विश्वास गरिन्छ ।

त्यसैले पनि भगवान श्री महादेवको पूजा गरिन्छ । चैत्र कृष्णपक्ष चतुर्दशीका दिन पाँहा चन्हेलाई काठमाडांै उपत्यकाका नेवार समुदायहरुले विशेष ठूलो चाडको रुपमा मान्दै आइरहेका छन् । काठमाडौं उपत्यकामा यस दिन आफ्ना विवाह गरी पठाइसकेका चेलीबेटीहरुलाई अरु दिन नबोलाए पनि वर्षको एक दिन अर्थात् आजको दिन अनिवार्यरुपमा निम्तो दिई बोलाई भोज खुवाउने गर्दछन् । यो पर्व वास्तवमा एक आपसमा भेटघाट गर्ने, रमाइलो गर्ने, पाहुनाहरुसँग मिलि भोज भतेर गर्ने पर्वको रुपमा मानिन्छ । यस दिन काठमाडौं वरपर रहेका अजिमाहरु लगायत गणेश र भैरबको रथयात्रा गर्ने चलन रहेको छ । त्यस्तै गरी कंकेश्वरी, नरदेवी, टंकेश्वरको नीलबराही, वटु भद्रकाली र लुमही भद्रकालीको खट जात्रा चैैत्र शुक्ल प्रतिपदाका दिनसम्म नै मनाउने गर्दछन् । औसीको रातमा तीनवटा खट्लाई टुँडिखेलमा लगेर एकआपसमा जुधाइन्छ । पाँहाचन्हे पर्वमा खट जुधाउने जात्रा काठमाडौं उपत्यकामा मनाइने जात्राहरु मध्येको एक फरक प्रकारको जात्रा हो । किंवदन्ति अनुसार लिच्छवी राजाले काठमांडौ खड्ग आकारको निर्माण गर्दा ७ जना अजिमादेवी स्थापना गरेका थिए । तिनै अजिमादेवीहरुको सम्मानमा यसरी जात्रा गर्ने चलन चलाएका थिए रे । पहिला पहिला यी सातैवटा खट जात्रा गरे पछि असनमा एक आपसमा लडाइन्थ्यो रे जसलाई देय ल्वाकेगु जात्रा अर्थात् देवतालाई लडाउने जात्रा भनिन्थ्यो तर पछि गएर केवल तीनवटा खट मात्र जुधाउन थालिएको मानिन्छ । त्यस्तै गरी यो पर्वलाई काठमाडौंका आठ वटी दिदीबहिनीहरु भद्काली, कंकेश्वरी, नरदेवी, म्हेपी, मैतीदेवी, असनदेवी, संकटादेवी तथा लतीदेवीको भेटघाटको पर्व पनि भनिन्छ । भोलिपल्ट काठमाडांैमा घोडेजात्रा गरिन्छ । पिशाच चतुर्दशी नेवार समुदायको एउटा सांस्कृतिक पर्व हो । विभिन्न कालखण्डमा तानसेन शहरमा विभिन्न मन्दिर, दरवार आदि घरहरु निर्माणको क्रममा काठमाडौं उपत्यकाबाट तानसेनमा आई बसेका नेवारहरु पछि यहीं स्थापित भए पछि यहाँ पनि आफुहरुले काठमाडौं उपत्यकामा मनाउँदै आएका जात्रा चाडपर्वहरु तानसेनमा पनि मनाउन थालेको पाइन्छ । जुन अद्यापि सानै रुपमा भए पनि हुँदैछन् । पाँहा चन्हे पनि तानसेनका केही नेवारहरुले मात्र मनाउँछन् सबैले मनाउँदैनन् । यस दिन विहान श्री रण उजिरेश्वरी भगवती मन्दिर तथा विभिन्न शिवमन्दिरहरुमा गई पूजा आराधना गर्दछन् । त्यसपछि आफनो घरमा रहेको सबै देवदेवताहरुलाई पूजा गर्दछन् । पूजा पछि निम्त्याईएका आफ्ना छोरी जुवाँइहरु तथा अन्य सबै परिवार एकै ठाउँमा जम्मा भई पाँहा चन्हेः मनाई भोज खाने गर्दछन् । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update