Shittalpati
कृषि विकास बैंक ५६ औँ वर्षमा

पाल्पा, कृषि विकास बैंक ५६ औँ वर्षमा प्रवेश गरेको छ । २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको बैंक अहिले ५६ वर्षमा प्रवेश गरेको हो । ५६ वर्ष अघि कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर बैंक सञ्चालनमा आएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि २०६२ असारदेखि बैंक पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट २०६२ चैतदेखि वाणिज्य बैंकका रुपमा इजाजत पाएको यो बैंकमा ५१ प्रतिशत शेयर सरकार र ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ । संस्थापक शेयरधनीका रुपमा सरकारको छ अर्ब ७२ करोड ५८ लाख र सर्वसाधारण सेयरधनीको छ अर्ब ४६ करोड २० लाख बराबर शेयर छ । बैंकले हालसम्म एक लाख ६२ हजार ग्राहकमा एक खर्ब ७८ अर्ब कर्जा लगानी गरेको जनाएको छ । यस्तै बैंकमा १८ लाख निक्षेपकर्ताको एक खर्ब ७० अर्ब निक्षेप छ । बैंकको अधिकृत पुँजी २५ अर्ब, जारी पुँजी १८ अर्ब ६२ करोड ६ लाख र साधारण चुक्ता पुँजी १३ अर्ब १८ करोड बराबर छ । चालु आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कर्जा तथा सापट करिब दुई खर्ब एक करोड र कूल निक्षेप एक खर्ब ८६ अर्ब ४८ करोड वृद्धिमार्फत वैधानिक कर्जा–पुँजी–निक्षेप अनुपात ९० प्रतिशतभित्र कायम गर्ने लक्ष्य बैंकले लिएको छ । बैंकले शनिबार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बिच स्थापना दिवस मनाएको छ ।

उक्त कार्यक्रम उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै व्यावसायिक कृषि क्षेत्रमा लगानी बढाउदै जान बैंकलाई आग्रह गरेका छन् । उनले पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्दै गएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । बैंकले चालु आर्थिक वर्षको छ महिना अवधिमा बैंकको तरलता अनुपात १५ दशमलव २७ प्रतिशत र निष्क्रिय कर्जा एक दशमलव ६८ प्रतिशत रहेको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि बैंकले ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस शेयर शेयरधनीलाई दिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update