Shittalpati
काँग्रेसको घोषणा पत्र : बालबालिकादेखि जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

पाल्पा, नेपाली काँग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि काँग्रेसले ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामक घोषणा पत्र सार्वजनिक गरेको हो ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणा पत्र सार्वजनिक गरेका हुन् । उक्त घोषणापत्रमा बालबालिकादेखि जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई निःशुुल्क गरिने जनाइएको छ । शनिबार सार्वजनिक गरिएको घोषणा पत्रमा ३ वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने कुरा समावेश गरिएको छ । ५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गरिने, स्वास्थ्य बिमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ । यस्तै ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय उर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पु¥याउने योजना सार्वजनिक गरिएको छ । प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ भने त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने काँग्रेसको लक्ष्य छ । यस्तै सामाजिक सुरक्षा भत्ता ६८ वर्षबाट घटाएर ६५ वर्षमै दिने व्यवस्था गर्ने लक्ष्य लिइएको छ ।

लोकतान्त्रिक समाजमा हरेक नागरिक आत्मसम्मानका साथ बाँच्न पाउनु पर्दछ । जन्मदेखि मृत्युसम्मको जीवनचक्रमा केही निश्चित कालखण्डहरू बढी जोखिमपूर्ण हुन्छन्, जति बेला नागरिकको भरथेग गरिदिनु राज्यको दायित्व रहेको काँग्रेसले जनाएको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणा पत्र लेखन समितिले तयार पारेको घोषणा पत्र ५२ पृष्ठको रहेको छ । घोषणा पत्र सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले पार्टीले गर्न सक्ने कामहरुमात्रै उल्लेख गरेर घोषणा पत्र तयार पारिएको जानकारी दिएका छन् । शर्माले वीपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा यो घोषणा पत्र तयार गरिएको बताए । यसअघि स्थानीय तहको निर्वाचनको घोषणा पत्र महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बनेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने कांग्रेसले सार्वजनिक गरेपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update