Shittalpati
भ्रष्टाचार विरुद्ध दिवसको सन्दर्भ

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । भ्रष्टाचार अन्त्यका लागि यो दिवस मनाइने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन । बरु भ्रष्टाचारले झन्–झन् समाजमा नराम्रोसँग जरा गाड्दै गएको छ । यसले समाजको सदाचारितापूर्ण आदर्श माथि धावा बोलेको छ । मुलुकमा सुशासन प्रवद्र्धन गर्न मुख्य अवरोधको रूपमा यहि भ्रष्टाचार खडा भएको छ । यर्थाथमा, भ्रष्टाचारका कारण राज्यको आर्थिक, समाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रमा नकारात्मक असर परिरहेको छ । जसको कारण कतै समाजले नै भ्रष्टाचारलाई आत्मसात गरेको होकि ? भनि आशंका गर्नुपर्ने स्थिति पैदा भएको छ । सार्वजनिक र निजी क्षेत्रमा भ्रष्टाचार अझै पनि बलियो भएर देखापरेको छ ।

सार्बजनिक पदमा आसिन हुने भनेको कमाउन पुग्ने भन्ने सोंच अहिले सर्वत्र छ । यो अत्यन्त दुुखको कुरा हो । गलत मनाशयबाट अभिप्रेरित भइ ब्यक्तिगत स्वार्थ पुर्तिका लागि सत्ता शक्ती पदको दुरुपयोग गरी गैरकानुनी ढङ्गले आर्थिक हिनामिना गर्नु भ्रष्टाचार नै हो । कार्यालय, संघ संस्था जताततै भ्रष्टाचार भइ रहेको छ । घुस खानकै लागि कर्मचारीहरु कानमा तेल हालेर काममा आलटाल गरेका हुन्छन् । छिट्टै काम सकाउनको लागि घुस खुवाउन बाध्य पारिन्छ । जनताकै निम्ति काम गर्न खटिएका कर्मचारीहरु आफ्नो कर्तव्य पालना गर्दैनन् । दिनहुँ ग्राहकसँंग घुस लिएर अकुत सम्पत्ति कुम्ल्याउछन् । देशमा विकासको नाममा ठूलो रकमको चुहावट हुने गरेको छ । यस्तो भ्रष्टाचारको जालोलाई तोड्न जरुरी छ । भ्रष्टाचारले सदाचारिता, इमानदारिता र विश्वासलाई निस्तेज तुल्याउँछ । भ्रष्टाचाररूपी महारोगलाई जतिसक्दो छिटो नष्ट गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update