विचार

सिङभेरी जात्रा र यसको उत्पत्ति

Shittalpati Reporter

लालकाजी शाक्य
काठमाडौँ भित्र भनौँ वा उपत्यकाका तीनै शहरमा यो जात्रा मनाइन्छ । यो कुनै देवताको मूर्तिलाई रथमा राखेर निकाल्ने शोभा यात्रा हैन । यो जात्रा भनेको श्रावण, भाद्रमा पर्ने गुँला पर्वमा महिना भरी बाजा बजाउँदै चैत्य, गुम्बा मंदिरमा आफ्नो दिवंगत भएका पितृको सम्झनामा बजाउने बाजा मध्यको एक प्रकारको बाजा हो । यो बाजा कुनै धातुबाट बनाइएको होइन् यो चारखुट्टे जनावरको सिङ्गबाट बनाएको एक प्रकारको बाजा हो । सिङ्गबाट बनेको र गुँला भरी मन्दिरमा बजाउने भएर नै यसलाई सिङभेरी जात्रा भनिएको हो । यो खास गरी जसको घरका कोही मान्छेको दिवंगत भएको छ भने सो घरबाट सिङ्ग बजाउन लगाउने गरिन्छ जसलाई नेवार समुदायले (नेकु पुइकेगु) भन्ने गर्छन् (नेकु भनेका सिङ्ग हो) यो बाजा अदिमकालदेखि नै फुकेर बजाउने बाजा हो । पहिला–पहिला सिङ्ग फुकेर बोक्सी, भूत, राक्षस आदिलाई तर्साएर धपाउन, यिनीहरुबाट हुने विध्नवांधा रोगव्याधी निको पार्न मन्त्र उच्चारण गरी फुक्ने गरेमा बोक्सी, भूतप्रेत भागेर जाने विश्वास गरिन्छ । आजसम्म पनि यो बजाउने गरिन्छ । यो बाजा नेपालमा मात्र होइन, भारत, अमेरिका, अष्ट्रेलिया, यूरोप, अफ्रिका, एशिया, स्वीट्जरल्याण्ड आदि देश वा महादेशहरुमा, परम्परागत रितीथिती, संस्कृतिका रुपमा, तान्त्रिक शक्ति प्रयोग गर्ने माध्यमको रुपमा लिइन्छ । नेपालका ठाँउ–ठाँउमा लामागुरुले असिना,पानी धेरै पर्‍यो भने रोक्नलाई नेकु(सिङ्ग) बजाउने गर्थे । डडेलधुराको चोरेलाकोट, मस्टमाण्डप नगरपालिकामा कृष्ण सागरको सिङ्ग फुक्यो भने बालिनालिमा किरा, रोग लाग्दैन भन्ने जनधारणा छ । मङतन जातीले औषधी गर्ने साधनका रुपमा प्रयोग गर्छन् । यो बाजा साढें, भेडा, गाई, बोका, राँगो आदिबाट बनाईन्छ यो बाजामा कसै, कसैले विभिन्न आकारमा बनाएर सुन, चाँदी, बहुमुल्य पत्थर राखेर पनि बनाउने गर्छन् । नेपाल र भारतमा राँगोको सिङ्ग बढी मात्रामा प्रयोग गर्छन् । विभिन्न स्वर निकाल्न कसैकसैले तीनवटा प्वाल राखेर बांसुरीमा जस्तै औँला राखेर बजाउने गर्छ । कसैले भने वाँसका टुक्रा जोडी चत्वा : र मात्वा भन्ने गरी त्यसबाट फुकेर बजाउने गरिन्छ । यो बाजा कति पुरानो हो ? भन्ने सम्बन्धमा सहि तथ्य आजसम्म फेला परेको छैन् । आज भन्दा करिब ५ हजार वर्ष अघि बाँसुरीको प्रचलन आएकोलाई विचार गर्दा त्यो भन्दा पूरानो भएको वौद्धमार्गीहरुको भनाई अनुसार सत्य युगदेखिनै यो सिङ्गबाजाको प्रचलन भएको मानिन्छ ।
सिङ्गबाजाको उत्पति कसरी भयो ?
परापूर्वकालमा शशिपटननगरको सिङकेतु राजाले शिकार गर्ने निहुँमा अनेकौ पशुको हिंसा गरेको पापकर्मले गर्दा मरिसकेपछि राँगोको रुपमा जन्मे । यहि जन्ममा पूर्वजन्मका जन्तुहरुले उसलाई मारेर खाइदिए । सिंहकेतुको महारानी ब्राह्मण कुलमा जन्मिईन् । उनले आफ्नो घरमा पालेको त्यहि राँगोलाई दिनहुँ चराउन लैजाँदा जनावरहरुले राँगोलाई मारेर खाएपछि । विरहले रोइरहँदा गगनगंं वोधसत्वले दर्शन दिइरुनुको कारण सोधे । सबैकुरा सुनेपछि बोधि सत्वले त्यो राँगो अरु कोही नभएर तिम्रै पति पूर्वजन्ममा भएको थाहा पाइन् । बोधिसत्वोको सलाह अनुसार राँगोको एउटा सिङ्गवालुवाको चैत्य बनाई त्यसमा राखिन् । अर्को सिङ्गको बाजा बजाई फुकि नित्य प्रति २१ दिनसम्म पूजा आजा प्रदक्षिणा गर्दै गरिन् । अन्तिममा त्यहि बालुवाको चैत्यबाट सुवर्ण चैत्यमा परिणत भै त्यहाँ स्थापना गरेको सिङ्गबाट सिंहकेतु राजाको पुनःआत्माको उत्पत्ति हुन्छ । आफ्नो श्रीमती रुपवतिलाई दर्शन दिन्छ । यसको अनुकरण गरी नेपाल खाल्डोमा सिंहभेरी अवदान कथाका कारण सिंह वाजा बजाई प्रत्येक वर्ष श्रावण एक महिना चैत्य पूजा गरी परिक्रमा गर्ने परम्परा बसेको मान्नु पर्छ । यो कुरा चित्र विंशती अवदान, सर्वज्ञमित्रावदान, चैत्यपुगंदान, श्रृङ्गेरीे कथा वदान आदिमा वर्णन गरिएको छ ।

