Shittalpati
सरस्वती पूजाको महत्व

श्रीपञ्चमी, अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् । हरेक वर्ष जस्तै आज पनि सरस्वतीको पूजाआजा गरिदैं छ । सरस्वतीको मन्दिरमा अथवा मन्दिर नभए सरस्वतीको तस्विर राखेर धुमधामसँग शैक्षिक संस्थाहरूमा विद्याकी देवी सरस्वतीको पूजा गर्ने गरिन्छ । सरस्वतीलाई देवीहरूकी पनि देवी अधिष्ठात्रीका रूपमा लिने गरिन्छ । सरस्वती माताको स्वरूपले धेरै अर्थ राख्दछन् । उनको प्रतीकात्मक चित्र, बाहन, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छन् । उनले हातमा लिएको विणाबाट के बुझिन्छ भने जीवन धुन झैं मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय र आनन्ददायक बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको अर्थ बोध गराउँछ । उनले बोकेको किताबले सत्यताको, ज्ञानको बोध गराउँछ भने उनको जपमालाले अनुशासन, मनन र ध्यानाकर्षण बताउँछ । सरस्वतीको तस्विरसँगै राजहंस देखिन्छ । राजहंस सरस्वतीको वाहन हो । राजहंसलाई आफ्नो वाहन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस राजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने संकेत गरिएको छ । उनले लगाएको सेतो साडी शुद्धताको प्रतिक मानिन्छ । सरस्वती सेतो कमलमा बसेकी हुन्छिन् । त्यो सेतो कमलले सफा र शुद्ध हुनुको बोध गराउँछ । त्यस्तै हाम्रो वरपर पनि कुनै नराम्रो अथवा नकारात्मक कुराले असर नगरोस् भन्ने सकारात्मक जानकारी सेतो कमलले दिन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा तथा उपासना गर्नाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि हासिल हुन सक्ने भनेर उल्लेख गरिएको पाइन्छ, जसका कारण पनि सरस्वती पूजाको महत्व बढ्दै गएको आँकलन गर्न सकिन्छ । गान्धर्व पुराणलाई आधार मान्ने हो भने आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ । विशेषगरी, श्रीपञ्चमीको दिनलाई विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेर मनाउने परम्परा रहँदै आएको हुनाले सरस्वती माताको पूजा–अर्चना गरे विद्या र बुद्धि बढ्ने आमविश्वास रहेको छ । यो पवित्र दिनमा लेखपढ गर्न सिकाए राम्रो विद्या, बुद्धि र ज्ञान आउने मान्यताका कारण विद्यालयमा नपठाइएका स–साना बालबालिकाहरुलाई यसैदिनमा अक्षरारम्भ गराउने प्रचलन रहिआएको छ, यसर्थ पनि सरस्वती पूजाको महत्व बढेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update