Shittalpati
सभामुखको अबको बाटो

सरकार गठन भएसँगै प्रतिनिधिसभामा सभामुख र उपसभामुख निर्वाचित भइसकेका छन् । सभामुखमा सत्तागठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएका छन् । उनीहरु पाँच वर्षे कार्यकालका लागि प्रतिनिधिसभाको सभामुख, उपसभामुखमा चयन भएका हुन् । नेपाली काँग्रेसले पनि सभामुख र उपसभामुखमा उम्मेदवारी उठाएको थियो । तर दुवै उम्मेदवार पराजित भए । निर्वाचन हार जितको खेल हो । यसलाई अन्यथा लिनुहुँदेन । आपूm पराजित हुने निश्चित हुँदाहुँदै काँंग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख पदका लागि उम्मेदवार बनायो । परिणाम अनपेक्षित थिएन, सोंचेजस्तै भयो । वास्तवमा काँग्रेसले आफ्नो उम्मेदवारले सभामुख र उपसभामुख जित्ने अपेक्षा गरेको थिएन । उसले प्रजातान्त्रिक संस्कार र परम्परा बचाउन, संघीय लोकतान्त्रिक प्रणाली र वर्तमान संविधान जोगाउन आफ्नो उक्त पदमा प्रतिस्पर्धा गराएको बताउँदै आएको छ । लोकतन्त्रको सबैभन्दा सुन्दर कुरा नै निर्वाचन हो । त्यसैले पनि काँग्रेसले यसको अभ्यास गरेको हो भन्ने देखियो । यसलाई राम्रै मान्नुपर्छ ।

अब निर्वाचित सभामुख तथा उपसभामुखको भूमिका कस्तो रहन्छ भन्ने महत्वपूर्ण रहन आउन्छ । सभामुख सबैको साझा हुनुपर्छ । कुनै दललाई पनि भेदभाव नगरी सभाको बैठक सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवारी सभामुख माथि रहन्छ । सभामुखमा निर्वाचित भएको व्यक्ति पार्टीको क्रियाकलापमा लाग्न पाउँदैनन् । सभामुख र उपसभामुख स्पष्ट वक्ता हुनुपर्दछ । कानुनको विषयमा जानकारी राख्नैपर्ने हुन्छ भने न्याय दिने विषयमा सकेसम्म विवेक पुर्‍याउनुपर्दछ । संसद्को बिजनेसलाई सुनिश्चित गर्न लिखित र अलिखित संसदीय नियम र परम्परा पालना गरिन्छ । संसद्का नियमलाई निष्पक्ष रूपमा व्याख्या गर्नु, सभाको सुव्यवस्था कायम राख्नु र अभिव्यक्ति स्वतन्त्रताको अधिकार लगायत सांसदको अधिकार र विशेषाधिकारको रक्षा गर्नु सभामुखको कर्तव्य हो । त्यो कर्तव्यबाट अहिले निर्वाचित सभामुुख तथा उपसभामुखहरुले ध्यान दिनुपर्छ । सदनको विश्वास जोगाउन सभामुखको काम निष्पक्ष हुनुपर्छ । यसर्थ नवनिर्वाचित सभामुख र उपसभामुखले आफ्नो कार्यकालमा निर्विवाद र निर्विघ्न रूपमा कार्यसम्पादन गर्न सकुन् शुभकामना !

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update