Shittalpati
बैंकहरु ‘मर्जर’को लहर

पछिल्लो समय बैंकहरु एक आपसमा गाभिने क्रम चलेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि बैंकहरू धमाधम मर्जरमा गएका हुुन् । राष्ट्र बैंकले अघि सारेको नीति अनुसार ठूूला बैंकबीच मर्जरको लहर नै चलेको छ । एकपछि अर्काे बैंक तथा वित्तीय संस्था गाभिने क्रमले संख्या घट्दो छ र संस्थाहरू आर्थिक रूपमा सबल हुँदै गएका छन् । यो सकरात्मक पक्ष हो । तर दीर्घकालमा यसको प्रभाव कस्तो हुन्छ अहिले नै भन्न सकिदैन । नेपालका बैंकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन मर्जरको नीति महत्वपूर्ण रहने छ ।

मर्जरका कारण देशको अर्थतन्त्र मितव्ययी हुने देखिन्छ । बैंकहरूमा प्रयोग हुने सफ्टवेयर महँगो भएकाले धेरै पैसा खर्च हुने मात्र नभई साइबर अपराधबाट जोगिन महँगा सफ्टवेयर प्रयोग गर्नुपर्ने बाध्यता थियो । मर्जरपछि दुईवटा बैंकले किन्नुपर्ने सफ्टवेयर एउटाले मात्र किने हुन्छ । थोरै बैंक हुँदा व्यवस्थापन खर्च कम हुन्छ । धेरै बैंकमा पैसाको ‘मुभ’ हुँदा लागत बढी हुन्छ । जसले ब्याजदरमा असर गर्छ । कम बैंक हुँदा लागत घट्छ । अहिले विश्व अर्थतन्त्र शिथिलताको अवस्थामा छ । आर्थिक वृद्धिदर कमजोर हुने प्रक्षेपण आइसकेका छन् । तसर्थ बैंक, वित्त संस्था बलियो हुनु नै पर्ने आवश्यकता छ । बैंक वित्त संस्था मर्ज हुँदा नै स्रोत एकत्रित हुन्छ र लगानीयोग्य पुँजी पर्याप्त हुन्छ । बलिया बैंक, वित्त संस्था मुलुकका आवश्यकता हुन्, तिनलाई अर्थतन्त्र उकास्ने भूमिकामा लगाउनुपर्ने चुनौती चाहिँ छ । बैंक तथा वित्तीय संस्था गाभ्नुलाई ठीक मान्नेहरूका धेरै तर्क प्रस्तुत पनि भइरहेका छन् । तर यसले पार्ने प्रतिकूल प्रभावबारे खासै चासो भने दिइएको छैन । नेपाल अहिले व्यापारिक पुँजीवादको अवस्थामा छ ।

नेपाली अर्थतन्त्रको आवश्यकता भनेको औद्योगिक पुँजीवादमा संंक्रमण गर्नु हो । ५० लाख युवा रोजगार नपाएर विदेश पलायन भएको अवस्था छ । रोजगार दिन राज्यले कुनै कार्यक्रम सार्वजनिक गरेको छैन । खाडीको चर्को गर्मीमा तिनै युवाले पठाएको रेमिट्यान्सले मुलुक चल्नुपरेको तीतो यथार्थ छ । मुलुकको समग्र उत्पादनमा औद्योगिक क्षेत्रको उत्पादन ओरालो लागिरहेको छ । नयाँ उद्योगधन्दा खुल्न सकेका छैनन् । भएका उद्योगको अवस्था पनि नाजुक बन्दै गइरहेको छ । त्यसैको प्रतिफल हो– व्यापार घाटा । अर्थतन्त्रले धान्नै नसक्ने गरी व्यापार घाटा बढिरहेको छ । यसलाई सुधार्ने भनेको औद्योगिक र उत्पादनमूलक क्षेत्रको व्यापक विस्तार नै हो । यसतर्फ मर्जरमा गएका ठूला बैंकहरुले यी क्षेत्रतर्फ लगानी बढाउन सके मात्रै बैंक मर्जको सार्थकता रहन्छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update