Shittalpati
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना

तम्घास,  गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो । मकै, कोदो, धान, गहुँ, केराउ लगायतका खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरी छन्त्यालले जानकारी दिए ।

केन्द्रमा मुसिकोट नगरपालिका– २, ३ र ४ मा उत्पादन भएका खाद्य बालीको प्रशोधन गरी बीउ तयार गरिने छ । त्यसका साथै बलिथुम, मजुवा फाँटलगायत स्थानमा उत्पादन भएको खाद्य बालीको बीउ पनि सहकारीले खरिद गरी बजारीकरण गर्ने छन्त्यालले बताए । बीउ उत्पादनका लागि मुसिकोट नगरपालिका–३ मा रु ६९ लाखको लागतमा भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । यसै वर्ष उत्पादन हुने मकै भदौ महिनादेखि भण्डारण गरी बीउ उत्पादन गर्न शुरु गरिने छन्त्यालले बताए । मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना भएसँगै गुल्मीमा बीउ प्रशोधन तथा उत्पादन गर्ने केन्द्रको संख्या छ पुगेको छ ।

यसभन्दा पहिले मालिका गाउँपालिका– ६ अर्जै र वडा नम्बर ८ सिमलटारीमा २०/२० मेट्रिकटनका दुई वटा प्रशोधन केन्द्र स्थापना भएका छन् । मदाने गाउँपालिकाको पुर्कोट दहमा ३० मेट्रिकटन, इस्मा गाउँपालिका–६ चौरासी र रेसुङ्गा नगरपालिका–१० मा २०/२० मेट्रिकटनको प्रशोधन केन्द्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले जानकारी दिए । मालिका, मदाने, इस्मा र रेसुङ्गामा आर्थिक वर्ष २०७३/७४ देखि ७६/७७ को अवधिमा स्रोत केन्द्रको निर्माण सम्पन्न भएको हो भने मुसिकोटको स्रोत केन्द्र आव ०७७/७८ मा निर्माण सम्पन्न भएको काफ्लेले बताए ।
जिल्लाका सबै बीउ प्रशोधन केन्द्रबाट एकपटकमा १५० मेट्रिकटन बीउ उत्पादन गर्न सकिने कार्यालय प्रमुख काफ्लेको दाबी छ । गुल्मीमा मनकामना तीन, अरुण दुई, रामपुर कम्पोजिटलगायत मकैको बीउ उत्पादन हुँदै आएको छ । –रासस

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update