Shittalpati
किन दोहोरिन्छ हवाई दुर्घटना ?

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमान दुर्घटनामा ७० जनाको शव भेटिएको छ । ७२ जना सवार यती एयरलाइन्सको ‘९ एन एएनसी एटीसआर ७२–५००’ विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा पर्‍यो । यति ठूलो संख्यामा ज्यान जाने गरी भएको दुर्घटनाले सबै स्तब्ध छन् । नेपालको हवाई उड्ययन इतिहासमा यो दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १ सय ४ पुगेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्टका’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । आइतबारको पोखरा दुर्घटनाबाहेक हालसम्म १ सय ४ हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भइसकेको छ । वर्सेनि ‘शृंखलाबद्ध’ हवाई दुर्घटनाले नेपालको हवाई सेवा माथि प्रश्न उठाएको छ । हवाई दुर्घटना न्यूनीकरण हुनुको सट्टा बढ्दै गएपछि मुलुकको हवाई क्षेत्रमाथि प्रश्न उठ्नु स्वभाविक नै हो । विज्ञहरूका अनुसार मानवीय त्रुटि, भौगोलिक वनावट, प्रतिकूल मौसम, पर्याप्त सूचनाको कमी, पुराना जहाजमा आधुनिक उपकरणको जडान नहुनु हवाई दुर्घटनाका मुख्य कारण हुन् । तर यस विषयमा न त सरकारले प्रभावकारी अनुगमन गर्छ, न त विज्ञहरूका सुझाव कार्यान्वयनमा निजी हवाई कम्पनी नै अघि सर्छन् । नेपाल हरेक पटक हुने जहाज दुर्घटनापिच्छे जाँच गर्न ‘दुर्घटना जाँचबुझ आयोग’ गठन हुन्छन् । आयोगले दुर्घटना हुनुका कारणसहित यस्ता दुर्घटना हुन नदिन कसले के गर्ने ? के नगर्ने ? भन्नेसम्मका सुझाव संगालेर प्रतिवेदन दिन्छ । तर यस्ता प्रतिवेदनको सुझाव न सरकारले पढ्छ, न कार्यान्वयनका लागि तत्परता देखाउँछ । यस्ता छानविन प्रतिवेदन कर्मकाण्डी मात्र हुन् । यो सरकारको नेतृत्व सचेत र जिम्मेवार नहुँदाको परिणाम हो । उल्टै निजी कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धा र पुराना जहाजको बाहुल्यका कारण पनि दुर्घटनाको ‘रेसियो’ बढेको बढ्यै छ ।

समयमा जहाजको मर्मत सम्भार गर्नुपर्ने, प्राविधिक चेकजाँच गर्नुपर्ने, आधुनिक प्रविधिको जडान गर्नुपर्नेलगायत प्रतिवेदनमा दिइने सुझावहरू दराजमा बन्द हुन्छन् । यो अत्यन्त दुखको कुुरा हो । यसैकारण पनि हवाई दुर्घटना न्यूनीकरण हुन सकेको छैन । हरेक हवाई दुर्घटनापछि चर्चा र बहस हुने गर्दछ । अहिले पनि सरकारी स्तरबाटै चासो र चिन्ता व्यक्त गरिएको छ । यसले यी चासो र चिन्तालाई कार्यान्वयन गरी हवाई सेवालाई सुरक्षित र विश्वसनिय बनाउने दिशामा सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update