सिङभेरी जात्रालाई नेपाल भाषामा नेकु जात्रा भनिन्छ । यसलाई गुँला धर्मको जात्रा पनि भन्ने गरिन्छ । यो श्रावण प्रतिपदादेखि एक महिनासम्म हुन्छ । श्रृगभेरी अवदानको कारण मृत आत्माहरुलाई पापकर्मबाट मुक्त दिलाउन परम्पराको रुपमा चलाउदै आएको जनधारणा छ । यो सिङभेरी जात्रा पहिला टोलटोलबाट निस्कने गर्दथ्यो तर अहिले बिस्तारै लोप भईसक्यो । तर केहि स्थानमा हालसम्म पनि संरक्षण गर्दै काठमाडौको स्वयम्भू, पाटन, बागमती, बज्रबाराही, थिमि, बनेपा, कीर्तिपूर आदि ठाँउमा बजाउने गर्छन् । यसलाई व्यवस्थापन गर्न भक्तपुर, थिमि र बनेपा लागि परेका छन् । गुँलाबाजामा सिङ्गबाजाको प्रमुख स्थान छ । अन्यबाजा यसका सहायक बाजा भने पनि हुन्छ । यसको पुष्टि स्वयम्भूमा गुँला महिना भर मृतकको नाममा सिङ्ग फुकेर धा: नायखिं, भुस्या, समेत सहायक बाजाको साथ लिई बजाउने गर्नाले पनि स्पष्ट हुन्छ । बुद्ध, धर्म, संघ तथा आर्यताराको नाम उच्चारण गरी स्वयम्भूमा सिङ्ग बजाएर चैत्य परिक्रमा गर्नेलाई नेकु पुइकेगु भनिन्छ । यो सिङ्ग बाजालाई तीन खण्डमा बाँड्न सकिन्छ (१) घोरस्वर (ठूलो सिङ्ग) (२) माझवालास्वर (मझौला सिङ्ग) (३) तिखो स्वर (सानो सिङ्ग) पाटनमा सिङ्गबाजा सातवटै तालमा बजाउने गर्छ (क) चोताल (ख) जति ताल (ग) प्र–ताल (घ) अष्टताल (ङ) पलिमा ताल (च) गन्धताल (छ) एकताल ।

नेपाल खाल्डोमा महिना भरी सिङ्गको बाजा बजाई मन्दिर जानेलाई महिना जात्रा लक्षी जात्रा वा श्रावण गुँलामेला भन्ने गरिन्छ । यो वर्ष कोभिड–१९ को कारण कम मात्र यो मेलामा उपस्थित भएको पाइयो । यस्तो हुनुको कारण सरकारबाट नै भिडभाड, एकैठाँउ धेरै मानिस जम्मा हुन नपाउने भनी अनुरोध गर्दा खेरी पहिलाको गाईजात्रा भन्दा यसपालीको जात्रा फिका, लाग्यो । आजैका दिन तानसेन बजारमा भिड छिचोल्नु नसक्ने हुन्थ्यो । कोरोनाको डरले यसपाली पाल्पा बजारमा पनि रौनक रहेन । ज्ञानमालासंघ आनन्द विहारबाट भजन गाँउदै बिहान मन्दिर परिक्रमा गर्ने गरिन्थ्यो । त्यो पनि रोकियो । यसपालीको तानसेन बजारमा हुने जात्रा, पर्व सबै रोकिएका छन् । जसले गर्दा रौनक त हरायो, हरायो व्यापार व्यवसायी पनि धरासायी भयो । आशा गरौँ अर्को साल यस्तो नहोस्, सबैको भलो होस् ।


प्रकाशित मिति: शुक्रवार, श्रावण २३, २०७७, १०:४०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सामाज सेवाको नाममा व्यापार नहोस् शुक्रवार, श्रावण २३, २०७७, १०:४०:००
शान्ति दिवसको साथर्कता शुक्रवार, श्रावण २३, २०७७, १०:४०:००
अवैध धन्दा बन्द गर शुक्रवार, श्रावण २३, २०७७, १०:४०:००
संविधानका पाँच वर्ष शुक्रवार, श्रावण २३, २०७७, १०:४०:००