शिक्षा र समाज

नवौं विश्व माटो दिवस मनाइयो

Shittalpati Reporter

पाल्पा, ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ भन्ने नाराका साथ नवौं विश्व माटो दिवस–२०७९ मनाइएको छ । नेपालमा पनि कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेप्लिज सोसाइटी अफ स्वाइल साइन्सको समन्वयमा सोमबार विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको हो ।

स्वस्थ माटोको महत्व बारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ । सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो । नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ । कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवायु संरक्षणको केन्द्रमा माटो रहेको छ । विश्व माटो दिवस कार्यक्रमले मानिसलाई माटोको महत्वको जानकारी गराउँदै माटोको उचित व्यवस्थापन एवं संरक्षण गर्दै उर्बरा शक्ति वृद्धि गर्न जनचेतना बढाउन मद्दत गर्ने कृषि विभागले जनाएको छ ।

माटोको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन बिना खाद्य तथा पोषण सुरक्षा, दिगो कृषि जिकास, जैविक विविधता संरक्षण, प्राङ्गारिक कृषि लगायतका विषय सम्बन्धी बहसहरु हुने गरेका छन् । तर पछिल्लो समय नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्बराशक्तिमा हस आउने क्रम दिन प्रतिदिन बढ्दो छ । त्यसैले यो समस्यालाई विश्वको साझा समस्याको रुपमा लिन थालिएको छ र विश्वस्तरमै एकताबद्ध भएर सम्बोधन गर्न व्यापकरुपमा जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विश्व माटो दिवस मनाउने गरिएको कृषि विभागले जनाइएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९, १०:५५:००
प्रतिक्रिया दिनुहोस्