Shittalpati
दललाई सच्चिने अवसर

प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन सकिएको छ । देशभरबाट निर्वाचनको परिणाम आउने क्रम जारी छ । यत्तिले मात्र समग्र परिणामको आकलन गरिहाल्दा हतार हुन सक्छ । तर यत्तिले पनि केही परिदृश्य देखिएका छन् । अहिले कसैको पनि बहुमत नआउने देखियो । केही नयाँ र केही पुराना जनप्रतिनिधिहरु अहिले संसद्मा पुग्नेछन् । अब यी दल नै मिलेर सरकार बनाउने छन् । तर, आगामी सरकार कसको र कस्तो बन्छ भन्ने सम्बन्धमा स्पष्ट खाका आइसकेको छैन ।

बहुमत कसैको पनि नआएकाले विभिन्न दलकै मिलिजुलीमा सरकार बन्ने निश्चित छ । यस पटक मतदाताहरुले दलहरु प्रतिको आक्रोश मतमा परिणत गरेका छन् । अहिले एकाएक नेपाली राजनीतिको पर्दामा देखिन आएका केही नयाँ शक्तिहरू नेपाललाई विकासको बाटोमा अग्रसर गराउने स्पष्ट योजना, लक्ष र त्यस्तो विकासको खाका भएका कारण अगाडि आएका होइनन्, पुराना राजनीतिक पार्टीहरूको विकल्प खोज्ने क्रममा जनताले आफ्नो अभिमत त्यसरी प्रकट गरेका मात्र हुन् भन्दा अन्यथा हुनेछैन । जनताले मतपत्र खाली छोड्ने, सबै चिन्हनमा छाप लगाउने, कलमले मतपत्रमा ‘नो भोट’ भनेर लेख्ने गरेका मतपत्र पाइनाले यो पुरानो नेतृत्वप्रतिको वितृष्णा र आक्रोस हो भन्ने देखिन्छ । यतिमात्र होइन मतदाताको यस्तो कार्य पुरानाप्रतिको अविश्वास हो भने तिनले नयाँलाई भारी मत दिनुपर्ने थियो, त्यसो हुन सकेन । नयाँलाई दिएका छन् र केही शक्तिलाई अघि बढाएका छन् । त्यसैले मतदाताहरूले नयाँप्रति झट्ट विश्वास गर्न सकिहालेका छैनन् । तिनको मतले संकेत गरेको यही हो, तर पुराना दल सचेत नहुने हो भने अब उनीहरुका लागि ठूलो चुनौती छ । यद्यपि, जनताले यसपटक दललाई सच्चिएर अघि बढ्नुपर्ने म्यान्डेट दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको उदय अहिलेका दललाई वार्निङ हो । यसरी वार्निङ गर्दा पनि दल नसच्चिए उस्तै किसिमको कुशासन मच्चाउने हो भने अब यी दल र तिनका नेतालाई इतिहासमा खोज्नु पर्ने दिन पनि आउन सक्छ । अहिलेको चुनावी परिणाम दललाई सच्चिे अवसर पनि हो । यसर्थ अब दलहरुले आफुलाई सच्याएर अगाडि बढाउन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update