Shittalpati
हैजा फैलनबाट रोकौं

केही दिन अघिदेखि संघीय राजधानी काठमाडौंमा हैजाका विरामी देखिन थालेपछि देशभर त्रास फैलिएको छ । हैजाका विरामीहरु एकपछि अर्को रुपमा फेला परिरहेका घटनाले आम मानिसमा डर पैदा गराएको छ । कोरोना महामारीको त्रासबाट केही भए पनि मुक्तभएको अभास गरिहेका नागरिकहरु काठमाडौंमा फैलिएको हैजा संक्रमणबाट भने पुनः त्रासित हुन पुगेका छन् । हैजा पनि एक किसिमको सरुवा रोग भएकाले मानिसहरु त्रासित हुनु स्वभाविक नै हो । एक दर्जनभन्दा बढी बिरामीहरुमा हैजाको संक्रमण पाइनु र बढ्ने क्रम जारी रहेको कारणले हैजाको संक्रमण भित्रभित्रसम्म फैलिरहेको अनुमान गर्न सकिन्छ । यद्यपि संक्रमणको अवस्था अहिले नै भयावह भैसकेको भने छैन । तर यसको हेलचेक्र्याइँ गरिएमा अवस्था भयावह नहोला भन्न सकिदैन । दुई साताअघि टेकु अस्पतालमा देखिएका हैजा संक्रमित बिरामी छिट्टै निको हुने र यसलाई नियन्त्रण गरिने भनिए पनि हैजा संक्रमित बिरामी अस्पतालमा आउन नछाडेपछि यसले ठूलो चिन्ता र भय सिर्जना गरिरहेको छ । अस्पतालमा भर्ना भएका हैजा संक्रमित बिरामीमध्ये धेरै निको भएर आ–आफ्ना घर फर्किए पनि यसले जुनसुकै समयमा पनि महामारीको रूप धारण गर्न सक्ने खतरापूर्ण सम्भावनालाई भने नकार्न सकिँदैन ।

एकातिर गर्मीको असर, अर्कोतिर मनसुनसमेत सक्रिय भएको कारण हैजाको प्रभाव देखिन थालेको पनि हो । वर्षायामले बाढीपहिरोजन्य प्राकृतिक प्रकोपलाई मात्रै निम्त्याउँदैन, विभिन्न रोगहरुलाई समेत निम्त्याइरहेको हुन्छ । यो समय रोग र महामारी बढाउनका लागि उपयुक्त समय पनि हो । विशेषगरी हैजा दूषित पानी, अस्वस्थ खानेकुराका कारण फैलिन्छ । पानी र खानेकुरा जस्तो खाए पनि हुन्छ भन्ने मानसिकताकै कारण हैजाको संक्रमण फैलिन पुग्छ । समयमै यसको हेक्का राख्न सकिएन भने काठमाडौंमा फैलिएको हैजा अन्य जिल्लाहरुमा पनि नफैलिएला भन्न सकिदैन । दूषित पानी र अस्वस्थ खानेकुराकै कारण हैजा हुन सक्ने भएकाले नागरिकहरुको स्वास्थ्य बचाउनका लागि सरकारले नै पानी तथा खानेकुराजन्य पदार्थको प्रभावकारी ढङ्गले अनुगमन तथा नियमन गर्न ढिलाइ गर्नु हुँदैन । फैलिरहेको हैजाको जीवाणुको यकिन स्रोत पत्ता लगाउँदै त्यसमाथि तुरून्तै रोकथाम र नियन्त्रणको प्रयासले मूर्तरुप पाउनुपर्छ । यसर्थ सरकारले हैजा नियन्त्रण गर्ने दिशामा सम्पूर्ण साधनस्रोतलाई केन्द्रीत गर्न गर्न जरुरी छ । अन्यथा काठमाडौँमा मात्रै देखिएको हैजाको संक्रमण अन्य ठाउँहरुमा फैलिन नसकोस् ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update