Shittalpati
लुम्बिनीमा ठूला दलले छाने संसदीय दलको नेता

हाम्रा संवाददाता
पाल्पा, लुम्बिनी प्रदेशका तीन ठूला दलले संसदीय दलको नेता चुनेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले, कांग्रेस र माओवादीले प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण लगत्तै संसदीय दलको नेता चयन गरेका हुन् ।

एमालेले आइतबार नै लीला गिरीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । दाङको देउखुरीमा आइतबार बसेको प्रदेशसभा सदस्यहरुको भेलाले रुपन्देही क्षेत्र न २ (१) बाट निर्वाचित गिरीलाई संसदीय दलको नेतामा चयन गरेको हो । गिरी यसअघि प्रदेश सरकारमा वन, वातावरण तथा उद्योगमन्त्री रहेका थिए । अब एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्ने छन् । दलको उपनेतामा अर्घाखाँचीका चेतनारायण आचार्य चयन भएका छन् । उनी अर्घाखाँचीको १ (२)बाट निर्वाचित भएका थिए । आचार्य यस अघि आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका थिए । यहाँ एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् ।

यस्तै नेपाली काँग्रेसले डिल्लीबहादुर चौधरीलाई सर्वसम्मत चयन गरेको छ । दाङको देउखुरीमा सोमबार भएको काँंग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको भेलाले चौधरीलाई सर्वसम्मत चयन गरेको हो । चौधरी शेरबहादुर देउवा निटक मानिन्छन् । लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेताका लागि रुपन्देहीका अब्दुल रज्जाक, पाल्पाका बिरबहादुर राना र दाङकै राजु खनाल प्रतिस्पर्धी थिए । तीनै जनाले चौधरीलाई समर्थन गरेका छन् । चौधरी दाङको निर्वाचन क्षेत्र ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । अहिलेको प्रदेशसभामा उनी ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्री छन् । दलको उपनेता चयनमा भने एकदुई दिन लाग्ने बताइएको छ । लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी काँग्रेसका २७ सांसद छन् ।

नेकपा माओवादी केन्द्रले जोखबहादुर महरालाई सर्वसम्मत चयन गरेको छ । सोमबार दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेतामा चयन गरेको हो । माओवादीमा प्रत्यक्षतर्फबाट निर्वाचित तुलाराम घर्ती, इन्द्रजित थारु चौधरी, कृष्णा केसीले दलको नेतामा दाबी गरेपछि टुंग्याउने सकेको थिएन । स्रोतका अनुसार सबै प्रदेशसभा सदस्यले दाबी नछोडेपछि केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा महरालाई नेता चयन गरिएको हो । महरा रोल्पा १(१)बाट निर्वाचित हुन् । लुम्बिनी प्रदेशसभामा माओवादीबाट प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ४ गरी ९ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । महरा प्रचण्डको सचिवालमा बसेर लामो समय काम गरेका नेता हुन् । नयाँ समीकरण अनुसार गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले लिने भन्ने अझै सहमति जुटेको छैन । मुख्यमन्त्रीमा एमाले र माओवादी दुवैले दाबी गर्दै आएका छन् । यहाँ एमालेका २९ र माओवादी केन्द्रका ९ सदस्य रहेका छन् । यो प्रदेशमा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update