Shittalpati
सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे

रामचन्द्र रायमाझी
पाल्पा, नेपाली राजनीतिमा जिउँदो सहिदले परिचित विजयराज घिमिरेको निधनले सिङो पाल्पा जिल्ला नै शोकाकुल बनेको छ । बिहीबार बिहानैदेखि नरमाइलो मौसम रहेको पाल्पामा एकाएक साँझतिर घिमिरेको निधनको खबरले जिल्लावासीलाई अत्यन्त चिन्तित बनायो । पाल्पालीले यो घटना सत्य सावित नहोस् भन्दै शुक्रबार विहानसम्म नै कामना गरिरहे । तर मृत्युको अगाडि कसैको केही लागेन् । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।
पाल्पाको रामपुरमा जन्मिएका घिमिरे लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए । उनको निधनको खबर लगत्तै नेपाली काँग्रेस पाल्पाका नेता कार्यकताहरु घिमिरेलाई अन्तिम श्रद्धाञ्जली दिन काठमाडौं पुगे । शुक्रबार घिमिरेको पार्थिव शरीर अन्तिम संस्कारका लागि आर्यघाट लगिएको थियो । आर्यघाटमा पुग्ने जो कोही नेताहरुको अनुहार भावुक नै देखिन्थ्यो । देशले आशालाग्दो, भरोसायोग्य, विश्वासिलो र दूरदृष्टि नेता गुमाएकोमा पाल्पाली नेता मात्र होइन, केन्द्रीयस्तरका नेताहरु समेत भावुक बने । काँग्रेसका नेतासँगै अन्य दलका नेताहरुले समेत घिमिरेलाई सम्झिदै भावुक बनेका दृश्यहरु आर्यघाटमा देखिथ्यो ।

कतिले सामाजिक सञ्जाल मार्फत दिवंगत घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । कसैले उनको निधनको खबरप्रति आफूलाई विश्वासनै नलागेको भन्दै भाव व्यक्त गरिरहे भने कसैले एउटा सम्भावित राम्रो नेता देशले गुमाएको प्रतिक्रिया दिएका छन् ।

२०४६ सालमा जनआन्दोलनको पहिलो दिन फागुन ७ गते रामपुरमा जनप्रदर्शनको नेतृत्व गरेका घिमिरेलाई प्रहरीले गोली प्रहार गरे पनि नलागी सँगैका आफ्नै दाजु सुर्य घिमिरेलाई लागेको थियो । गोली लागेर उनका दाजुको मृत्यु भएको थियो भने विजय बाँच्न सफल भएकाले उनलाई जिउँदो सहिद भन्ने गरिएको थियो । त्यतिबेला २१ वर्षको उमेरमा आन्दोलनको नेतृत्व गरेका घिमिरे त्यसपछि पनि लगातार राजनीतिमै सक्रिय रहे । पाल्पा क्षेत्र नं. १ मा दुई पटक संघीय सासदका लागि उम्मेदवार बनेका उनलाई २०४४ सालमा रामपुरमा भएको पार्टीको पुर्नमिलन कार्यक्रममा तत्कालिन शासकहरुले आक्रमण गरेर मर्यो भनेर फालेका थिए । पछि लाश ल्याउन गएका सहयोद्वाहरुले जिवितै भेटेपछि तत्काल उपचार गर्न दौडाएर घिमिरेले पुर्नजीवन पाएका थिए ।

घिमिरे २०४८/०४९ मा काँग्रेसको जिल्ला सचिव, नेविसंघको जिल्ला सचिव र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियू सचिव भएका थिए । २०५० सालमा चाटर्ड एकाउन्टेन्ट अध्ययन गर्न भारत गएका घिमिरे पढाई सकेर नेपाल फर्के लगत्तै पुनःराजनीतिमा होमिएका हुन् । उनी पछिल्लो समयमा काठमाडौं बस्दै आएका थिए । घिमिरे क्यान्सरबाट पीडित भएपछि भारतको एक अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचार गराएर केही हप्ता अघि काठमाडौ फर्किएका घिमिरेलाई केही दिन अगाडि फेरि स्वास्थ्यमा समस्या आएपछि काठमाडौस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो । घिमिरेको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको नेपाली काँग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठले बताए । निजी, सामाजिक र राजनीतिक जीवन सबैलाई उत्तिकै महत्वमा राखेर व्यवहार गर्न सक्ने घिमिरेले नेपाली समाजलाई धेरै किसिमका शिक्षा दिएर गए । सधैं आफूलाई सक्रिय राख्न खोज्ने घिमिरेले छाडेर गएपनि उनको योगदानलाई सबैले अनुशरण गर्नुपर्दछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update