Shittalpati
भूकम्पीय जोखिम

माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । विसं १९९० सालमा ८९ वर्ष अगाडि देशले भोगेको महाविनाशकारी भूकम्पलाई स्मरण गर्दै हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । तर भूूकम्पीय जोखिमलाई न्यूनिकरण गर्ने दिशामा भने कसैको पनि ध्यान जान सकेको छैन् । यो अत्यन्त दुःखको कुुरा हो । वर्तमान समयमा अव्यवस्थित तरिकाले विस्तार हुँदै गएको सहरीकरणसँगै जथाभावीरुपमा निर्माण भएका संरचनाहरुले भूकम्पीय जोखिमलाई निम्ताएको छ । भूकम्पविद्का अनुसार नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगर्भिक अवस्था र मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छन् ।

भौगर्भिक अवस्थाको कुरा गर्दा पूर्वमा अफ्गानिस्तानदेखि पश्चिममा बर्मासम्म फैलिएको हिन्दकुश हिमालय शृंखलाको अति संवेदनशील मानिने तीन हजार पाँच सय किलोमिटर भूकम्पीय क्षेत्रको आठ सय किलोमिटर क्षेत्र, जुन सो शृंखलाको मध्य भागमा रहेको खण्डचाहिँ नेपालमै पर्ने भएकाले नेपाललाई उच्च भूकम्पीय जोखिममा रहेको भूकम्पविद्हरूले मान्ने गरेका छन् । अध्ययनहरूका अनुसार भूकम्प निम्त्याउन सक्ने ९२ वटा फल्ट लाइन नेपालकै भूमिमुनि छन् यसबाहेक प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले पनि भूकम्पीय जोखिमको मात्रालाई बढाउँदै गएको छ । आचारसंहिता विपरीत बनाइएका भौतिक संरचनाहरू, साँघुरा र अव्यवस्थित सडकहरू, सहरी क्षेत्रमा पर्याप्त खुला ठाउँको अभाव लगायतका कारणले गर्दा पनि नेपालका अधिकांश सहर भूकम्पीय जोखिममा छन् ।

अहिलेको परिस्थितिमा ७२ सालमा गएको विनाशकारी भूकम्पको स्मरण गर्नुपर्ने देखिन्छ, जसमा परेर नौ हजारभन्दा बढी मानिसको मृत्यु हुन पुगेको तथ्याङ्कले बताउँछ । उक्त भूकम्पका कारण लाखौंको संख्यामा निजी घरहरु ध्वस्तसमेत भएका थिए । विद्यालयदेखि स्वास्थ्य संस्थाहरुसम्मलाई क्षतविक्षत बनाउन पुगेको उक्त भूकम्पले झण्डै एक हजारको संख्यामा पुरातात्विक सम्पदाहरुलाई नोक्सान पु¥याएको थियो । गोरखा भूकम्पमा अधिकांश मानवीय क्षति मानव निर्मित संरचनाका कारण भएका थिए र त्यसबाट पर्याप्त पाठ सिक्नुपर्ने अवस्थासमेत छ । भूकम्पीय क्षतिबाट बच्नका निम्ति आमजनतामा व्यापक भूकम्पीय सुरक्षा सचेतना आवश्यक पर्नेमा दुई मत छैन । भूकम्प जाँदा अपनाउनु पर्ने सुरक्षा मापदण्ड तथा तौरतरिकाका सम्बन्धमा जनतालाई प्रशिक्षित गराइनु अति आवश्यक छ । यसका निम्ति सम्बद्ध निकायले पहलकदमी लिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update