Shittalpati
कोरोना नियन्त्रणमा चुनौती

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलने जोखिम बढेको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण संक्रमण दर बढेको हो । पछिल्ला दिनहरूमा डेढ महिनाअघिकै विन्दुमा नयाँ संक्रमितहरू थपिन थालेका छन् । संक्रमण फेरि अकासिन थाल्नुले नेपालीहरुलाई थप चिन्तित बनाएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रशासन तथा सरकारले लकडाउनलाई नै अन्तिम विकल्प मानेको छ । तर, राज्य संयन्त्रले सामान्य कुरा ख्याल नगर्दा कोरोना भाइरसको संक्रमण भुसको आगोझैँ फैलिन सक्ने सम्भावना बढेको छ । यो अत्यन्त दुखको कुरा हो । संक्रमणको दर दैनिक दोब्बरले बढ्दै गएको छ । यही गतिमा महामारी फेरि फैलिँदै जाने हो भने केही सातामै संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुग्न पनि सक्छ । त्यसो हुन नदिन आम नागरिक, सरकार, राजनीतिक दललगायत सबैले उचित होसियारी अपनाउनु अपरिहार्य छ । केही गरी सरकार महाव्याधिविरुद्धको प्रतिकार्यमा चुक्यो र राजनीतिक दललगायत नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड पालनामा खेलाँची गरिरहे भने अर्को भयावह अवस्था निम्तिने निश्चितजस्तै देखिन्छ । अहिले सरकारले नै १७ जिल्लालाई उच्च जोखिममा राखेको छ । दैनिक संक्रमित र मृतकको संख्या थपिएकाले केही जिल्लाका स्थानीय तहले निषेधाज्ञासमेत लगाउन सुरु गरेका छन् । निरन्तरको निषेधाज्ञाले कोरोना संक्रमणदर घट्दै गएको समयमा पुनः खुकुलो पार्दा संक्रमण तेस्रो पटक फैलने चरणमा पुगेको हो । फरक–फरक समयमा कोरोनाको पनि नयाँ भेरियन्ट थपिने भएकाले अब फैलिए अझै जोखिम बढी हुने स्वास्थ्यविज्ञले चुनौति दिइरहेका छन् । एक संक्रमितले एक वा सोभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जाने हो । संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ । सरकार र नागरिक अब पनि संवेदनशील नबन्ने हो भने यो महामारीले पुनः धेरैको ज्यान लिन सक्छ ।

महामारी रोकथाम तथा नियन्त्रणका नियमित कार्यका अतिरिक्त सरकारले मुख्य प्राथमिकता खोपमा दिनुपर्छ । खोप लगाएकाहरू संक्रमित भैहालेमा पनि गम्भीर बिरामी हुने सम्भावना नगण्य छ । धेरै जनसंख्यालाई खोप लगाउन सक्दा अर्को लहर नआउन सक्छ, आइहाले पनि अस्पतालहरूमा पहिलेजस्तो चाप नपर्न सक्छ । त्यसैले सरकारले सबै पक्षमा सक्रियता देखाउनुपर्छ, जनस्वास्थ्यका मापदण्ड पालनामा नागरिक सचेत बन्नै पर्छ ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update