Shittalpati
पाल्पा र गुल्मीमा फोनको टावरमा अज्ञात समूहद्वारा आगजनी

रामचन्द्र रायमाझी
पाल्पा । अज्ञात समूहले पाल्पा र गुल्मीमा रहेका फोनका टावरहरुमा आगजनी गरेको छ । अज्ञात समूहले आईतबार राती गुल्मी र पाल्पामा रहेका एनसेल र स्मार्ट फोनका टावरमा आगजनी गरेको हो ।

समूहले पाल्पाको बगनासकाली ९ बगनासडाँडामा रहेको एनसेल टावरमा क्षति पु¥याएको छ । रातिको समयमा आगोजानी भई टावरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपी क्षतिको विवरण भने उल्लेख गरिएको छैन । आगजनीबाट टावरको जेनेरेटर, विटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्स सहित तारमा क्षति पुगेको छ । घटना विप्लव नेतृत्वको नेकपाले गरेको हुन सक्ने आशंका गरिए पनि कसले र किन गराएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा जानकारी पाए लगत्तै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले उक्त टावर रहेको स्थानमा पुगी घटनाको विषयमा जानकारी लिएका छन् । घटनाको जानकारी लिदै अध्यक्ष बस्यालले जनताको सूचना पाउने हक अधिकार माथि अज्ञात समूहले अवरोध गर्नु दुःखद् रहेको बताए । उनले टावरमा पूर्ण रुपमा क्षति पुगेकाले यस क्षेत्रका नागरिकहरुको सूचना प्रवाहलाई छिट्टै नै समाधान गर्न सम्बन्धी निकायसँग सहकार्य गर्ने बताए । टावरमा क्षति पुगेसँगै जिल्लाको बगनासकाली, तानसेन नगरका केही स्थान, पूर्वि पाल्पा र स्याङ्जाका केही स्थानहरुका एनसेल फोन प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।

त्यस्तै उता गुल्मीको धुर्कोटमा रहेको स्मार्ट फोनको टावरमा पनि अज्ञात समूहले आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ धुर्कोटस्थित रजस्थलमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आइतबार राति करिब ११ बजेको समयमा भएको आगजनीबाट टावरको ओडीबक्स पूर्ण रुपमा जलेर क्षति भएको छ । टावरमा क्षति पुगेका कारण स्मार्ट फोनको नेटवर्क अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

करिब ५ वर्षदेखि उक्त स्थानमा स्मार्ट फोन कम्पनीले टावर राखेको थियो । आगजनीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए । त्यस क्षेत्रमा अन्य सञ्चार माध्यमका टावर तथा सञ्चार उपकरण भएपनि क्षति भने नभएको स्थानीयले बताएका छन् । नेटवर्क अवरुद्ध हुँदा धुर्कोट, मदाने मालिका र इस्मा गाउँपालिकाका स्मार्ट फोन कर्ताहरु प्रभावित भएका छन् । फोन अवरुद्ध भएपछि स्मार्ट सेन्टर काठमाडौंबाट प्राविधिक टोली घटनास्थलतर्फ गएको सेन्टरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  ०४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update