Shittalpati
चिसोबाट बचौं

माघको पहिलो दिनदेखि नै पाल्पा लगायत पहाडी जिल्लाहरुमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, जेष्ठ नागरिक बढी प्रभावित हुने अवस्था सिर्जना भएको छ । चिसोका कारण बिहानै धेरै नागरिकहरु घर बाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् । पुस महिनामा त्यत्ति चिसोको महशुस नगरिए पनि माघ लागेपछि भने चिसो ह्वात्तै बढेको हो ।

चिसोले सबैभन्दा बढी असर वृद्धवृद्धा र बालबच्चालाई पार्ने गर्दछ । तराईमा शीतलहरका कारण वर्षेनी नागरिकको ज्यान जाने गर्दछ । गरिब निमुखा जनताका लागि चिसो याम अभिशाप बन्न पुग्दछ । अघिल्ला वर्षहरुमा शीतलहर वा चिसोबाट मृत्यु हुनेको वास्तविक तथ्यांक कसैसँग छैन । तर सत्य कुरा के हो भने प्रत्येक वर्ष सर्वसाधारणले चिसोका कारण अमूल्य जीवन गुमाउने गरेका छन् । चिसोले कठ्याङ्ग्र्रिएर मृत्युवरण गर्न पुग्दछन् । तर तीनै तहका सरकारलाई यसतर्फ कुनै चासो छैन । उनीहरुले जोखिमका बेला अल्पकालीन राहतको योजना समेत बनाएका छैनन् । अत्याधिक चिसो हुँदा दाउरा बाँड्ने काम हुन्छ । तर चिसो छल्न समेत नसक्ने विपन्न परिवारको लेखाजोखा गरेर दीर्घकालीन रुपमा समस्या समाधान गर्ने काम भने हुँदैन । यो अत्यन्त दुःखको कुरा हो । जनताले घरदैलोमा सिंहदरबार आएको अनुभूति गर्ने यस्तै बेलामा हो । सामान्य अवस्थामा कसैको सहयोग चाहिएको हुँदैन । फेरि स्थानीय जनप्रतिनिधिलाई को गरिब छ र न्यानो कपडा खरिद गर्न सक्दैन भन्ने कुरा राम्रोसँग थाहा हुने गर्दछ । त्यसैले चिसोले कसैको जीवन नजाओस् भन्नका लागि चिसो नलाग्दै न्यानो कपडा खरिद गरेर निर्धा जनतालाई वितरण गर्ने व्यवस्था मिलाउनु पर्दछ । स्थानीय सरकारका लागि यो कुनै ठूलो कुरा होइन । इच्छाशक्ति भए पुग्छ । तर यसो भन्दै गर्दा चिसोमा सरकारको मात्र भर परेर हुँदैन । यसबाट स्वयम आफैले पनि ध्यान दिनुपर्छ ।

चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न आग्रह गर्दै आएका छन् । यस्तो अवस्थामा खानपान र रहनसहनमा समेत उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । झोलपदार्थ खानेकुराका साथै हरियो सागपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्दछ । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update