Shittalpati
गठबन्धनको राजनीति

देशले राजनैतिक अन्यौलताको व्ययभार बेहोर्ने पक्का जस्तै देखिएको छ । प्रतिगमनको आधारलाई प्राथमिकता दिने सोंचका साथ फेरी पनि वाम गठबन्धनका आवाजहरु गुञ्जिन थालेपछि मुलुक अर्को पटक फेरी पनि राजनैतिक अस्थिरताको शिकार हुने खतरा बढेर गएको छ । दुई महिना पहिला भएको स्थानीय निर्वाचनमा सहकार्य गरेर निर्वाचन लडेका केही ठूलादलहरु स्वयं एक आपसमा अविश्वास खाँडलहरुमा भाँसिएका कारण मुलुकको प्रतिगमन विरोधी वर्तमान सरकार स्वयंमा समस्याको शिकार हुन्छ कि भन्ने शंका उपशंकाहरु मैलाउँदै गएका छन् ।

नेकपा माओवादी (केन्द्र), एकिकृत समाजवादी (एस) जस्ता पार्टीहरु सरकारमै रहेर पनि प्रतिगमनप्रति आकर्षित देखिनु आफैमा अत्यन्त दुखद् पक्ष हो । तर वाम एकताका नाममा देखा परेका असान्दर्भिक मिलनले गति पायो भने, फेरी पनि प्रतिगमनकै हाली मुहाली हुने खतरा बढेर जाने निश्चित जस्तै देखिएका छन् । हुन त, राजनीतिमा स्थायी कटुता र मित्रता कमै हुने गर्छ । जे होस् मुलुकको हितका लागि राजनैतिक तालमेल र गठबन्धनलाई हरेक पार्टीले कम्तिमा पनि निश्चित अवधिसम्म कायम राख्न सक्नुपर्नेमा त्यसो हुँदैन कि भन्ने चासो अहिले बढ्दै गएको अवस्था हो । अर्थमन्त्रीप्रतिको आक्षेप सत्ताको नेतृत्व गरी रहको नेपाली काँग्रेसको तर्फबाट पनि सहयोग नहुने देखिएको अवस्था र माओवादी (केन्द्र) झन् भन्दा शंकालु बन्दै जानुले गठबन्धन माथि आशंका उत्पन्न गराएको छ । सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्री फेर्दै गरेको समाजवादीका आ–आफ्नै गनगनले वर्तमान गठबन्धनलाई आसन्न संघ र प्रदेशका लागि हुने निर्वाचनसम्म टिकाइ राख्न गाह्रो पर्छ कि भन्ने चिन्ता अहिले राजनैतिक वृत्तमा देखिएको अवस्था हो । चिन्ता यस मानेमा हो कि प्रतिगमनका अगुवा स्वयंलाई यो परिघटनाबाट थप प्रश्रय मिल्छ कि भन्ने हो । सरकार फेरिनु, अनि प्रधानमन्त्री बदलिनुको अवस्थाले भन्दा पनि माथिको प्रतिगमन नसच्चिदै, अर्को रुपमा विकसित हुने खतरा आउँन नपाओस भन्ने मात्रै समस्या हो । यसर्थ कम्तिमा पनि प्रतिगमनका विरुद्धमा बनेको सरकार र भएका गठबन्धनले सार्थकता पाउँनुपर्छ भन्ने मान्यतालाई कायम राख्नु आजको आवश्यकता हो । राजनीतिक पार्टीहरू, नेताहरू र सरकारले गतकालका कमी–कमजोरीहरूलाई सच्याउँदै आफ्ना सार्वजनिक प्रतिवद्धताअनुरूप नयाँ ढंगले काम गर्नुपर्दछ । यसबाट किमार्थ विचलित हुन मिल्दैन । त्यो क्षम्य हुन सक्दैन । ता कि अब प्रतिगमनको पुनरावृत्ति कहिल्यै नहोस् र मुलुक समृद्धि र समाजवादको दिशामा अघि बढोस् ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update