Shittalpati
परिचर्चाको राजनीति

नेपाली राजनैतिक वृत्तमा अहिले असार १७ को हल्लाले बजार तातेको छ । मुलुकका हरेक परिवर्तनमा असार १७ को योगदान ठूलो भएर होला अहिले यो हल्ला व्यापक रुपमा बढेको देखिन्छ । ओलीका रसीला टुक्का र देउवाका ज्योतिषी पाराले गर्दा हरेक ठूलादलहरु भित्र नयाँ तरंग मौलाएको अवस्था प्रति हरेक कोणबाट हेर्नेहरुका लागि नयाँ चर्चा र परिचर्चाको विषय प्रवेशले स्थान पाउनु आफैमा समय सान्दर्भिक हो । सत्ता गठबन्धनका साझेदार दलका नेता, पार्टीका गुट उपगुटबाट सिर्जित समस्याहरुको समाधानका विषयमा चलेका बहसहरु निराकरण नहुँदा जस्तै भएका छन् । नेपाली काँग्रेस,एमाले,माओवादी, मधेसवादीदलहरुका नेताहरु बीच भएका असमझदारी, मतभेद्का कारण पनि कतै लोकतन्त्र नै धरापमा पर्ने हो कि भन्ने चिन्ता र चासो पनि बढेर गएका छन् ।

स्थानीय निर्वाचनका परिणामलाई लिएर गठबन्धन बीचका दलहरुमा देखिएका मतभेद र अविश्वासको वातावरणले गर्दा समस्याहरु झन् भन्दा झन् बलिया भएका छन् । वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टीका वरिष्ठ नेताहरुको आरोपको निराकरण नहुँदासम्म कुनै पनि हालतमा मुलुकले वर्तमान अन्यौलताको निकास प्राप्त गर्न सक्ने अवस्था आउँदैन भन्नेहरुको तर्कले पनि राम्रै स्थान पाएका छन् ।

बढ्दो महँगी, महामारीको त्रास, भ्रष्टाचारीहरुको संस्थागत संरक्षण जस्ता आरोप र प्रत्यारोपका कारण पनि अहिले नजानिदो गरी समस्याहरु एक पछि अर्का थपिएका छन् । व्याप्त समस्याको पहिचान गरी निराकरणका लागि उचित भूमिका खेलिएन भने मुलुक कतै दुर्घटनाको शिकार हुने त हैन भन्ने खतरा बढेर गएको छ । सरकारको तर्फबाट भएका विभिन्न खालका गतिविधी र कार्य सम्पादनमा देखिएका समस्याहरुको सही रुपमा पहिचान गरी कार्यसम्पादन गर्नुको कुनै पनि विकल्प छैन । उत्पन्न समस्या र विवाद समाधानका लागि सबैको सकारात्मक चासो सबैका लागि महत्वको विषय बन्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update