Shittalpati
भड्किलो नहोस् दसैँ

हिन्दूहरुको महान्पर्व वडा दसैँ प्रत्येक नेपालीको घर दैलोमा आएको छ । यो पर्व भड्किलो नहोस् भन्ने तर्फ पनि सबैको ध्यान जानु आजको आवश्यकता हो । विगत वर्षहरु जस्तो अवस्था छैन यो पटक । कोभिड–१९ को महामारी र यसले पारेको आर्थिक, सामाजिक र शारीरिक समस्याले गर्दा परेको असहज अवस्थामा मनाइने चाँड पर्वहरुमा यो पटक सबै पक्षले सावधानी अपनाउनुपर्ने अवस्थालाई मध्येनजर गर्ने काममा सबैको ध्यान जानुपर्ने देखिन्छ । मान्यजनको हातबाट ग्रहण गर्ने आर्शिवाद र टिका पनि यो पटकका निम्ति त्यति सहज छैन । रातदिन गरेर आफन्त र मान्यजनको आगनसम्म पुग्ने हतारोपनलाई घरमै बसेर मनाउनुपर्ने परिस्थितिलाई आम सर्वसाधारण सम्मले ध्यान दिनुपर्ने बेला आएको छ । खुसीलाई स्वास्थ्य सजगतासँग गास्नुपर्ने बेला आएको छ ।

सम्भावित संक्रमणलाई नियन्त्रणको सीमा रेखाले परिपूर्ण गर्नुपर्नेछ । खानपान र आहार विहारलाई राज्य तहबाटै नियन्त्रण गर्नुपर्ने परिस्थितिलाई आत्मसात गर्न सकिएन भने यसबाट उत्पन्न हुने महामारीको वृहत रुपले झन् भन्दा झन् समस्या उत्पन्न गर्न सक्ने खतरालाई हामी सबैको संयमितताले मात्रै नियन्त्रण गर्न सकिन्छ भन्ने मूल्य र मान्यतालाई अंगिकार गर्नुको विकल्प छैन । त्यसकारण सबै किसिकका सरकार र आम सर्वसाधारण बीचको समन्वयकारी भूमिकालाई पनि सबैले गम्भीरताका साथ परिपालना गर्नुको विकल्प छैन । एक पटकको दसैँ नमानेर पनि धेरै पटकका सबै चाँडपर्वहरु मनाउन पाइने अवस्था रहन्छ भने, यो पटक त्याग सादगीको भावनाबाट अभिप्रेरित हुन नै सबै भन्दा उत्तम विकल्प हो । त्यसकारण यो पटकको दसैँ आफु, परिवार र आफ्ना मान्यजनको सुस्वास्थ्यको कामना गर्दै सुरक्षित र संयमति भएर मनाऔं । समय र परिस्थितिको मूल्याङ्कन गर्न सकिएन भने पछुताएर मात्रै केही पनि हुँदैन । जो जहाँ छौँ, त्यही रमाऔं, अनि संयमितता अपनाऊ यसैमा सबै र लोकको भलो हुनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update